समाचारबिहिबार, १९ श्रावण , २०७४

पहिरोले बस बगायो, जिप पुरियो

हिमालखबर

नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै १८ साउन राती खसेको पहिरोले बगाएर एक बस हराएको छ भने एउटा जिप पुरिएको छ ।

मानवीय क्षति हुनबाट भने जोगिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट इलाम जादै गरेको ना. ६ ख. ७१२१ नम्बरको बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेपछि हराएको हो । त्यस्तै बा. १५ च. ९३८१ नम्बरको स्करपियो जिपको अघिल्लो भाग पहिरोले पुरेको छ ।

माथिबाट ढुंगा खस्न थालेपछि चालकले बस रोकेर सबै यात्रु झारेलगत्तै ठूलो पहिरोले बसलाई बगाएर त्रिशूलीमा पुगेको हो । बसको पछिपछि रहेको स्करपियो रोकेर चालक भागेर बचेको प्रहरी उपरीक्षक थापाले बताए । मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिका–६ कालीखोला नजिकै पहिरो खसेको हो ।

पहिरो पन्छाउन साँझ मुग्लिनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी जाने क्रममा दुई किलोमिटरमा पुनः पहिरो खसेपछि रातमा पहिरो पन्छाउन नसकिएको थापाले बताए ।

दुवै ठाउँको पहिरो पन्छाउने काम र हराएको बसको खोजी १९ साउन बिहानैदेखि शुरु भएको प्रहरीले जनाएको छ । पहिरो खसेका दुवै ठाउँमा लेदो बगिरहेकाले काममा कठिन भएको छ । रासस

प्रतिकृया दिनुहोस