ब्लगसोमवार, श्रावण २३, २०७४

झरी माहात्म्य

कनक दीक्षित

प्रकृतिको नियम, ओरालोमा पानी बग्छ र ध्यान पुर्‍याइएन भने खतरा निम्तिन्छ ।

झम् झम् पानी पर्‍यो असारको रात
बारीबाट बज्न लागे मकैका पात...

माधव घिमिरेको यो गीतले सानैदेखि बर्खा र झरीलाई मोहक बनाइदिएको हो । यसैकारण विदेशमा रहँदा पनि त्यहाँको टेलिभिजन प्रस्तोताले घमाइलो दिनलाई राम्रो मौसम र बादल लागेको (धुम्मिएको) लाई ‘ब्याड वेदर’ भनेको ठीक लाग्दैनथ्यो । हामी नेपाली र अन्य दक्षिण एशियालीलाई घामभन्दा पानी नै मन पर्दछ ।

आजै पनि झ्याल बाहिर सानो टुक्रा बारीमा मकैका केही बोट उभिएका छन्, पानी पर्दा तिनका पात बज्दछन् नै । यसको आनन्द बारे के भनुँ ! तर, अब आएर बर्खे झरी पर्दा पूर्ण आनन्दित हुन सकिएको छैन किनकि सूचना संचार तथा मुलुकको पूरै भूभागको परिपे्रक्ष्यमा झरी पहिरोको अनि बाढीको पनि पर्याय भएको छ ।

अतिवृष्टि हुँदा ओरालो लागेको पानीले ढुंगा–माटो कोतर्दछ, थोपा–थोपा पानी जमीनभित्र पुगेर पहाडका पाखोलाई भारी बनाइदिन्छ पहिरो चल्छ । खहरे, खोला र नदीको पानी एक भएर समथरमा बाढी ल्याउँछ । जथाभावी चुरे दोहनका कारण बालुवा फैलिएको छ र नदी बग्ने सतह उठेको छ । सीमाको दक्षिणपट्टि धेरै ठाउँमा उच्च तटबन्ध बनेकाले माथिल्लो भूभाग र बस्ती जलमग्न हुन्छ । शहरभित्र पानीको निकासले ढल र खोल्सा जलमग्न हुन्छन्, बालबच्चा बगाउँछन् ।

यसरी आज बर्खे झरीको बुझाइ फेरिएको छ कतिपयको मनमा । माघे झरीको पनि आनन्द लिनसक्ने अवस्था उस्तै छैन, एक काठमाडौंवासीलाई । मुलुकको भौगोलिक, मौसमी ज्ञान कम र बसोबासबारे संवेदनशीलता थोरै हुँदा माघे झरीको बेला सिरकभित्र गुटुमुटु पर्नुको सन्तुष्टि बताइनसक्नुको थियो । त्यही वृष्टिले हिमाली भेगमा हिमपात हुन्छ, उच्च भञ्ज्याङ र पाखाहरूमा जीवनयापन दुरुह बन्छ । थोरङ्गला, लार्केला जताततै हुने भरिया र पदयात्रीहरूको बिचल्लीले अब मन पिरोल्छ, सिरकले न्यानो दिंदैन ।

तस्वीरः रुपा जोशी

आजभोलि झरीले थपमा थप बिचल्ली ल्याउन थालेको छ । जिल्ला–जिल्ला (अब प्रान्त–प्रान्त भनौं) मा हचुवा पाराले सडकहरू निर्माण भएका छन् । डोजरमुखी सडक निर्माणले बर्खे पानी निकासको उचित व्यवस्था गरेको छैन । यसले पहिरोको जोखिम झनै बढाइदिएको छ ।

जिल्लाका प्राविधिकहरूलाई के भन्नु, मध्य बर्खामा सद्दे राजमार्ग बिगारेर मुग्लिन–जुगेडी खण्डलाई चौडा गर्ने ‘काम’ भयो, राष्ट्रिय तवरमै । यसले मुलुकको सबभन्दा चलनचल्तीको राजमार्गलाई छिन्नभिन्न पारिदिएको र यात्रुहरूलाई झरीमा ज्यान हत्केलामा राखेर हिंड्नुपर्ने अवस्था बनाइदिएको छ । मुग्लिन–जुगेडी खण्डमा भएको ‘काम’ ले प्रमाणित गर्दछ– आजकालका प्राविधिक, प्रशासकीय र राजनीतिक नेतृत्वले भूगोल र झरीको पर्वाह नगरी संरचना बनाउँदा रहेछन् ।

साधारण झरीले ल्याउने प्रकोप एउटा खालको हुन्छ । तर जब बादल फाटेर लामो अवधिको लागि अतिवृष्टि (‘क्लाउड बस्र्ट’) हुन्छ, विनाश फैलन्छ । यस्तो अतिवृष्टि ऐतिहासिक कालदेखिकै ‘फेनोमेना’ हो, हिमालय खण्डमा । यो अध्ययन–अनुसन्धानको विषय भने बन्न सकेको छैन । आज बन्दै गरेका भौतिक संरचना ‘क्लाउड बस्र्ट फेनोमेना’ लाई मध्यनजर राखेर बनेका देखिंदैनन् ।

उदाहरण, काठमाडौंका नदीनालाको जसरी हातखुट्टा बाँधेर, २०२१ सालको नापी अनुसारको ‘राइट अफ वे’ लाई पर्वाह नगरेर, खुम्चिएको खाेंचमा बग्न बाध्य तुल्याएको छ, जसरी ‘नदी’ लाई ‘नहर’ बनाइएको छ यसले ढिलोचाँडो ठूलो प्रकोप पेश गर्नेछ । अतिवृष्टिमाथि पर्याप्त विचारै नपुर्‍याएर बनेका बाटो, राजमार्ग, तटबन्ध, नहर, र नयाँबस्ती वेगले बगेको पानीको बाटोमा पर्ने नै छन् । धन मात्र नभई, जनको क्षति हुनेछ ।

हरेक १५–२० वर्षमा हिमालय खण्डको कतै न कतै ठूलो ‘क्लाउड बस्र्ट’ हुन्छ नै, जसले पछिल्लो पटक २०७० असारमा उत्तराखण्डको केदारनाथ र २०६९ असोजमा सिक्किम तथा असममा ठूलो विनाश गर्‍यो । काठमाडौं पश्चिम आसपासको क्षेत्रमा साउन २०५० को ‘क्लाउड बस्र्ट’ हुँदा पृथ्वी राजमार्ग, कुलेखानी जलविद्युत् आयोजनालगायतका संरचना प्रभावित भए ।

मकैको पातमा झरीको तबला सुन्दा मन शान्त हुन्छ, यो जिउनुको अधिकार हो । तर जब भोलि पानी पर्दछ, धेरै र लामो पर्दछ— सोचौं के होला राजधानी उपत्यकामा, जहाँ वागमती र सहायक नदीहरूलाई ढुंगाको पर्खालले बाँधिएको छ । प्रकृतिको नियम– पानीले ओरालो खोज्दछ, र त्यतिबेला वागमती जाग्नेछिन् । वागमतीले हाम्रो खेलाँचीको निकास खोजेको बेला उनलाई दोष नदिऊँ !

प्रतिकृया दिनुहोस