रिपोर्टमंगलवार, श्रावण १७, २०७४

अपराधको शक्ति बन्दै सुन

रामेश्वर बोहरा

 सुन–डलर सम्बन्ध कस्तो छ भने अमेरिकी डलर बलियो हुँदा सुन कमजोर हुन्छ, डलर कमजोर हुँदा सुन बलियो हुन्छ । 

बिहेबारीको मौसम सकिएसँगै अब चाडबाडको 'सिजन' शुरू हुँदैछ । नेपालीमाझ चाडबाडहरूले आ–आफ्नै परम्परागत र ऐतिहासिक विशेषता र महत्व बोकेका हुन्छन् । तर, प्रायः चाडबाडलाई 'मीठो खाने राम्रो लगाउने' अवसरका रूपमा लिइन्छ । राम्रो लगाउने कुरा गर्दा नेपाली नारीको सौन्दर्यको प्रसंग अगाडि आउँछ । अर्थात्, झकिझकाउ गरगहनाले सजिनुलाई 'राम्रो लगाउने' कुराको पर्याय झैं मानिन्छ। त्यही कारण पनि चाडबाडको सिजन शुरू भएसँगै बजारमा गरगहनाको खपत र बिक्रीवितरण पनि ह्वात्तै बढ्छ । आम महिलाको गरगहना भन्नासाथै स्वतः अगाडि आइपुग्छ– बहुमूल्य धातु सुन । 

सुन अर्थात्, संसारमा जहाँ पनि र जो–कोहीलाई आकर्षित गर्ने वस्तु । संसारभर सुन्दर वा सम्भावनापूर्ण भनेर बुझाउन सुनौलो, स्वर्णिम, 'गोल्डेन' आदि अनेक विम्ब प्रयोग गरिन्छ– स्वर्णिम युग, सुनौलो दिन, सुनौला अक्षर !

हेर्दैमा आकर्षक धातु सुनको सांस्कृतिक महत्व पनि ठूलो छ । हिन्दू संस्कारमा सुन बेगर बिहेबारीलगायतका सांस्कृतिक कार्य अघि बढाउन असम्भवप्रायः छ। बिहेबारीमा सुनको स्थान गैर–हिन्दू समाजमा समेत उस्तै छ । नारी सौन्दर्य प्रसाधनको रूपमा सुन प्रयोग हुने दक्षिणएशिया, दक्षिण पूर्वी तथा पूर्वी एशियामा यो पहेंलो धातुको खपत धेरै हुन्छ। बढ्दो उपभोग संस्कृति र बजारको दबदबाले सुनको खपत अझ् बढाएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित फेडरल रिजर्भ ब्यांकका अनुसार, 'शताब्दीयौंदेखि इतिहासमा सुनको गहिरो प्रभाव रहिआएको छ । दुनियाँभर नै धनको सर्वमान्य प्रतीकका रूपमा यसलाई स्वीकार गरिएको छ। जब मानिसहरू राजनीतिक अस्थिरता, युद्ध वा मुद्रास्फीतिबारे चिन्तित हुन्छन्, आफ्नो बचत सुनमा लगाउँछन् ।'

हुन पनि, संसारभर व्यापार विनिमयका रूपमा सर्वमान्य रूपमा स्वीकार गरिएको पहिलो वस्तु सुन नै हो । करीब ६ हजार वर्षअघि उत्खनन् र संग्रह गर्न थालिएको सुनको पहिलो सिक्का इसापूर्व ५५० मा निकालिएको थियो । सुन सम्बन्धी इतिहासकार टिमोथी ग्रिनका अनुसार, लिडिया (हाल टर्कीको एउटा प्रान्त) का राजा क्रोएससले त्यो सिक्का बनाएका थिए, जुन तत्कालै भूमध्य सागर क्षेत्रमा व्यापारिक भुक्तानीको सर्वस्वीकार्य साधन बन्न पुग्यो। त्यहीबेलादेखि सुनलाई सबैतिर मान्य धनका रूपमा स्वीकार्न थालियो ।

आफूले कमाएको सम्पत्ति सुनको रूपमा राख्ने, सञ्चय गर्ने क्रम अहिले संसारभर बढेको छ। यसको मूल कारण सुन सबभन्दा सुरक्षित हुनु हो। खँदिलो धातु सुनलाई सञ्चय गरी राख्न सबभन्दा सजिलो छ। नगदले जस्तो यसले धेरै ठाउँ पनि ओगट्दैन। नेपाल राष्ट्र ब्यांकका प्रवक्ता नरबहादुर थापा कारोबारका लागि तत्काल नगदमा बदल्न र सञ्चय गरेर 'क्यापिटल गेन' गर्न सकिने हुँदा जो–कोहीले सुन किनेर राख्न खोज्ने बताउँछन्। त्यही कारण गरीबमा समेत सुन राख्ने इच्छा हुन्छ ।

अर्थतन्त्रको सुरक्षाकवच
हरेक व्यक्तिका लागि आकर्षक धातु सुनको सबभन्दा बढी महत्व सरकारहरूलाई हुन्छ, अर्थतन्त्रको सुरक्षाकवचका रूपमा रहने हुनाले । जुनसुकै मुलुकका केन्द्रीय ब्यांकहरूले मुद्रा निष्काशन (नोट छपाइ) का निम्ति निश्चित परिमाणको सुन 'रिजर्भ' राख्नैपर्छ । अमेरिकाका ३७औं राष्ट्रपति रिचर्ड निक्सनले भियतनाम युद्धबाट अर्थतन्त्रमा परेको चापबाट जोगिन सन् १९७१ मा 'अमेरिकी डलरमा गोल्ड स्ट्याण्डर्डको ग्यारेन्टी नरहने' घोषणा गरेसँगै (जसलाई निक्सन शक पनि भनिन्छ) मुद्रा निष्काशन गर्न सुन मौज्दात राख्ने अभ्यास शुरू भएको हो । 

सुन–डलर सम्बन्ध कस्तो छ भने अमेरिकी डलर बलियो हुँदा सुन कमजोर हुन्छ, डलर कमजोर हुँदा सुन बलियो हुन्छ । यसको मुख्य कारण संसारभर अमेरिकी डलरको स्वीकारोक्ति र अन्य मुद्राहरूको मूल्यको आधार मूलतः अमेरिकी डलर हुनु हो । अमेरिकी डलर कमजोर हुँदा संसारका थुप्रै मुद्रा कमजोर हुन पुग्छन् । डलरलाई सम्पत्तिको रूपमा बुझ्दा यो महँगो र सुन कमजोर हुन्छ भने सुनलाई सम्पत्तिको रूपमा बुझदा डलर कमजोर हुन्छ ।


विवाहका लागि गहनाले सजिएकी नेपाली युवती । तस्वीरः बिक्रम राई

संसारका हरेक अर्थतन्त्रले मुद्रास्फीतिसँग जुध्न सुनको प्रयोग गर्छन्। अर्थात् मुद्राको मूल्य घट्दा सुनको जोहो गर्ने प्रवृत्ति र सुनको मूल्य बढ्छ। अर्थशास्त्री केशव आचार्यका भनाइमा सुनको जोहो गरिराख्दा मुद्रामा जस्तो नोक्सानी नहुने हुनाले राष्ट्रिय संकटको बेला काम आउँछ भनेर सुनको जोहो गरेर राखिन्छ। अर्थात्, व्यक्तिले मात्र नभई राष्ट्रले नै सुनको जोहो गरेर राख्छ। त्यस हिसाबले पनि सुनको सबभन्दा ठूलो संग्रहकर्ता/प्रयोगकर्ता देशको केन्द्रीय ब्यांक हुन्छ। केन्द्रीय ब्यांकले मुख्यतः सुनकै ग्यारेन्टीमा मुद्रा निष्काशन गर्छ। जति बढी सुनको ग्यारेन्टीमा मुद्रा निष्काशन गरिन्छ– त्यति नै मुद्रा सुरक्षित मानिन्छ ।

विश्वबजारमा सुन बेच्ने काम अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गर्छ। सन् १९४५ मा आईएमएफ स्थापना हुँदा संसारको ब्यांकिङ प्रणाली सुनमा आधारित थियो। अर्थात् गोल्ड स्ट्याण्डर्डको 'मनिटरी सिस्टम' थियो। अरू मुद्रा अमेरिकी डलरमा आधारित हुन्थे भने अमेरिकी डलर सुनमा। भियतनाम युद्धपछि निक्सनको घोषणाले त्यसबेलासम्म 'मनिटाइज्ड' रहेको सुन 'डिमनिटाइज्ड' भयो। त्यसपछि देशदेखि व्यक्तिसम्मले सुन राख्न थाले। त्यसअघि संसारभर सुन र डलर बराबर राख्ने अभ्यास थियो। भियतनाम युद्धपछिको व्यवस्थामा फ्रान्सले सुन दिएर डलर नराख्ने भन्यो। यूरोपका अरू मुलुकहरूले पनि 'डलर लैजाऊ, सुन ल्याऊ' भन्न थाले। त्यस्तो पृष्ठभूमिमा निक्सनले सुन र डलरबीचको सम्बन्धलाई नयाँ किसिमबाट 'डिल' गरेका थिए । 

नेपाल राष्ट्र ब्यांकले ९० प्रतिशतसम्म सुन 'ग्यारेन्टी' राखेर मुद्रा निष्काशन गर्दै आएको थियो। पछिल्लो समय मुद्रा निष्काशनका लागि राष्ट्र ब्यांकले न्यूनतम ५० प्रतिशत सुन, चाँदी र विदेशी मुद्रा (डलर) सुरक्षणका रूपमा मौज्दात राख्नुपर्ने तथा बाँकी ५० प्रतिशत सरकारी ऋणपत्र हुनुपर्ने व्यवस्था राष्ट्र ब्यांक ऐनमा गरिएको छ। केन्द्रीय ब्यांकहरूको फेरिंदो व्यवहारसँगै नेपाल राष्ट्र ब्यांकले पनि आफैं सुन किनेर राख्न थालेको हो। सुनको भाउ घट्दा किनेर राख्ने मात्र होइन, लगानी समेत गर्ने क्रम शुरू भएपछि राष्ट्र ब्यांकले पनि आफूसँग मौज्दात रहेको सुनमध्ये केहीलाई 'रिफाइन' गरेर विदेशमा लगानी गरेको छ।

देशभित्र सबभन्दा बढी सुन राष्ट्र ब्यांकसँगै छ। तर, कति भनेर पत्ता लगाउन कठिन देखियो। राष्ट्र ब्यांकका अधिकारीहरूले सुनको परिमाणबारे आफूहरू नै अनभिज्ञ रहेको भन्दै आँकडा उपलब्ध गराएनन्। (हे. बक्स) केन्द्रीय ब्यांकहरूले सुन कसरी थुपार्छन् भन्ने उदाहरण चाहिं भारत हो। सन् १९७१ मा बाङ्लादेश पाकिस्तानबाट स्वतन्त्र हुँदा होस् या त्यही साल शोधनान्तर संकट आउँदा, भारतसँग आयात धान्ने विदेशी मुद्रा थिएन। परिणाम, त्यसबेला उसले जहाजबाट सुन विदेशमा पुर्‍याएर बेचेको थियो।

राष्ट्र ब्यांकका प्रवक्ता थापा केन्द्रीय ब्यांकको व्यवहारले बजारको व्यवहारमा असर गर्ने बताउँछन्। केन्द्रीय ब्यांकको व्यवहारले सुन बजार असन्तुलित बन्न थालेसँगै अर्थात् माग र आपूर्तिबीचको सन्तुलन खल्बलिएपछि सुन छिट्टै र धेरै नाफा कमाउने 'आकर्षक व्यापार' को साधन बन्न थाल्यो। पछिल्लो दुई दशकयता नेपाली समाजमा चुलिएको धन सम्पत्ति बढाउने मनोविज्ञान यसबाट आकर्षित भयो नै ।

जग्गामा लाग्ने हदबन्दीबाट जोगिन, छोराछोरीको पढाइ र बिहेबारीका लागि सम्पत्ति सञ्चय गर्न तथा गरगहनाका लागि सुन जम्मा गर्ने प्रवृत्ति बढिरहेकै थियो। सुनको माग बढिरहेको समाजमा यो नाफाको व्यापार समेत बन्न थाल्यो। छिटो नाफा कमाउन घरजग्गा कारोबारमा हात हालेकाहरूले त्यसमा आएको मन्दीसँगै सुनमा लगानी गर्न थाले।

देशभित्रको कमाइको ठूलो हिस्सा यसरी सुनमा लगानी हुनु राम्रो संकेत होइन, किनभने यसले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत उत्पादनशील क्षेत्रमा लगानी सुकाउँछ। उत्पादनशील क्षेत्रमा लगानी नहुँदा बेरोजगारी बढ्छ। “तर, आम मानिस छिटो फाइदा लिन सट्टेबाजीमा लागेका छन्” राष्ट्र ब्यांकका प्रवक्ता थापा भन्छन्, “पछिल्लो एक–दुई दशकयता हामीकहाँ देखिएको शेयरदेखि घडेरीसम्ममा लगानी गर्ने सट्टेबाजी व्यवहार अब सुनमा पनि हुनथालेको छ।”

रातारात 'इजी मनी' का लागि मौलाएको यस्तो व्यवहारले सुनको अवैध कारोबारको धन्दा पनि मौलाएको छ। यसै पनि उच्च रहेको सुनको माग 'नाफाको व्यापार' का रूपमा धेरैको आँखा परेपछि बढ्ने नै भयो। त्यसमाथि अवैध स्रोतबाट सम्पत्ति आर्जन गर्नेहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धी कारबाहीबाट जोगिन सम्पत्ति लुकाउने उपायका रूपमा पनि सुन नै किन्ने गर्छन् ।

अर्थशास्त्री केशव आचार्यका भनाइमा, कुनै पनि मुलुकमा कालो धनको परिमाण बढेको बेला पहेंलो सुनको तस्करी बढ्छ। सुनको तस्करी बढ्नु भनेको त्यो मुलुकको सुशासनको असफलता पनि हो। “सुन तस्करी भनेको 'इकोनोमिक रिजिम' माथिको जबर्जस्त प्रहार हो, तस्करी रहेसम्म अर्थतन्त्रमा उत्पादनशील उद्योगहरूको विकास हुनसक्दैन” आचार्य भन्छन्, “सुन तस्करीमा बसी–बसी हुने नाफाले अर्थतन्त्रका अन्य आयामहरूलाई फस्टाउनै दिंदैन ।”

पछिल्लो समय सुन तस्करी संगठित अपराधकै रूपमा फैलिंदैछ। त्यसलाई बढाउने काम गरेको छ, भारतीय बजारमा बढ्दो सुनको मागले। भारतको तुलनामा नेपाल सुनको निकै सानो बजार हो। भारतमा सुनको धार्मिक–सांस्कृतिक महत्व, मध्यम वर्गको धन सञ्चय गर्ने रुचि र कालो धन लुकाउने उपायका रूपमा अचाक्ली बढेको सुनको मागले नेपाललाई सुन तस्करीको थलो बनाउँदैछ। अर्थशास्त्री आचार्य भन्छन्, “नेपाल र भारतको 'ट्याक्स डिफरेन्सियल' र 'सेक्युरिटी लुपहोल' मा भर पर्ने कुरा हो, नेपाल भएर भारतमा हुने सुन तस्करी।”

संगठित अपराध

२१ पुस २०७३। युनाइटेड अरब इमिरेट्स (युएई) को शारजहाँबाट एअर अरेबियाको जहाजमा आएको रातो सूटकेश बोकेका एकव्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा जाँच पार गरेर सहजै बाहिरिए। विमानस्थलबाट ट्याक्सी लिएका ती व्यक्तिलाई पछ्याइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले गौशालामा उनलाई समातेपछि सूटकेशमा रहेको ३३ केजी सुन बरामद भयो। सूटकेश बोक्ने व्यक्ति थिए– बाँकेका गोपाल शाही।

शारजहाँबाट सुन भित्रिरहेको सूचना पाएर केही दिनदेखि विमानस्थलमा निगरानी गरिरहेको सीआईबीले शाहीलाई समातेपछि तस्करीका थुप्रै पाटा खुल्दै गए, विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री नै पक्राउ परे। दुई महीनाको अनुसन्धानपछि २२ फागुनमा सीआईबीले यो प्रकरणमा संलग्न ३० जनाको नाम सार्वजनिक गर्‍यो, जसमध्ये १० जना युएईमा बस्ने नेपाली थिए ।

विमानस्थलबाट सुन पार गराउन खटिने प्रहरी र अन्य कर्मचारीसँगै सुन भित्र्याउने नेपालका व्यापारीको नाम पनि सार्वजनिक गर्‍यो। ३० मध्ये १२ जना समातिए पनि न्यूरोडस्थित शाक्य ज्वेलर्सका सञ्चालक राजेन्द्रकुमार शाक्य, शालिमार ज्वेलर्सका सञ्चालक रामकृष्ण गोयल लगायत ८ जना र युएईमा बस्ने १० जना पक्राउ परिसकेका छैनन् ।

यो एउटा प्रतिनिधि घटना थियो, जसले नेपालमा मौलाएको सुन तस्करीको संगठित जालो देखाउँछ। समातिएकाहरूले प्रहरीसमक्ष दिएको बयान अनुसार अवैध सुन भित्र्याउने पछिल्लो यो धन्दा दुई वर्षदेखि चल्दै आएको थियो र एक सातामै १२० देखि १५० केजीसम्म अवैध सुन काठमाडौं विमानस्थलबाट भित्रिइरहेको थियो। त्यसको एक हिस्सा स्थानीय बजारमा खपत हुने गरेको 'ओपन सेक्रेट' नै छ, जसले सुनको माग र आपूर्तिलाई असन्तुलित पारेको छ ।

अवैध रूपमा सुन भित्र्याउने यो जालो कतिसम्म फैलिइसकेको छ भन्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिनासाथ उत्तरी सीमा नाका रसुवागढीबाट भित्रिन थालेको सुनको परिमाणले देखाउँछ। विमानस्थलमा ३३ केजी सुन बरामद भएको साढे दुई महीनापछि ३ चैतमा चीनको केरुङहुँदै रसुवागढीबाट नेपाल भित्रिएको ७ केजी सुन प्रहरीले बरामद गर्‍यो ।

स्याङ्जाका प्रकाश गैरेले बा १७ प २५७७ नम्बरको गाडीको फिल्टरमा 'फल्स बटन' बनाएर ल्याउँदै गरेको सुन प्रहरीले रसुवाको टिमुरेबाट समातेको थियो । त्यसैगरी टिमुरेबाटै प्रहरीले ३० जेठमा सोही ठाउँका कुङजाङ तामाङले ल्याउँदै गरेको ६ केजी सुन र ६ असारमा अरू दुई जनाबाट दुई केजी सुन बरामद गर्‍यो। ६ असारमा सुन ल्याउँदै गरेका दुई जना सिन्धुपाल्चोक, बाह्रबिसेका कृष्णबहादुर श्रेष्ठ र दिनेश रोक्का थिए। उनीहरूले मोटरसाइकलको पेट्रोल ट्यांकीमा सुन लुकाएका थिए।

कुनै बेला सिन्धुपाल्चोकको तातोपानी नाकालाई चीनबाट सुन तस्करी गर्ने नामूद नाका मानिन्थ्यो। १२ वैशाख २०७२ को भूकम्पपछि सो नाका बन्द रहेकाले सुन तस्करहरूले केरुङ–रसुवागढी नाका प्रयोग गरिरहेका छन्। प्रहरी अधिकारीहरू नै रसुवागढी नाकाबाट दैनिक ५०–६० केजीसम्म तस्करीको सुन भित्रिइरहेको बताउँछन्। यो नाकाबाट सामान भित्र्याउने कन्टेनर व्यवसायी र सुन तस्करबीच बलियो साँठगाँठ रहेको उनीहरूको भनाइ छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहेको सिजन (मंसीर, माघ, फागुन, वैशाख र जेठ महीना) मा देशभर सुनको माग दैनिक ५० केजीसम्म हुन्छ, तर राष्ट्र ब्यांकले दैनिक १५ केजी मात्र आपूर्ति गर्छ। राष्ट्र ब्यांकले २२ वटा वाणिज्य ब्यांकलाई सुन बेच्ने 'अथोरिटी' दिएको छ। पछिल्लो समय भने राष्ट्र ब्यांकले सिजनमा दैनिक २५ केजी र अरू बेला २० केजी सुन बिक्री गर्ने निर्णय गरेर त्यसलाई लागू गरेको छ। महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य अरू बेला २० केजीले पुग्ने तर सिजनमा दैनिक २०–२५ केजी अपुग हुने बताउँछन्। उनी भन्छन्, “त्यसको पूर्ति कहीं न कहींबाट त हुन्छ नै।”

२०६२ अघि सुन आयातमा प्रतिबन्ध रहेकोमा व्यवसायीको दबाबमा १ माघ २०६३ मा 'ओपन जनरल लाइसेन्स' मार्फत जोसुकैले निर्धारित भन्सार महसुल तिरेर सुन आयात गर्न पाउने व्यवस्था गरिएको थियो । त्यसपछि आयात यसरी बढ्यो कि एकै वर्षमा रु.४१ अर्बको सुन वैधानिक बाटोबाटै भित्रियो। परिणाम, विदेशी मुद्रा सञ्चितिको सन्तुलन खल्बलिएर शोधनान्तर घाटा उच्च भएपछि सरकारले सुन आयातमा रोक लगायो। आयात नियन्त्रण गर्न सरकारले २०६६ माघबाट दैनिक १० केजी मात्र सुन व्यवसायीलाई बिक्री गर्ने भन्दै वाणिज्य ब्यांकहरूलाई आयात अनुमति दियो।

जनसंख्या, आम नेपालीको आर्थिकस्तर र उपभोग संस्कृति– तीनवटै पाटोमा भएको बढोत्तरीसँगै सुनको माग र बजार दुवै फैलिंदै गयो। बढ्दो मागलाई धेरथोर थेग्ने काम गरेको थियो– विदेशबाट आउने नेपालीले व्यक्तिगत प्रयोजनको लागि अधिकतम ५० ग्राम सुन ल्याउन पाउने व्यवस्थाले ।

व्यक्तिलाई दिइएको यो सुविधाको सुन तस्करहरूले हदैसम्म दुरुपयोग गरेको भन्दै भन्सार विभागले २०७३ साउनदेखि त्यसमा पनि रोक लगायो । त्यसपछि व्यवसायीहरू अवैध रूपमा भित्रिने सुनमै निर्भर हुनथाले । “अहिले अपुग सुनमध्ये १०–१५ प्रतिशत रिफाइनरी (बजारमा फिर्ता आउने पुराना गरगहना) बाट पूर्ति हुन्छ, बाँकी आपूर्ति अवैध बजारबाटै हुने हो” महासंघका महासचिव बज्राचार्य भन्छन्, “सरकारलाई हाम्रो अनुरोध छ– आफ्ना संयन्त्रमार्फत प्रत्येक सुन व्यवसायीको अनुगमन गरियोस्, उनीहरूले कति सुन कहाँबाट किन्छन् र कति बेच्छन् अनुगमन होस्, जसबाट व्यवसायमा पनि स्वच्छता आओस्।”

नेपाल सुनचाँदी व्यवसायी महासंघमा आबद्ध करीब १० हजार व्यवसायी छन्। स्थायी लेखा नम्बर बेगर चलिरहेका र महासंघमा आबद्ध नभएका व्यवसायीसँगै अर्को बेग्लै, नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघमा आबद्ध व्यवसायी समेत मिलाउँदा देशभर २० हजारभन्दा बढी व्यवसायी रहेको अनुमान छ। ती सबैले कहाँबाट, कति र कस्तो सुन किन्छन् र कति बेच्छन् भन्ने चुस्त अनुगमन हुने हो भने तस्करीको सुन खपत गर्न सहज नहुने व्यवसायीहरू बताउँछन् ।

उनीहरूका अनुसार, नेपालमा तस्करीमार्फत भित्रिने धेरै सुन भारत पुग्छ। भारतमा सुन आयातमा गरिएको कडाइ र माग तथा आपूर्तिबीचको असन्तुलनसँगै पछिल्लो समय 'कालो धन नियन्त्रण' का नाममा लागू गरिएको नोटबन्दीले सुनको माग ह्वात्तै बढाएको छ ।

नोटबन्दीसँगै त्यहाँका धेरै सुन व्यवसायीले भएको पैसा सुनमै लगानी गरे, 'कालो धन' जम्मा गरेकाहरूले पनि सुनमै पैसा खन्याए। “कतिसम्म भने ४० करोड नगद २० करोड बराबरको सुनसँग पनि साटियो” एक उच्च प्रहरी अधिकृत भन्छन्, “एकातिर कालो धन सेतो हुने, अर्कोतिर सुन व्यापारी र ब्यांकहरूले त्यो रकम विभिन्न जुक्तिमार्फत कमाउने पनि । यही कारण थुप्रै ब्यांक कर्मचारी पक्राउ पनि परे।”

नेपालहुँदै भारतमा सुन तस्करी मौलाउने अर्को कारण हो– नेपालभन्दा भारतमा बढी मूल्य। यसमा भारतमा लागू गरिएको उच्च भन्सार दरले काम गरेको छ। सन् २०१२ मा भारतमा सुनको भन्सार दर २ प्रतिशत थियो, जुन अहिले १० प्रतिशत पुगेको छ। गत वर्ष पुनरावलोकन गरिएको भन्सार दर अनुसार नेपालमा आयात हुने प्रति १० ग्राम सुनमा रु.४१०० महसुल लाग्छ ।

त्यसअघिका चार वर्ष प्रति १० ग्राम सुनमा रु.५१०० भन्सार महसुल लाग्थ्यो। भन्सार विभागका सहायक प्रवक्ता गुणराज सुवेदी सुनका गहनामा १५ प्रतिशत महसुल लागे पनि काँचो सुनमा लिइने भन्सार महसुल करीब ८ प्रतिशत हाराहारी हुने बताउँछन्।

वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी) का अनुसार सन् २०१४ मा भारतमा १७५ टन सुन तस्करीबाट भित्रिएको छ। युएई र सिंगापुरबाट हवाइमार्ग तथा नेपाल र बाङ्लादेशबाट सडकमार्गबाट भारतमा सुन तस्करी हुन्छ। डब्लुजीसीका भारतस्थित निर्देशक सोमसुन्दर पीआरले उच्च भन्सार दरलाई नै सुन तस्करीको मुख्य कारक भनेका छन्। डब्लुजीसी र 'फेडेरेशन अफ इण्डियन च्याम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज' को संयुक्त अध्ययनले भारतमा अहिले २२ हजार टन अर्थात् १ टि्रलियन अमेरिकी डलरभन्दा बढी मूल्यको तस्करीको सुन घरघरमा थुप्रिएको उल्लेख गरेको छ।

सुन तस्करीको अनुसन्धान गरेका प्रहरी अधिकृतहरू यसमा नेपाली व्यापारी माध्यम मात्रै बनेको बताउँछन्। उनीहरूका अनुसार, पछिल्लो समय एक केजी सुन भारत पुर्‍याउने नेपाली व्यापारीले रु.५ लाखसम्म नाफा पाउँछन्। यसमा उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी र प्रभावशाली नेताहरूको समेत संरक्षण रहेको प्रहरी अधिकृतहरू बताउँछन्। सत्तामा प्रभावी नेताहरूको 'संकेत' पछि अवैध सुन चलायमान हुन्छ ।

समुद्रीमार्ग र बाङ्लादेशसँगको सीमा खुला भए पनि भारतमा नेपालबाटै सुन जानुको कारण यहाँ कानूनी व्यवस्थाको खस्कँदो अवस्था र जे पनि गर्ने 'सेटिङ' मौलाउनु हो। त्यही कारण, यूएईबाट हवाई र चीनबाट स्थलमार्गबाट ठूलो परिमाणमा सुन नेपाल भित्रिन्छ र भारत पुग्छ।

यूएईमा जति पनि सुन किन्न र जुनसुकै मुलुकमा लैजान छूट छ। कर नलाग्ने हुँदा त्यहाँ सुन सस्तो पनि छ। त्यो सुन नेपालहुँदै भारतमा लैजान सजिलो छ। यूएईबाट आएको ३३ केजी सुन समातिएको नौ दिनपछि १ माघमा चीनबाट सुन तस्करी गर्ने अर्को समूहलाई महानगरीय प्रहरी वृत्त बालाजुले १५ किलो सुनसहित समात्नुले सुन तस्करीको अर्को जालो देखाउँछ ।

कुनैबेला सुन तस्करीमा संलग्न एक व्यापारी दैनिक ५०० केजीसम्म सुन तस्करी हुने बताउँछन् । “यसमा नियमित मार्जिन १–१.२५ प्रतिशतसम्म हुन्छ” उनी भन्छन्, “सुरक्षा अधिकारी र नेताहरूसँगको 'नेक्सस' बेगर यत्रो व्यापार सम्भव हुँदैन।”

उनका अनुसार, बालुवाटार र गृहमन्त्रालयको जानकारी बेगर सुन तस्करी पत्याउन नसकिने कुरा हुन्छ। गृहमन्त्रालय इमानदार बन्दाको अवस्था बेग्लै हो, उसले बालुवाटारलाई 'बाइपास' गरिदिन सक्छ, तर धेरैजसो समय सुन तस्करीको सेटिङमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुन्छ। अर्थात्, केन्द्रमा अन्तर्राष्ट्रिय गिरोह हुन्छ, नेपालका सबै पक्ष सेटिङको पुर्जा वा अपरेटर मात्र हुन्छन् ।

आफूसँग भएको पैसा एक ठाउँमा जम्मा भइरहन नदिने ध्याउन्नमा रहने अन्तर्राष्ट्रिय गिरोहले ठूलो नगद परिमाणका कारण सुन तस्करीमा थोरै मार्जिन भए पनि अत्यधिक नाफा कमाउँछ। आफ्ना अपरेटरहरूलाई 'इन्गेज' राख्न र भारतमा रहेको कालोधनलाई आफ्नो वशमा पार्न पनि अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहन्छ। सुनको बजारसँगै भारतमा अथाह कालोधन पनि छ।

हुण्डी र लागूऔषध कनेक्सन
यूएईबाट होस् या चीनबाट, सुन ल्याउन विदेशी मुद्रा चाहिन्छ। तस्करहरूले विदेशी मुद्रा कहाँ पाउँछन् त? प्रहरी अधिकृतहरूका भनाइमा, केही विदेशी मुद्रा नेपालबाटै जान्छ, केही चाहिं उतै जोहो गरिन्छ । सुन भित्रिने बाटो बनेपछि नगद पनि त्यही बाटो सूटकेशमै जान्छ। सुन तस्करीसँग हुण्डी कारोबार र लागूऔषध तस्करीको कनेक्सन हुन्छ। सुनको भुक्तानी लागूऔषधमा पनि हुने बताउँदै एकजना प्रहरी अधिकृत भन्छन्, “उता बस्ने नेपालीहरूलाई यता भुक्तानी दिएर पनि विदेशी मुद्राको जोहो हुन्छ।”

अहिले विप्रेषण (रेमिट्यान्स) वृद्धिदरमा गिरावट आउनुको कारण हो– वैदेशिक रोजगारमा गएका नेपालीहरूले कमाउने विदेशी मुद्रा सुन व्यापारमा प्रयोग हुन थाल्नु। राष्ट्र ब्यांकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ को ११ महीना अर्थात् गत जेठ मसान्तसम्ममा रेमिट्यान्स वृद्धिदर ५.८ प्रतिशत रहेको छ। गत वर्ष सोही अवधिमा यो वृद्धिदर ८.६ प्रतिशत थियो ।

राष्ट्र ब्यांकले १६ जिल्लाका ३२० घरपरिवारमा गरेको विप्रेषणको बचत तथा लगानी प्रवृत्तिको अनुसन्धानमा कोरियाबाट ७० प्रतिशत रेमिट्यान्स हुन्डीबाट भित्रिरहेको देखाएको थियो। नेपाली बजारमा डलर अभाव हुनुलाई पनि सुन तस्करीसँगै जोडेर हेर्ने गरिन्छ ।

दुई दशकअघि यूरोपसम्म चरेस तस्करी गरेको अभियोगमा प्रहरीले लक्ष्मी कंसाकारलाई पक्रेको थियो। प्रहरीले कंसाकारको घरमा भेटेको कागजको टुक्रामा हङकङको यौटा ब्यांकको खाता नम्बर लेखिएको थियो। खातावालाको नाम थियो– दीपक मल्होत्रा। त्यसबेला मल्होत्राले त्रिभुवन विमानस्थलको ठेक्का लिएका थिए। त्यो घटनाको अनुसन्धान गरेका एक प्रहरी अधिकृत चरेसको भुक्तानी त्यही खातामा जम्मा हुने गरेको र यता त्यसको नेपाली रुपैयाँ दिने गरिएको थाहा भएको बताउँछन् ।

“अनुसन्धान गरिरहेकै थियौं, आईजीपीले त्यो केस अघि नबढाउन भनेपछि चूप लाग्यौं” उनी भन्छन्, “अहिले चरेसको भुक्तानी पनि सुनमार्फत भइरहेको हुनसक्छ ।”

प्रथम विश्वयुद्धको अन्त्यसँगै लाहुरेहरू घर फर्किन थालेपछि सुन आपूर्तिको बाटो खुल्यो। लाहुरेहरूले तलबको रकमबाट सुन पनि ल्याउँथे। ब्रिटिश गोर्खा, सिंगापुर प्रहरी र राष्ट्रसंघीय शान्ति मिसनमा जानेहरूले पनि सुन ल्याउन थाले। पछिल्लो समय भने संगठित गिरोहबाट तस्करीको सुन भित्रिने क्रम अचाक्ली बढेको छ। “यो अरूजस्तो अपराध होइन, आर्थिक अपराध संगठित रूपमा हुन थाल्यो भने त्यसले सबै क्षेत्रलाई बर्बाद पार्छ” पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी भन्छन्, “छिमेकी मुलुकका आपराधिक समूहले यसलाई बढाएको छ, अब त प्रहरी नै सुन तस्करीमा समातिन थालेका छन् ।”

प्रतिकृया दिनुहोस