समाचारमंगलबार, १७ श्रावण , २०७४

२० साउनमा भरतपुरमा निर्वाचन

हिमालखबर

भरतपुर महानगरपालिका वडा नं १९ मा यही शुक्रवार अर्थात् २० साउनमा निर्वाचन हुने भएको छ ।

भरतपुर महानगरपालिका निर्वाचन अधिकृतको कार्यालयले तीन दिनपछि निर्वाचनको मिति तोकेको निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।

पुनः निर्वाचन गराउने निर्वाचन आयोगको निर्णयलाई १५ साउनमा सर्वोच्च अदालतले सदर गरेपछि भरतपुर १९ मा पुनः निर्वाचन हुने भएको हो ।

पहिलो चरण अन्तर्गत निर्वाचन भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना हुँदा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि पुनः निर्वाचन हुन लागेको हो ।

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । भरतपुर १९ को मतगणना शुरु हुनुपूर्व एमालेका देवी ज्ञवाली ७८४ मतान्तरले अगाडि थिए । भरतपुर वडा नं २० को भने मतगणना बाँकी छ ।

निर्वाचनको लागि आजराति १२ बजेबाट शून्य समय शुरु हुनेछ ।

 

प्रतिकृया दिनुहोस