सीट निर्धारण र परीक्षामा संलग्न २८ चिकित्सकमाथि छानविन
चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले मेडिकल कलेजलाई सीट बढाउने लगायतका निर्णय गर्नमा संलग्न नेपाल मेडिकल काउन्सिलका २० र काठमाण्डौ विश्वविद्यालयको पोष्ट ग्य्राजुएट तहको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएका आठ विशेषज्ञ चिकित्सकलाई छानविनका लागि बोलाएको छ ।
१९ साउनमा बसेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले २८ चिकित्सकलाई थप जाँचबुझका लागि आयोगमा बोलाएका हो । आयोगले छानविनका लागि बोलाएका चिकित्सकहरुमा मेडिकल कलेजको सीट बढाउने निर्णय गर्नमा संलग्न मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा. दामोदर गजुरेल, पूर्व उपाध्यक्ष ए.ई अन्सारी, पूर्व सदस्यहरु अनिकुमार झा, विश्वराज दवाडी, देवनारायण शाह, गणेश गुरुङ, हिरेन्द्रमान प्रधान, कुलदीप गोइत, मनोहर प्रधान, नरेन्द्रबहादुर राणा, डा. निरज पन्त, प्रकाश भट्टराई, रमेशप्रसाद सिंह, रोशन पिया, सतीशकुमार देव, शिवजी पौडेल, सुदीन शाक्य र पूर्व रजिष्ठार नीलमणि उपाध्याय रहेका छन् ।
त्यस्तै आयोगले केयूको १५ जेठ, २०७३ मा भएको पोष्ट ग्य्राजुएट तहको प्रवेश परीक्षामा अख्तियारबाट खटिएका चिकित्सकहरु शशी शर्मा, सुवोध अधिकारी, नीलमणि उपाध्याय, ऋषिकेश नारायण श्रेष्ठ, सुप्रभात श्रेष्ठ, हिरा तुलाधर, प्रकाश डंगोल र सरोज श्रेष्ठलाई पनि छानबिनका लागि बोलाएको छ । उनीहरुले प्रश्नपत्र छनोट गरी परीक्षा सञ्चालन गराउनमा संलग्न रहेको जनाउदै छानविनका लागि बोलाएको हो ।
केयूको उक्त प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट भएको जनाउदै अख्तियारको टोली छानविनका लागि १३ जेठ, २०७३ मा धुलिखेल पुगेको थियो । अख्तियारमार्फत पुगेका विज्ञहरुले १३ देखि १५ जेठसम्म प्रश्नपत्र बनाउनेदेखि परीक्षाको नतिजा सार्वजनिक गर्नेसम्मका काम गरेका थिए ।
-रामु सापकोटा