जनकपुर–जलेश्वर सडक साढे दुई वर्षमा कालेपत्रे गरिने
मिथिलानगरी जनकपुरबाट महोत्तरीको जलेश्वर जोड्ने सडकको भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले शिलान्यास गरेका छन् । मर्मत सम्भारको अभाव तथा पुनर्निमाण हुन नसक्दा जीर्ण अवस्थामा पुगेकोे सडकखण्डको मन्त्री लेखकले जलेश्वरस्थित खैराचौकमा २४ भदौमा शिलान्यास गरेका हुन् ।
शिलान्यासपछि हुलाकी सडक परियोजना प्रमुख बलराम मिश्रले दिएको जानकारी अनुसार ४ लेनको १८.७ किलोमिटर सडक दुई वर्ष ६ महिनामा सम्पन्न हुनेछ ।
जनकपुरको दूधमती पुलदेखि पर्सा पुलसम्मको ९ किलोमिटर सडकखण्ड प्रतिभा वाईपीजीले ४३ करोड ५४ लाख ७२ हजार ८ सय रुपैयामा ठेक्का कबोल गरेको छ । त्यसैगरी पर्सा पुल पारीदेखि भिट्ठामोडसम्मको ९ किलोमिटर ७ सय ६५ मिटरको सडक निर्माणको जिम्मेवारी आशिष पप्पु रोशन जेभीले रु. ४९ करोड ८९ लाख २० हजार सात सयमा ठेक्का कबोल गरेको हो ।
२३ भदौ २०७३ देखि लागू हुने गरी दुबै निर्माण कम्पनीलाई दुई वर्ष ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले भने सडकलाई ६ लेनको बनाउन माग गरेको छ ।
ईश्वरचन्द्र झा, जनकपुर