ब्लगशनिवार, श्रावण २१, २०७४

फिस्टुलाको व्यथा

हिमालखबर

अझै पनि फिस्टुलाले नेपाली महिला सताइरहनु भनेको महिला मात्र होइन, सिंगो समाजकै लाज हो ।

डा. अरुणा उप्रेती

“जिन्दगी यसरी सुकिलो भएर फेरि बाँच्न पाइएला जस्तो लागेको थिएन”, यसो भनिरहँदा उनका आँखा आँसुले भरिएका थिए । 

धादिङकी ३० वर्षीया श्रेष्ठ थरकी ती युवती झ्ण्डै १० वर्षसम्म फिस्टुला रोगको पीडाबाट पाएको मुक्तिको अनुभूति सुनाइरहेकी थिइन्। काठमाडौं मोडल अस्पतालमा हालै आयोजित फिस्टुला उपचारसम्बन्धी छलफलमा उपस्थित उनलाई २०६४ सालमा सन्तान भएदेखि यो समस्याले पिरोलेको रहेछ। लामो बेथापछि जन्मिएको बच्चा त राम्रै जन्मियो तर केही समयपछि शरीरबाट जुन बेला पनि पिसाब र दिसा निस्कन थाल्यो । उनले काठमाडौंमा एक नाम चलेकी स्त्री तथा प्रसूति रोग विशेषज्ञलाई पनि देखाइन्। “डाक्टरले के गर्ने तपाईंको भाग्य नै यस्तो रहेछ भन्नुभयो, त्यसबेला मर्न मन लाग्यो”, उनले भनिन्। ६ महीनाअघि सित्तैंमा उपचार हुन्छ भन्ने सुनेर काठमाडौं मोडल अस्पताल आएकी उनी शल्यक्रियापछि निको भएकी छन् ।

लामो समयसम्म सुत्केरी बेथा लागेमा शिशुको टाउकोले आमाको योनीमार्ग, पिसाबथैली वा मलाशयलाई लगातार च्यापेर वा थिचेर प्वाल पार्दछ। यसरी बन्ने प्वाललाई प्रसव वा सुत्केरी फिस्टुला भनिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा प्रति एक हजार महिला प्रसव हुँदा तीन जनामा यो समस्या देखिन्छ। तर, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, नेपालको एक अध्ययनबाट नेपालमा हरेक वर्ष २०० देखि ४०० महिला यो रोगबाट ग्रसित हुने पाइएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोहनचन्द्र रेग्मीका अनुसार, नेपालमा पाँच हजारदेखि दश हजारसम्म फिस्टुलाका बिरामी रहेको अनुमान छ । “बालविवाह, कुपोषण, सुत्केरी हुँदाका जटिलता, गर्भावस्थाको स्याहारबारे चेतना अभावका कारण हामीकहाँ यो समस्या देखिएको हो”, उनी भन्छन् ।

फिस्टुलाले उदयपुरकी ४० वर्षीया एक दलित महिलालाई दिएको कष्ट भनिसाध्य छैन। छैटौं बच्चा हुने बेला १२ दिनसम्म बेथा लागेर उनी अचेत भइन्। शल्यक्रिया गर्दा थाहा भयो, उनको पाठेघर फुटिसकेेको रहेछ। बच्चा पेटमै मरिसकेको थियो। त्यसपछि उनलाई लगातार पिसाब चुहिने समस्या शुरू भयो। “मलाई कतिले यो रक्सी खान्छे, त्यसैले आङमै पिसाब फेर्छे भन्थे। यस्तो सुनेर कत्ति रोएँ कत्ति”, उनले भनिन्। ७ वर्षदेखिको उनको यो समस्या शल्यक्रियापछि धेरै ठीक भएको छ ।

नेपालमा धेरै महिलामा फिस्टुला बारे जानकारी छैन । सित्तैंमा उपचार हुन्छ भन्ने कुरा त कमैलाई मात्र थाहा छ । अहिले काठमाडौंको मोडल अस्पताल, धरानको बीपी प्रतिष्ठान र सुर्खेतको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा फिस्टुलाको निःशुल्क उपचार भइरहेको छ। स्त्रीरोग विशेषज्ञ डा. गणेश दंगाल भने फिस्टुला भइसकेपछि उपचार गरिनुभन्दा रोग लाग्नै नदिने कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।

उपचारका चुनौती
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अरुणा कार्कीको अनुभवमा सबै स्त्रीरोग विशेषज्ञले फिस्टुलाको शल्यक्रिया गर्न जान्दैनन् । त्यसैले पनि चिकित्सककोमा आइपुगे पनि बिरामीले सही उपचार पाउँदैनन्। उनी आफूले इथियोपियामा विशेष तालीम लिएपछि फिस्टुलाको शल्यक्रिया गर्न थालेको बताउँछिन्। “तीन–चार हप्तासम्म राखेर शल्यक्रिया गर्नुपर्छ। कतिपयलाई त पटकपटक शल्यक्रिया गर्नुपर्छ”, कार्की भन्छिन्।

कहिलेकाहीं त चिकित्सकले शल्यक्रिया वा औजार प्रयोग गरेर सुत्केरी गराउँदा पनि फिस्टुला हुन सक्छ। योनीमा जटिल संक्रमण वा बलपूर्वक यौन सम्पर्क राख्दा पनि यस्तो समस्या देखिन सक्छ । अस्पताल वा दक्ष स्वास्थ्यकर्मी दुवै नभएका हाम्रा ग्रामीण भेगमा कति महिलाले फिस्टुलाको बेथा सहेर हिंडिरहेका हुँदा हुन्, कल्पना पनि गर्न सकिंदैन ।

प्रसव फिस्टुलाको अवस्थामा आइपुगेका महिलाबाट प्रायः मृत बच्चा जन्मिन्छ। योनी मार्गबाट पिसाब, दिसा वा दुवै चुहिरहन्छ। पिसाब चुहिने डरले पानी कम खाँदा जलवियोजन तथा मिर्गौला सम्बन्धी समस्या हुनसक्छ। खाना कम खाँदा कुपोषण पनि हुनसक्छ। पिसाब चुहिने भयले सधैं खुट्टा खुम्च्याएर बस्दा कजो हुने खतरा पनि हुन्छ ।

यस्ता समस्या बोकेका महिलाहरू विस्तारै परिवार, समाजबाट अपहेलित हुन्छन् । दुर्व्यवहार मात्र होइन कतिपय त बहिष्कृत नै हुनपुग्छन्। त्यसैले पनि स्वास्थ्य शिविरहरूमा यस्तो समस्या भएका महिला आउन हिच्किचाउँछन् ।

फिस्टुलाका बिरामीलाई पहिचान गर्न गाउँगाउँमा काम गर्ने स्वास्थ्यकर्मीलाई फिस्टुला, पाठेघर खस्ने र प्रजनन् स्वास्थ्यसम्बन्धी तालीम दिन जरूरी छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, सुर्खेतमा फिस्टुलाको उपचारका लागि आयोजित शिविरमा एक महीनामै ८० जनाको शल्यक्रिया गरिएको थियो । तर, उनीहरूमध्ये धेरैलाई गाउँगाउँ पुगी खोजेर ल्याइएको थियो। स्वास्थ्यकर्मी जागरुक हुनसके महिलाको जीवन बदल्न सकिने रहेछ भन्ने उदाहरण हो, यो ।

प्रतिकृया दिनुहोस