ब्लगआइतवार, श्रावण २२, २०७४

जहाँ हिमाल धुमिल देखिन्छ

हिमालखबर

डा. सुजित श्रेष्ठ

बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस्...

प्रायः सुनिने यो गीतले बोकेको भाव म्याग्दीको नाङ्गी पुगेपछि यथार्थमा परिणत भयो । सेतो हिउँले लपक्क पोतिएको रहरलाग्दो धौलागिरि, अन्नपूर्ण, हिमचुली, नीलगिरि, बराहशिखर । जति हेरे पनि आँखा कहिल्यै नथाक्ने, मन कहिल्यै नभरिने । शहरबाट धेरै टाढा आएर यी अग्ला चुचुरालाई एकचित्तले हेरिरहँदा मनका सबै पीडा विलाउँदा रहेछन् । मोटर बाटो नपुगेको यस ठाउँमा घण्टांै हिंड्नुपर्ने, पुगेपछि थकान आफैं हराउदो रहेछ ।

१८ चैत, २०७३ मा पर्वतको मिलनचोकबाट बोलेरो जीपमा करीब चार घण्टाको यात्रा शुरू भयो । यहाँबाट म्याग्दीको नाङ्गी पुग्न ८ देखि १० घण्टा हिंड्नुपर्ने सूचना बोकेर डा. संगम दाहाल, लुकेश तिलिजा दाइ, डा. जिमको नेतृत्वमा आएको अमेरिकन मेडिकल टीमसँगै हिंडेको थिएँ ।

म र डा. संगम मेडिकल अधिकृतका रूपमा फेक्ट नेपाल संस्थाबाट नाङ्गी गाउँलाई स्वास्थ्य सेवाको लागि मुख्य हब बनाएर म्याग्दीकै रिकोट, पाउद्वार, रिमा, खिवाङलगायत सात गाउँलाई स्वास्थ्य सेवामा सम्पन्न बनाउन नियुक्त भएका थियौं । अहिले नाङ्गीमा अस्पताल निर्माणको काम चलिरहेको छ । दुई हप्ताको यात्रामा नाङ्गी, टिकोट र पाउद्वार गाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने थियो ।

जब यी तीनवटै गाउँ पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्‍यौं, त्यसपछि भने चकित पर्‍यौं । ‘जुन हिमाललाई हेरेर हामी आनन्दमयी हुन्छौं, तिनै हिमालका मर्म हामीले बुझ्ने कोशिश गर्दैनौं । अब पनि हामीले नबुझे कसले बुझ्ने ?’ काठमाडौं मोडेल अस्पतालका जनरल सर्जन डा. सरोज धितालले बारम्बार भन्ने कुरा दुई हप्ताको यात्रा र स्वास्थ्य शिविरमा बुझ्ने मौका पायौँ ।

जति हिमाल चहकिला छन, तिनका काखमा रहेका बस्ती त्यति नै धुमिल रहेछन् । यहाँका बासिन्दा उचित स्वास्थ्योपचार र शिक्षाको अभावका कारण बसाइँ सर्नु पर्ने र अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा रहेका छन् । हुन त हरेक गाउँमा समुदायले नै निर्माण गरेको स्वास्थ्य संस्थाको भवनमा अनमि र अहेबले सामान्य रोगको औषधि त वितरण गर्दै आएका छन् तर मधुमेह र मुटुसम्बन्धी रोगको औषधि सेवन गरिरहेका बिरामीहरूले औषधि सकिएपछि र अन्य सुविधाको लागि घण्टौं हिंडेर बेनी वा पोखरा पुग्ने गरेका रहेछन् ।

गुणस्तरीय शिक्षा र स्वास्थ्य अभावको कारण युवा पलायन भएका रहेछन् । स्थानीय बासिन्दाका अनुसार कतिपय बसाइँ सरेर शहरतिर त कतिपय विदेशतिर लागेका छन् । आफ्ना सन्ततिको भविष्यका लागि कतिपय प्रौढ समेत पलायन भएको देखियो, सुनियो ।

यहाँका बासिन्दाले दक्ष जनशक्ति र सुविधासम्पन्न स्वास्थ्य भवनको अभावको कारणले उचित स्वास्थ्य सेवा पाउन सकेका छैनन् । सुत्केरी गराउने क्रममा कुनै जटिलता आउँदा र अन्य आकस्मिक अवस्थाहरूमा पनि बिरामीलाई घण्टौं अप्ठ्यारा बाटो हुँदै बेनी वा पोखराका अस्पताल लैजाने गरेको पीडा सुनाउँदा आङ जिरिङ्ग हुन्थ्यो । कतिपयको बाटोमै स्वास्थ्य बिग्रिएको तथा ज्यानै गएको प्रशस्तै उदाहरण भेटिन्छन् । बेनी र पोखरा पुग्न नसकेका कतिपय बिरामीले वर्षौंदेखि रोग पालेर बसेका पनि देख्यौं ।

महीनौंदेखि जन्डिस र ट्युमर पालेर बसेकी महिलालाई त काठमाडौं मोडेल अस्पतालमा रिफर गरेर सफल शल्यक्रिया समेत गरायौं । त्यस ठाउँमा सामुदायिक स्वास्थ्य सेवा त छँदैछ तैपनि हामीले त्यहाँ एउटा सामान्य ल्याब, एक्स–रे, अल्ट्रासाउण्ड, फार्मेसीको सुविधायुक्त अस्पताल बनाउने कुराले गाउँले उत्साहित देखिन्थे ।

हामीले धेरै पढ्यौं र बोल्यौं । ‘स्वास्थ्य सबैलाई (हेल्थ फर अल)’ भन्दै नारा लगायौं तर माङ्गीजस्तै कैयौं गाउँका बासिन्दा पैसा नै तिरेर भए पनि स्वास्थ्यका सबै सेवा पाउन सकेका छैनन् । स्वास्थ्य सेवा र औषधिको अभावले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था यथावत् रहेको छ । नाङ्गीलगायत गाउँमा डा. महावीर पुन र फेक्ट नेपालले पुर्‍याएको योगदानबाट उत्साहित हामीले ती गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदा भने आनन्दित भयौं ।

तैपनि मनमा एउटा कुरा खेलिरह्यो, अझै कति गाउँ होलान् जहाँ सिटामोल पनि पाइँदैन । कति बिरामी होलान्, सामान्य उपचार पनि नपाएर ज्यान गुमाइरहेका छन् । यो विडम्बना कहिलेसम्म त ?

प्रतिकृया दिनुहोस