अरिङ्गालको टोकाइबाट बालकको मृत्यु
अरिङ्गालको टोकाइबाट बाजुरामा २३ साउन बिहान एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अरिङ्गालको टोकाइबाट बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा १३ वर्षीय रोशन नेपालीको मृत्यु भएको स्थानीय बासिन्दा देवराज पाध्यायले बताए ।
स्थानीय शिवशंकर प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत उनलाई २२ साउनमा घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेको थियो । घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लैजान नपाउँदै उनको मृत्यु भएको पाध्यायले बताए ।
अरिङ्गालको टोकाइबाट अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा ६८ वर्षीया सुन्तलादेवी थापा र १२ वर्षीया सपनाकुमारी थापा रहेका छन् । घाइते भएका दुवै जनालाई उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकीमा लगिएको छ । रासस