रिपोर्टमंगलवार, श्रावण १७, २०७४

संसारमा कति होला सुन ?

रामेश्वर बोहरा

संसारमा अहिले कति सुन होला ? अनुमान गर्न कठिन छ। बेलायती समाचार संस्था बीबीसीको वेबसाइटमा चार वर्षअघि प्रकाशित सुनसम्बन्धी रिपोर्टमा विश्वका धनीमध्येका एक वारेन बफेटलाई उद्धृत गर्दै एड प्रायरले लेखेका छन्– 'विश्वभर राखिएको सुनलाई जम्मा गर्दा २० मिटर (६७ फिट) को क्युबमा फिट हुन सक्छ।' (हे. लिंक– http://www.bbc.com/news/magazine-21969100) 

सुनबारे सर्वेक्षण गर्दै आएको थमसन रोयटर्स– जीएफएमएसको आँकडा अनुसार विश्वभर एक लाख ७१ हजार ३०० टन सुन छ । यो परिमाण एउटा क्युबको त्यो साइज बराबर हुन्छ, जुन प्रत्येक साइडमा २०.७ मिटर (६८ फिट) हुन्छ। अर्थात् यो 'विम्बल्डन सेन्टर कोर्ट' लाई ढाक्ने गरी राख्दा जमीनबाट ९.८ मिटर अग्लो हुन्छ ।

जीएफएमएसको यो आँकडा नपत्याउनेहरू भने विश्वमा कम्तीमा एक लाख ५५ हजार २४४ टन र बढीमा २५ लाख टन सुन रहेको बताउँछन्। यो परिमाणले ५० मिटर (१६६ फिट) लामो क्युब अथवा विम्बल्डन सेन्टर कोर्ट ढाकिने गरी १४३ मिटर अग्लो टावर बनाउन सक्छ ।

जीएफएमएसका अनुसार सन् १४९२ मा कोलम्बसले अमेरिका पत्ता लगाउँदासम्म १२ हजार ७८० टन सुन निकालिसकिएको थियो। सुनको मुद्रा आविष्कारकर्ता जेम्स टर्कको अनुमानमा संसारभर सुनको मात्रा एक लाख ५५ हजार २४४ टन मात्र छ, जुन जीएफएमएसको आँकडाभन्दा १६ हजार ५६ टन कम हो। यी दुवै आँकडालाई एकदमै कम मान्नेहरू पनि छन्। प्राचीन इजिप्टका शासक 'टुटांकमेनको कफिन नै १.५ टन सुनले बनेको भेटियो भने अरु कतिका कफिन रेकर्डमा आउनुभन्दा पहिल्यै लुटिए' गोल्ड इन्भेष्टमेन्ट फर्म 'द रियल एसेट कम्पनी' का जान स्नोल्सले भनेकी छन्– 'चीनमा निकालिएको सुनको आँकडा नभेटिने र कोलम्बियालगायतका देशमा अवैध उत्खनन् भइरहेकाले विश्वमा सुन निकै बढी हुनसक्छ।' त्यस्तै, 'गोल्ड स्ट्याण्डर्ड इन्ष्टिच्यूट' को अनुमानमा, विश्वभरका ब्यांक र ज्वेलरी पसलहरूमा २५ लाख टनभन्दा कम सुन छैन ।

अहिलेसम्म नवीकरणीय धातुका रुपमा रहँदै आएको सुन प्रयोग गर्ने तरीका पनि बदलिंदैछ। ब्रिटिश जियोलोजिकल सर्वेका अनुसार विश्वमा उत्खनन् भएको सुनको करीब १२ प्रतिशत भाग प्रविधिको क्षेत्रमा खपत हुन्छ। त्यो यति स–सानो मात्रामा प्रयोग हुन्छ कि, त्यसलाई नवीकरण गर्न कठिन छ। अर्थात्, सुनको प्रयोग अब एकपटक मात्र हुने अवस्था आउन सक्छ ।

राष्ट्र ब्यांकसँग कति छ ?

कुनै पनि मुलुकमा सबभन्दा धेरै सुन केन्द्रीय ब्यांकसँग हुन्छ। केन्द्रीय ब्यांकले मुद्रा निष्काशन गर्दा सुरक्षणका रुपमा निश्चित परिमाणमा सुन राख्नुपर्ने हुन्छ । त्यसैगरी तस्करीबाट भित्रिने सुन बरामद भएपछि केन्द्रीय ब्यांकले नै खरीद गर्छ । हाम्रो केन्द्रीय ब्यांक नेपाल राष्ट्र ब्यांकसँग कति सुन छ त ? 

ब्यांकका प्रवक्ता नरबहादुर थापा त्यसको वास्तविक आँकडा आफूसँग नरहेको बताउँछन्। राष्ट्र ब्यांकका मुद्रण व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेलले पनि राष्ट्र ब्यांकमा कति सुन छ भन्ने यकिन नभएको बताए। “मुद्रा निष्काशन गर्दा पहिले सुरक्षणका रुपमा सुन राख्नुपर्थ्यो, अब सुन मात्र राख्नुपर्दैन, त्यसका लागि विदेशी मुद्रा पनि पर्याप्त छ” कँडेल भन्छन्, “अहिले सुन धेरै चाहिंदैन पनि ।”

राष्ट्र ब्यांकले नोट छाप्दा सुरक्षणका लागि राख्ने सुन मात्र होइन, तस्करीबाट भित्रिने क्रममा बरामद भएको सुन पनि मूल्य सकारेर राखेको हुन्छ। त्यो सुन गालेर उसले २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सिक्का पनि निकाल्ने गर्छ, ग्राहकलाई बिक्री गर्नका लागि। राष्ट्र ब्यांकले निष्काशन गरेको मुद्रा चाहिं कति छ त ? मुद्रण व्यवस्थापन विभागका कार्यकारी निर्देशक कँडेल भन्छन्, “२७ चैत २०७३ सम्म रु.४ खर्ब १४ अर्ब ८४ करोड रकम बराबरको मुद्रा सर्कुलेसनमा रहेको छ ।”

२४ क्यारेट नेपालमै

अर्थशास्त्रीय बुझाइमा सुनको दुई वटा मूल्य हुन्छ– 'युज भ्यालु' अर्थात् गरगहनामा आकर्षित हुने मूल्य र 'एक्सचेञ्ज भ्यालु' अर्थात् संग्रहको मूल्य। अर्थशास्त्री केशव आचार्यका भनाइमा, नेपालमा सुनको प्रयोग ज्यादातर 'युज भ्यालु' कै लागि हुने गर्छ । त्यसमा पनि नेपाल त्यस्तो मुलुक हो, जहाँ नम्बरी वा अकबरी सुन भनिने २४ क्यारेटको सुन बढी चल्छ। बिक्री मूल्य बढी र ब्यांकहरूले छिट्टै साट्न मान्ने भएकाले नेपालमा २४ क्यारेटको सुनप्रतिको आकर्षण बढेको हो । गरगहना बढी खपत हुने भारत र पाकिस्तानमा २२ क्यारेटको सुनको प्रयोग बढ्ता हुन्छ । संसारमा 'फोर नाइन' (९९९९) लाई एक नम्बर सुन मानिन्छ, त्यसपछि क्रमशः ९९९० र ९९५० आउँछन्। नेपालमा प्रायः ९९५० आउने गरेकोमा पछिल्लो समय 'फोर नाइन' नै आइरहेको व्यवसायीहरू बताउँछन् ।

सम्बन्धित समाचार
अपराधको शक्ति बन्दै सुन

प्रतिकृया दिनुहोस