कला/साहित्यसोमवार, श्रावण १६, २०७४

नेपाली कलाकी नक्षत्रः डिना बाङ्देल

सञ्जीव शर्मा

नेपाली कलाको जगेर्ना र यसलाई विश्वस्तरमा चिनाउन डिना जत्तिको योगदान राज्यको समेत थिएन ।

सन् १९९० मा फ्रान्सको म्यूजे–गिमे कला संग्रहालयमा शताब्दीयौं पुराना दुई मूर्ति देखेर लेखक/कलाकार लैनसिंह बाङ्देल चकित भए । उनले तत्काल संग्रहालय सञ्चालकलाई ती मूर्ति नेपालबाट चोरी गरी ल्याइएको अवगत गराए । अनि मात्र संग्रहालयले एउटा १२औं शताब्दीमा बनेको विष्णु–लक्ष्मी–गरुड र अर्को १३औं शताब्दीको उमा–महेश्वरको मूर्तिलाई दर्शकको पहुँचबाहिर सुरक्षित राख्यो ।

बाङ्देललाई चोरिएका मूर्तिबारे ज्ञान हुनुको कारण यस विषयमा उनले गरेको विशद् अध्ययन नै थियो । त्यसैको प्रतिफल थियो, सन् १९८९ मा प्रकाशित पुस्तक स्टोलन इमेजेज् अफ नेपाल । त्यसयता बाङ्देल चोरिएर विदेशी भूमिमा पुगेका मूर्तिहरू स्वदेश फर्काउने अभियानका अगुवा नै बने । तर, सन् २००२ मा निधनसँगै उनको यो अभियान अधुरो रह्यो ।

पछिल्लो समय छोरी डिना बाङ्देल (५४) बाबुको त्यही अधुरो चाहना पूरा गर्ने योजनामा थिइन् । तर, १० साउनमा अचानक उनको यात्रा रोकियो । ‘प्यारानेजल स्क्वामोउस साइनस क्यान्सर’ को उपचारका क्रममा अमेरिकाको भर्जिनियामा उनको निधन भयो । र, मुलुकले ‘बाबुजस्तै छोरी’ गुमायो ।

शुरुमा आफूसँग आइपुगेका नेपालका मूर्ति फिर्ता गर्न आवश्यक सुरक्षा प्रत्याभूति खोजेको म्यूजे–गिमे संग्रहालयले पछिल्लो समय भने कुनै विशेष अवसर पर्खिरहेको थियो । र, यो सबै अन्तर्राष्ट्रियस्तरमै ख्याति कमाएकी कला अन्वेषक/इतिहासकार र आर्ट क्यूरेटर उनै डिनाकै अथक् प्रयासका कारण सम्भव हुन लागेको थियो ।

सन् १९६० मा राजा महेन्द्रको फ्रान्स भ्रमणका बेला पेरिसको यही संग्रहालयमा एक महीने नेपाली कला प्रदर्शनी भएको थियो । त्यसयता नेपाली कलाको यति भव्य अन्तर्राष्ट्रिय प्रदर्शनी अहिलेसम्म भएको छैन ।

नेपाली कलालाई विश्वमा चिनाउन डिना त्योभन्दा पनि ठूलो कला प्रदर्शनीको योजनामा थिइन् । म्यूजे–गिमेकी दक्षिण एशियाली कला विभाग प्रमुख नाताली बाजाँ र डिनाबीच प्रदर्शनीलाई म्यूजे गिमेबाट शुरु गरेर अमेरिका, अष्ट्रिया, जापान, सिंगापुरलगायतका देश हुँदै नेपाल ल्याउने सहमति पनि भइसकेको थियो । प्रदर्शनी गर्न सके बुबा लैनसिंहले पहिचान गरेका ती दुई मूर्ति पनि सँगसँगै नेपाल ल्याउने उनको योजना थियो । नेपालबाट चोरिएर विदेशका विभिन्न संग्रहालय र निजी संग्रहकर्तासम्म पुगेका अरु मूर्ति र कलाकृतिहरू पनि फिर्ता गर्न दबाब पुग्न सक्थ्यो ।

कला प्रदर्शनीमा नेपालको राष्ट्रिय संग्रहालय, छाउनीलगायत विभिन्न देशका संग्रहालयमा रहेका नेपाली मूर्ति र अन्य कलाहरू पनि समावेश होस् भन्ने चाहन्थिन् डिना । तर, छाउनीका कलाकृति विदेश लैजान विभिन्न सरकारी निकायबाट चाहिने स्वीकृति र समन्वयको अभावले उनलाई समस्यामा पारिरहेको थियो । उनलाई यस कार्यमा सघाइरहनेमध्येका थिए, पुरातत्वविद् शुक्रसागर श्रेष्ठ । तर, ५ जेठमा उनको निधन भयो ।

“विश्वका प्रमुख शहरहरूमा नेपाली कला प्रदर्शन गरेर विश्व मानचित्रमा देशको नाम चम्किलो बनाउने डिनाको सपना थियो”, डिना नजिक रहेर काम गरेकी सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापा भन्छिन्, “अब यो जिम्मेवारी हामी सबै मिलेर पूरा गर्नुपर्ने बेला आएको छ ।”

एकसाथ अनेक

डिना एकसाथ अनेक थिइन् । दक्षिण एशियाली, हिमाली, नेपाली र बौद्ध कलामा विशेष दक्खल राख्ने उनी युरोपेली मध्यकालीन कलादेखि समकालीन कलासम्मकी ज्ञाता थिइन् । दक्षिण एशियाली समकालीन कला र चलचित्रमा पहिचान र लैंगिक मुद्दा कसरी उठेका छन् भन्नेबारे पनि उनले अनुसन्धान गरिरहेकी थिइन् । कलासम्बन्धी थुप्रै पुस्तक लेखन र सम्पादन गरेकी डिनाले क्यूरेटरका रुपमा विभिन्न देशमा कला प्रदर्शनी आयोजना पनि गरेकी थिइन् ।

बाबुबाट कलाको विरासत पाए पनि कला अध्ययनमा उनी आफ्नै बलबुताले यहाँसम्म आइपुगेकी थिइन् । अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीबाट कला इतिहासमा विद्यावारिधि गरेकी डिनाको पछिल्लो ‘स्टेशन’ चाहिं कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटी थियो, जहाँ उनी कला विभागकी निर्देशक थिइन् ।

विश्वका प्रमुख कला संग्रहालयमा राम्रो पहुँच साथै नेवारी कला–संस्कृति, मूर्ति कला, पौभा कला समेतमा डिना जस्तो जानकार आफूले नभेटेको क्यूरेटरसमेत रहेकी थापा बताउँछिन् । “विश्वका कुन संग्रहालयमा नेपालका कुन कलाकृति छन् भन्ने बारे उनलाई सबै थाहा थियो”, थापा भन्छिन् ।

दुई वर्षअघि डेनमार्कको मोएसगार्ड संग्रहालयमा सिद्धार्थ आर्ट फाउण्डेशनले कला प्रदर्शनी आयोजना गरेको थियो । तर, निर्देशक थापा त्यसैबेला टाइफाइडबाट थलिइन् । “म नहुँदा सम्पूर्ण काम डिनाले सम्हालिदिइन्, नेपाली कलाकी ज्ञाता उनलाई विदेशी कलापारखीका अगाडि गाह्रो हुने कुरै थिएन”, थापा सम्झिन्छिन् ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल डिना नेतृत्वको प्रस्तावित प्रदर्शनीका लागि राष्ट्रिय संग्रहालय, पाटन संग्रहालयलगायतबाट कलाकृतिको सूची समेत बनाइसकेको बताउँछन् । कलालाई वस्तुपरक ढंगबाट भन्दा पनि बृहत्तर आयाममा बुझ्ने व्यक्तिका रुपमा आफूले डिनालाई पाएको बताउँदै उनी भन्छन्, “उहाँ जत्तिको अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ र कला इतिहास अध्ययन गरेको नेपाली अहिलेसम्म छैन ।”

नेपाल निष्ठा
डिना अमेरिकाबाट कतार आउनुको प्रमुख कारण आफ्नो काम पनि नछुटोस् र नेपाल आउजाउ गर्न पनि सजिलो होस् भन्ने नै थियो । यसको अर्को कारण भनेको ८७ वर्षीया बिरामी आमा मनकुमारीसँगको भेट पनि थियो ।

भूकम्पपछिको पुनःनिर्माणका बेला कतारबाट राहत सामग्री ल्याएर क्षतिग्रस्त क्षेत्रमा आफैं खटिएकी उनी बालबालिकासँग खेल्न रुचाउँथिन् । “कलाबाहेक नेपाली युवाहरूको विकासका लागि पनि उहाँ प्रयत्नशील हुनुहन्थ्योे”, बाङ्देल परिवारका मित्र किरणदत्त तेवारी भन्छन् । डिना नेपाल आएका बेला आफूले सञ्चालन गरेको बालआश्रममा रमाउने गरेको उनी बताउँछन् । “कुमारी मन्दिरका पुजारीदेखि स्वयम्भूका गुभाजुसम्मले उहाँलाई राम्रोसँग चिन्दथे” तेवारी भन्छन्, “त्यति ठूलो विद्वान भएर पनि साधारण गाउँले दाजुभाइ, दिदीबहिनीसँग सहजै घुलमिल हुनसक्ने बानी देख्दा अचम्मै लाग्थ्यो ।”

डिना नेपालमा पनि विश्वस्तरका कला इतिहासकार, अध्येता होउन् भन्ने चाहन्थिन् । त्यसका लागि उनले केही युवा कलाकारलाई आफूले पढाउने विश्वविद्यालयमा अध्ययनको अवसर पनि मिलाएकी थिइन् । तीमध्येका एक मेख लिम्बूका भनाइमा, डिनाले काठमाडौं विश्वविद्यालयसँग मिलेर विदेशका अन्य विश्वविद्यालयमा नेपालीलाई अध्ययन/तालीमको व्यवस्था पनि मिलाएकी थिइन् । “विदेशमै त्यत्रो उँचाइ बनाएको मान्छे असमयमै बित्नु भनेको देशकै लागि ठूलो क्षति हो” लिम्बू भन्छन्, “उहाँले शुरु गरेका योजनाहरू अलपत्र पर्छन् कि भन्ने चिन्ता बढेको छ ।”

नेपाल कला परिषद्को सञ्चालक समिति सदस्य समेत रहेकी डिनाकै पहलमा भारतमा वर्षेनि हुने ‘इन्डिया आर्ट फेयर’ मा दुई वर्षदेखि नेपाली युवा कलाकार पनि सहभागी हुँदै आएका छन् ।

नेपाल कला परिषद्की क्यूरेटर स्वस्ति राजभण्डारीका भनाइमा, नेपाली समकालीन कलालाई अन्तर्राष्ट्रिय मञ्चमा पु्‍याउन डिनाको योगदान अतुलनीय छ । युनिभर्सिटी कलेज अफ लण्डन इन् कतारमा म्युजियम एण्ड ग्यालरी विषयमा अध्ययन गरेकी स्वस्ति र उनीजस्ता धेरै विद्यार्थीलाई डिनाले नै सहयोग गर्थिन् ।

कलाकार अस्मिना रञ्जितको बुझाइमा असीमित ऊर्जाकी धनी डिना नेपाली कलाकारको क्षमता अभिवृद्धिमा सधैं घोत्लिइरहन्थिन् । “यहाँसम्म कि आफूले पढाउने पाठ्यक्रममा पनि उनले नेपाली कलाबारे थुप्रै विषयवस्तु समावेश गराएकी थिइन् जसले हामीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिन सघाउ पुर्‍याइरहेको थियो”, अस्मिना भन्छिन् । उनका अनुसार, डिना पछिल्लो समय लैनसिंह बाङ्देल फाउण्डेशन खोलेर बुबाका कलाहरूको संग्रहालय स्थापना गर्ने, नेपाली कलाकारलाई प्रशिक्षित गर्ने, नेपाली कला विकासका लागि विदेशी कलाकारहरूको सहभागितामा कार्यक्रम गर्ने जस्ता थुप्रै योजनाबाट घेरिएकी थिइन् ।

मौका मिल्यो कि डिना नेपाल आइहाल्थिन् । कतिसम्म भने गत वर्षको चैतमा काठमाडौंमा आयोजित कला महोत्सव ‘काठमाडौं ट्रिएनाले’ मा अस्वस्थताका कारण सहभागी नहुने बताएकी डिना एक्कासी आइपुगिन् । “आफूलाई असाध्य रोग लागेको उनलाई थाहा थियो शायद” संगीता थापा भन्छिन्, “हामीलाई गज्जबको हौसला दिइन् र आफ्ना दुःख कसैलाई नभनी हाँसी–खुशी गइन् ।”

प्रतिकृया दिनुहोस