दोस्रोपटक भोट हालेपछि मतदाताले भनेः हाम्रो मत खेर नजाओस्
भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि पुगिन् । उनी पुग्दा पानी परिरहेको थियो । मत हाल्न खासै कुर्नुपरेन, लीलाले भनिन्–“दुईपटक भोट हाल्न पाएकोमा खुशी नै लाग्यो ।”
मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रूपमा लिएका छन् । रोपाइँ भएकाहरु पनि फुर्सद मिलाएर मतदानको लागि आएको बताएका छन् । प्राय मतदाताको विचार पुरानो घटना नदोहोरियोस् र आफ्नो मत खेर नजाओस् भन्ने नै छ ।
बिहानैदेखि परेको पानीका कारण बिहान ७ बजे निकै कम मतदाता मतदानस्थलमा देखिए पनि क्रमशः बढ्दै गएका छन् ।
५३ वर्षीया सन्तमाया गुरुङले पनि दोस्रोपटक भोट हालिन । खुसी छु, किन दुःखी हुनुपर्यो र ? गुरुङले भनिन्, “राम्रो होस्, राम्रो गर्नु, विकास गर्नु, त्यही हो मेरो भन्नु ।”
उनले जितेर गएपछि वास्तै नगर्ने नेताहरूको बानी सम्झेर दुखेसो पोखिन । अहिलेसम्म अन्योलमा बस्नुपरेकाले दुःख लागेको भन्दै विकासले फड्को मार्छ भनेर भोट हाल्न आएको बताइन ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण पनि यहाँका मतदाता प्रभावित भएका छन् । काठमाडौं, पोखरालगायतका स्थानबाट मतदान गर्न आएका धेरै मतदाता मुग्लिनमा नै रोकिएका छन् । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले काठमाडौंबाट दुईवटा माइक्रोबसमा आएका मतदाता पहिरोका कारण मुग्लिनमा नै रोकिएको जानकारी दिए ।
नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले कामको व्यस्तता, झरी र हिलो पार गर्दै उत्साहजनकरुपमा मतदान गर्न सर्वसाधारण आइरहेको बताए ।
कांग्रेस–माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहेकी रेणु दाहालले पुनः मतदान हुँदा पनि मतदाता उत्साहजनकरुपमा सहभागी भएको बताइन् ।
मतदानस्थल वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । पर्यवेक्षकको उपस्थिति पनि बाक्लो देखिन्छ । रासस