समाचारबिहिबार, १९ श्रावण , २०७४

भरतपुरमा मतदानस्थल वरपर निषेधित क्षेत्र

हिमालखबर

चितवनको भरतपुर महनगरपालिका वडा नं. १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी सुरु भएको छ भने मतदानस्थल वरपर निषेधित क्षेत्र घोषणा गरिएको छ ।

२० साउनमा हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । उनका अनुसार वर्षाले प्रभावित हुनसक्ने भएकाले मतदानस्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको छ ।

मेयरका उम्मेदवार देवी ज्ञवाली र रेणु दाहाल ।

मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर कर्मचारीले आवश्यक तयारी गरिरहेको घिमिरेले बताए । निर्वाचनका लागि १८ साउनदेखि नै मौनअवधी शुरु भएको चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । उनका अनुसार १९ साउनमा हरेक मतदान स्थलमा मतपत्र पुग्ने छ ।

भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेका छन । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् ।

१४ जेठ राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा १४ साउनमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि २० साउनमा निर्वाचन हुन लागेको हो । नेकपा (एमाले)का तर्फबाट देवी ज्ञवाली र नेकपा (माओवादी केन्द्र)का तर्फबाट रेणु दाहाल मेयरका उम्मेदवार रहेका छन् । 

प्रतिकृया दिनुहोस