टिप्पणीमंगलवार, श्रावण १७, २०७४

आवश्यक छ नयाँ दलको दरिलो उपस्थिति

दिनकर नेपाल

नेपाली जनताले पत्याउने गरिको राजनीतिक विकल्प बन्ने हो भने विवेकशील साझा पार्टीले एउटा आन्दोलन बन्ने गरिको राजनीतिक मार्गचित्र कोर्न सक्नुपर्छ ।


विवेकशील साझा पार्टी घोषणा गर्दै सहसंयोजकद्वय रवीन्द्र मिश्र र उज्ज्वल थापा । तस्वीरः गोपेन राई

सूचनाप्रविधिको उपयोग गर्दै पहिलो राजनीतिक क्रान्ति ट्युनिसियामा फैलिएपछि त्यसको असर अरब देशहरूमा पर्‍यो र ती देशहरूमा आन्दोलन उठेका थिए। त्यही समय, भारतमा अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलन उठ्यो, जसको फाइदा लिंदै अरविन्द केजरीवालले आम आदमी पार्टी (आप) गठन गरेर वैकल्पिक भनिने राजनीतिको शुरूआत गरे ।

नेपालमा पनि वैकल्पिक राजनीतिको वैचारिक आधार बनाउने उद्देश्यका साथ रवीन्द्र मिश्रको पहलमा बाबुराम भट्टराई समेतले बहस शुरू गरेका थिए। समयक्रममा भट्टराईले नयाँ शक्ति र मिश्रले साझा पार्टी बनाए। विवेकशील नेपाली दलले भने त्यसअघि नै आफूलाई नेपालको नयाँ वैकल्पिक शक्ति भनेर चिनाउँदै आएको थियो । 

बाबुराम भट्टराईको हिंसात्मक राजनीतिको विगतका कारण नयाँ शक्तिमा जनताले नयाँपन नदेख्नु स्वाभाविकै थियो, तर साझा पार्टी र विवेकशील दलले पनि स्थानीय तह निर्वाचनमा प्रभाव देखाउन सकेनन्। उनीहरूका उम्मेदवारहरूले काठमाडौं उपत्यकामा उल्लेख्य मत पाए पनि बाहिर कुनै उपस्थिति देखाउन सकेनन्। यी दुई दल मिलेर चुनाव लड्नुपर्ने दबाब सामाजिक सञ्जालमार्फत आएकोमा त्यसो हुनसकेको थिएन। निर्वाचनमा हार भएपछि भने दुई दलको एकीकरण भएको छ। नेपालमा अहिले भएका तमाम समस्या प्रमुख दलहरूको खराब राजनीतिको उपज हो र त्यसबाट निजात पाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ भनिठान्नेहरूलाई आशावादी बनाएको छ ।

किन चाहियो विकल्प ?

अहिलेका हाम्रा प्रमुख दलहरू पनि कुनै समयमा जोशिला युवाबाट नै शुरू भएका हुन्। यिनै राजनीतिक संगठनहरूको नेतृत्वमा जनताले लामो समय अधिकारको लडाईं लडे। संस्थापन विरुद्ध लडेका यी दलहरूको राष्ट्र–निर्माणमा योगदान देखिंदैन। यिनीहरूको बनोटमा पनि ध्वंसात्मक प्रवृत्ति देखिन्छ। लामो समय पञ्चायती व्यवस्थासँग लडेर आएका दलहरूले सिर्जनात्मक क्षमता र अनुभव बनाउन नपाउँदै माओवादी द्वन्द्व शुरू भएपछि नेपालको राजनीति नै बिग्रियो ।

नेता, बौद्धिक वर्ग, आसेपासे सबै द्वन्द्वजीवीमा परिणत हुन पुगे। उनीहरूले जनअधिकारको लागि लडेको भन्दै त्यसको भर्पाइका लागि राजनीतिलाई देश दोहन गर्ने माध्यम बनाए। को, कति वर्ष जेल बस्यो भन्ने कुरालाई को, कुन कति पदको लागि योग्य छ भन्ने मानक बनाइयो । 

यससँगै जोडिएर आएको अर्को महत्वपूर्ण कुरा छ– समाजमा जरो गाडेको भ्रष्टाचार र त्यसैलाई सघाउँदै गरेको राजनीति । द्वन्द्वको अलमल र त्यसपछिको संक्रमणकालले गर्दा निर्णय गर्ने अधिकार केही सीमित नेतामा खुम्चिएपछि दलहरूबीच चरम गुटबन्दीले राजनीतिक संस्कारलाई नै गैर–लोकतान्त्रिक बनाएको छ। चार जना शीर्ष नेताको अधिनायकवादले हरेक दललाई खोक्रो बनाएको छ। विकृति कतिसम्म भने यसअघि तीन पटक असफलसिद्ध प्रधानमन्त्री शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री बनेका छन् र जनता टुलुटुलु यो हेर्न बाध्य छन् ।

यसरी द्वन्द्व र गुटबन्दीलाई भजाएरै राजनीतिक–आर्थिक लाभ लिन पल्केका नेताहरूको बाहुल्य भएको नेपाली राजनीतिक वृत्तमा राष्ट्रनिर्माण, विकास र समृद्धिलाई केन्द्रमा राख्ने वैकल्पिक राजनीतिको आवश्यकता टड्कारो छ ।

किन आएन भोट ?

नेपालमा राजनीतिक भ्रष्टाचार चरम छ । यसको मुख्य कारक अहिलेका स्थापित दलहरू नै हुन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले फेरि तिनैलाई भोट दिए। वैकल्पिक भनिएका शक्तिहरूको उपस्थिति नै देखिएन, किन? अहिले विवेकशील साझा पार्टीको लागि मुख्य प्रश्न यही भएको हुनुपर्छ। यो प्रश्नको सही उत्तर खोज्न सके वैकल्पिक शक्ति भनिएको पार्टीको मार्गचित्र स्पष्ट हुन सक्छ ।

यो निर्वाचनको परिणामलाई लिएर दुईथरी तर्क गरिएका छन्– पहिलो, नयाँ पार्टीहरूको कुनै विचारधारा नभएकाले जनताले पत्याएनन् र दोस्रो, वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता नै छैन। यी दुवै तर्कको दरिलो आधार भने देखिंदैन । विचारधाराको विषयमा नेपालमा एउटा अलिखित समझ्दारी नै भएजस्तो देखिएको छ ।

माओवादीहरू लोकतान्त्रिक धारमा मिसिन पुगेपछि सबै दलले लोकतन्त्र र मानवअधिकारका मान्यताहरूलाई 'बटमलाइन' बनाएका छन्। हिजोका शत्रु र अहिले पनि विचारधाराका हिसाबले विपरीत ध्रुवमा उभिएका कांग्रेस र माओवादी मिलेर चुनाव लडेको अवस्थामा नयाँ दलहरूलाई मात्र राजनीतिक विचारधारा नभएको आरोप लगाउनु उचित देखिंदैन ।

जहाँसम्म जनताको भोटले वैकल्पिक शक्तिको आवश्यकता र आधार नै नभएको सिद्ध गरेको भन्ने तर्क छ, त्यो अहिलेको राजनीतिक व्यवस्थाबाट भरपूर फाइदा लिइरहेकाहरूले भन्ने कुरा हो । नेपालमा अहिले देखिएका धेरै समस्या खराब राजनीतिको उपज हुन् र त्यसलाई फेर्न भरपर्दो विकल्प चाहिएको छ भन्नेमा कुनै द्विविधा छैन। तर, नयाँ दलहरू राजनीतिक सुझ्बुझ् र चुनावी खेलमा चुकेका छन्। उनीहरू पुराना दलहरूको भीमकाय औपचारिक संगठन र अनौपचारिक सिन्डिकेटका अगाडि कमजोर बनेका छन् ।

सत्तामा न कसैको एकाधिकार हुन्छ न त कसैले किस्तीमा सजाएर सुम्पन्छ। सत्ता पाउने बाटो आफैं बनाउनुपर्छ। विवेकशील साझा पार्टीले वास्तवमै नेपालको विश्वसनीय विकल्प बन्ने हो भने अहिलेसम्म देखिएको भन्दा बेग्लै राजनीतिक–रणनीतिक सुझ्बुझ् देखाउनुपर्नेछ ।

रणनीतिक स्पष्टता

स्थानीय तहको चुनावलाई सरसर्ती हेर्दा नेपाली समाजमा पुराना दलहरूले गहिरो जरा गाडेको मात्र नभई भरपर्दो वैकल्पिक शक्तिहरूले छिट्टै ठाउँ बनाउन सक्ने आधारहरू पनि देखिन्छ । मिडियाको प्रभाव भएको, धेरै युवा मतदाता रहेको र अन्यत्रभन्दा बढी 'स्वीङ भोट' भएको काठमाडौंमा साझा पार्टी र विवेकशील दलका उम्मेदवारले उल्लेख्य मत पाए । मध्य पहाडका ग्रामीण क्षेत्रहरूमा पारम्परिक दलहरू निकै शक्तिशाली देखिए। तर, त्यसको अर्थ यो होइन कि ती क्षेत्रहरूमा 'विकल्प' ले ठाउँ नै बनाउन नसकोस् ।

ठूलो युवा जमात रोजगारीका लागि बाहिरिएका ती क्षेत्रहरूमा शिक्षक र 'लाहुरे' हरू प्रभावशाली छन्। स्थानीय सामाजिक नेताहरू पनि निकै प्रभावशाली छन्। स्थानीय जनतामा भिजेर राम्रो काम गरेका सामाजिक नेताहरूले पारम्परिक दलीय आबद्धता विना नै धेरै भोट पाएको उदाहरण पनि छन् ।

स्थानीय निर्वाचन हुन बाँकी तराईका आठ जिल्लामा युवा जमात क्षेत्रीयताको मुद्दामा लहसिएका छन्। त्यहाँ जातीयताको पकड निकै बलियो छ । नेपालको राजनीतिमा विकल्पका रूपमा उभिन चाहने शक्तिहरूले चुनावी क्षेत्रहरूको सूक्ष्म अध्ययन गरेर स्पष्ट रणनीति बनाउनुपर्छ । 'हामी नयाँ र इमानदार छौं, त्यसकारण हामीले देश चलाउन पाउनुपर्छ' भन्ने जस्तो दम्भमा आधारित नारा लगाएर हिंड्नु केटाकेटीपन हुनेछ ।

विवेकशील नेपाली दल र साझा पार्टी हाँक्नेहरूका लागि विवेकशील साझा पार्टी निश्चय नै एउटा महत्वपूर्ण मुकाम हो । देशको राजनीतिमा साँच्चै वैकल्पिक शक्ति बन्नको लागि भने यसका नेताहरूले के–कस्तो पाठ सिकेका छन् र आफैंलाई कस्ता प्रश्नहरू सोध्दैछन् भन्ने कुरा महत्वपूर्ण छ ।

तत्कालका लागि उनीहरूले स्थानीय चुनावमार्फत व्यक्त भएको राजनीतिक रुझानको सूक्ष्म अध्ययन गरेर रणनीति बनाउनु आवश्यक देखिन्छ। दीर्घकालीन रूपमा भने राजनीतिक 'डिस्कोर्स' मा ठाउँ बनाउँदै जनमत प्रभावित गर्ने रणनीति बनाउनुपर्नेछ। त्यसका लागि यस्ता केही प्रश्नहरूमा विचार गर्नु उपलब्धिमूलक हुन सक्छ– नेपालका लागि अहिले विकास र राष्ट्रनिर्माणमध्ये कुन महत्वपूर्ण हो ? राजनीतिक विकल्पको आन्दोलनमा 'ग्रान्ड न्यारेटिभ' केलाई बनाउने? समाजको भ्रष्ट चरित्र कसरी बदल्ने ?

देशको राजनीतिक परिस्थिति अहिलेको जस्तो विकल्पहीन अवस्थामा धेरै समय रहन सक्दैन, तर त्यो कुनै व्यक्ति वा पार्टीविशेषको आकांक्षा पूर्तिका लागि नभई राष्ट्रको आवश्यकताबाट निर्देशित हुनेछ । अहिलेका सत्तासीनहरू पूर्ण निष्त्रि्कय भएर सत्ता नयाँ पुस्तामा जाने परिस्थिति लोकतन्त्रमा असम्भवप्रायः नै छ । त्यसकारण, अहिलेकै शक्तिशाली दलहरूभित्र पनि वैकल्पिक नेतृत्व बलियो भएर पुरानो भ्रष्ट प्रवृत्तिलाई जित्न सके समग्रमा राष्ट्रको हित हुनेछ । नयाँ दलहरूको दरिलो उपस्थिति त्यो परिवर्तनको शुरूआती बिन्दु भने बन्न सक्छ ।

प्रतिकृया दिनुहोस