सुत्केरी बिदा छ महीना पुर्याउने तयारी
स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महीनासम्म पुर्याउन पहल शुरु गरेको छ ।
जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महीनासम्म पुर्याउने पहल गरेको हो ।
हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ ।
व्यवस्थापिका–संसद् सचिवालयमा स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा दुई सन्तानका लागि मात्र यो प्रावधान लागू हुने व्यवस्था गरिएको छ ।
शिशु तथा बाल्यकालीन पोषण रणनीति, २०७३ को प्रावधानअनुसार मन्त्रालयले मस्यौदा तयार गरी विधेयक प्रस्तुत गरेको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्य सुधार ल्याउन सुत्केरी बिदा छ महीनासम्म पुर्याउने विधेयक प्रस्ताव गरिएको जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनकाअनुसार दुई वर्षसम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन । यो प्रतिशत वर्षेनी घट्दो छ ।
हेलेन केलर इन्टरनेशनलका प्रमुख कार्यक्रम संयोजक डा. अतुल उपाध्यायले स्तनपान महत्वबारेमा ग्रामीण क्षेत्रमा जनचेतना अभाव तथा शहरी क्षेत्रमा आमाको दूधको विकल्पमा अन्य वस्तुको प्रयोग गर्ने चलन बढ्दो रहेको बताए ।
सार्कअन्तर्गत बङ्गलादेश र भारतले सुत्केरी बिदा छ महिनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेका छन् । रासस