थप समाचारसोमवार, श्रावण १६, २०७४

पर्सामा अवैध क्रसर उद्योग सञ्चालनमा

हिमालखबर

पर्सा जिल्लाको पर्सा वन्यजन्तु आरक्ष नजिकै गादिमाई उपभोक्ता वनमा इजाजतबिना क्रसर उद्योग सञ्चालनमा रहेको छ ।

तस्वीरः जियालाल साह

पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ सोनबर्साको गदियानी टोलमा श्याम गिरीले सञ्चालन गरेको क्रसर उद्योग दर्ता नभएको घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा कृष्णप्रसाद सिग्देलले जानकारी दिए ।

उनकाअनुसार पर्सामा हालसम्म ११ वटा दर्ता भएर सञ्चालन भइरहेका क्रसर उद्योगहरु छन् ।

नियमले नमिल्ने ठाउँमा क्रसर उद्योग सञ्चालन भइरहेको सम्बन्धमा जानकारी नभएको सहायक जिल्ला वन अधिकृत वशिष्टनारायण कुर्मीले जानकारी दिए ।

वनभित्र अवैध क्रसर उद्योग सञ्चालन भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले क्रसर सञ्चालनको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले वन्यजन्तु आरक्ष नजिकै क्रसर सञ्चालन गर्न नपाइने बताउँदै सम्बन्धित कार्यालयसँग बुझेर कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

राजनीतिक र सम्बन्धित निकायको संरक्षणमा सञ्चालित उक्त अवैध क्रसरले वन विनाशसँगै खोलानाला र वातावरणमा समेत प्रत्यक्ष असर पारिरहेको छ । खोलाबाट जथाभावी ढुङ्गा निकाल्दा बाढी, खेत कटानजस्ता समस्या आउने स्थानीयको गुनासो छ ।

जियालाल साह, पर्सा

 

प्रतिकृया दिनुहोस