मलाई भावुक र अस्थिर भन्छन्ः दाहाल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सबल र दुर्बलपक्ष बारे आम नेपालीले थाहा पाइसकेको भन्दै आफूलाई भावुक र अस्थिर भनिने गरेको बताएका छन् ।
व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पदका लागि उम्मेदवारी प्रस्तुत गर्दै दाहालले आफ्नो कमजोरीले देशलाई पुगेको क्षति र सबल पक्षले भएको फाइदाबारे पनि सबै जानकार रहेको बताए ।
उनले भने, “मेरा सबल र दुर्बल पक्षबारे आम नेपालीलाई पनि थाहा छ । मेरो कमजोरीले देशलाई क्षति पुगेको पनि सबैलाई थाहा छ ।”
उनले आफूले ‘जनयुद्ध’ को नेतृत्व गरुँला, प्रधानमन्त्री बनुँला भन्ने पहिले नसोचेको तर काम गर्दै जाँदा हुनपुगेको दाबी गरे । भने, “गरीब किसानको छोरो प्रधानमन्त्री बन्ने आशा थिएन । विद्रोहको सुप्रिम कमाण्डर बन्न पुगें । भावुक र अस्थिर छ भन्छन् । कुराको ठेगान छैन भन्छन्, मलाई त्यसको राम्रो हेक्का छ ।”
उनले आफूलाई भनिने ‘अस्थिर’ बानीले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई धेरै फाइदा पु¥याएको भन्दै थपे, “देशलाई कति फाइदा पुर्याएको छ त्यो इतिहासले बताउला ।”
उनले आफू प्रधानमन्त्री भएपछि केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट अनुसारका सबैकाम हुबहु लागू हुने प्रतिवद्धता व्यक्त गरे ।
“बजेट अनुसार सबैकाम हुबहु लागू हुनेछन् । तर बजेट नछुट्टाई बाँडेका आश्वासन पूरा हुँदैनन् । ती त सपना मात्रै हुन् ।”
कृषि र उर्जामा आत्मनिर्भरता, विमानस्थलको निर्माण, मधेशको विकास, सामाजिक सुरक्षाका कार्यक्रम, विद्यार्थीलाई विना धितो ऋण, चीन र भारतसँगका सम्झौता जस्ता सबै विषय कार्यान्वयनमा लैजाने उनले वाचा गरे ।