डोटीमा जीप दुर्घटना, ९ को मृत्यु ७ घाइते
डोटीको बोगटान गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
दिपायलदेखि चवरा–चौताराका लागि छुटेको से १ ज ४९१ नम्बरको जीप २० साउन राती दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी बोगटान गाउँपालिका–१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तीमगर, ५० वर्षीय बूढो घर्तीमगर र ४५ वर्षीय गोरख थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीया ललितादेवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर र ३० वर्षीय चन्द्रबहादुर घर्ती मगरको मृत्यु भएको डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
दुर्घटनामा परी चालक विष्णु नेगीको पनि मृत्यु भएको छ ।
सात घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । घाइतेको सदरमुकाम दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस