अमेरिकामा आफ्नै घरले दिएको खुशी
नेपालबाट अमेरिका पुनर्वास भएका भुटानी शरणार्थी कर्णबहादुर गुरुङ् नेपालमा शिविरको लामो बसाईपछि अहिले अमेरिकामा आफ्नै घरमा रहन पाउँदा खुशी लागेको बताउँछन् ।
अमेरिकामा रेष्टुरेन्ट व्यवसाय तथा गैर सरकारी संस्थामा समेत संलग्न कर्णबहादुर गुरुङ (३०) शुरुमा नेब्रास्का राज्यको ओमाहा शहरस्थित इण्डियन ओभन नामको होटलमा भान्साको काम गरे । यो काम उनलाई पटक्कै चित्त बुझेको थिएन ।
पठन पाठनमा रुची भएका कर्णबहादुर त्यो काम छोडेर भुटानी र अन्य मुलुकका मानिसहरुको लागि दोभाषे बने । शरणार्थी शिबिरमा छँदा शिक्षक रहेका उनलाई दोभाषेको काम केही सहज पनि भयो ।
त्यसपछि उनले तथ्यांक राख्ने कम्पनी हुँदै पुनर्वासका लागि आएका आप्रवासीहरुको ‘केस म्यानेजर’को रुपमा पनि काम गरे ।
यो सँगै उनी सन् २०११ को अगस्ट देखि सन् २०१५को अक्टोवरसम्म बेसाहरा वालवालिकाको लागि काम गर्ने संस्था एड फर डिपेण्डेण्ट चाइल्डमा पनि आवद्ध भएर काम गरे ।
सामजिक सम्बन्ध बढदै जाँदा उनले साथी सहयोगीसँग मिलेर सन् २०११ मा ड्रुक ग्याल्सिए लिमिटेड कोअपरेटिभ एसोसिएसन मार्फत चलाएको रेष्टोरेण्टले पनि राम्रै कारोबार गरिरहेको छ । जसको नाम अहिले फेरिएर गुरुङ ब्रदर्श भएको छ ।
त्यसपछि २०१५ मा उनी मुख्य वित्तीय अधिकारी भएर नेव्रास्काको ओमाहामा युनाइटेड होम केयर नामक परोपकारी संस्था खोले ।
ओमाहामा रहेका २५ वटा प्रतिस्पर्धी संस्थाहरु बीच युनाइटेड होम केयर स्थापित बन्दै गएको छ । सरकारी कोषबाट सहयोग लिएर चल्ने यो
संस्थाले अपांगता भएका तथा असाहाय र बृद्धबृद्धाहरुलाई घरमै कामदार राखेर सेवा दिन्छ ।
युनाइटेड होम केयरसँग हाल ४० भुटानी सहित ६० जना सहयोगी कार्यकर्ता छन् ।
ती कार्यकर्तालाई पारिश्रमिकको रुपमा मासिक कुल करिव ९० हजार डलर भुक्तानी गरिरहेको उनी सुनाउँछन् । भन्छन्, “युनाइटेड होम केयर नेव्रास्का राज्यमा पुनर्वास भएको शरणार्थीले चलाएको यस प्रकृतिको एकमात्र संस्था हो ।”
यसबाहेक रिफ्युजी कंग्रेसमा पुनर्वास भुटानीको तर्फबाट कार्यकारी सदस्यको रुपमा प्रतिनिधित्व गरिरहेका कर्णबहादुरले अमेरिकाका मध्य र पश्चिमी क्षेत्रका दश राज्यका कम्तिमा १८ लाख शरणार्थी, शरणापेक्षी र आप्रवासीको विषयमा सरोकार राख्नु पर्दछ ।
रिफ्युजी कंग्रेसमा कोषध्यक्षका रुपमा नर्थ क्यारोलेनाका कमल धिमाल पनि छन् ।
अमेरिकामा पुनर्वास शरणार्थीमध्ये दशक नवित्दै सामाजिक रुपमा चाँडो घुलमिल भएको भुटानी समुदायको उच्च मुल्यंकन गरिन्छ ।
भुटानमा राम्रैसँग खान लाउन पुग्ने सम्पत्ति छोडेर लखेटिएका उनी पूर्वी झापाको खुदुनावारीस्थित शरणार्थी शिबिरमा निस्तो अलिनो खाएर, चुहुने छाप्रामा बसेर विताएको कठिन डेढ दशक पनि शिक्षाप्रद नै रहेको बताउँछन् ।
“आङ ढाक्ने कपडा थिएन, हिलोमा थोत्रो साइकल कहिले बोक्दै र कतै चलाउँदै विर्तामोडसम्म पुगेर ट्युसन पढाँउथें, मिठो मसिनो मुखमा पर्दैनथ्यो” फ्रयाङ्किलन स्ट्रिट ओमाहास्थित ३८६० नम्बरको दुईतल्ले निजी घरमा हिमालसँग कुरा गर्दै उनले भने ।
दर्शन सम्बन्धी एउटा पुस्तक निकाल्ने तयारीमा रहेका कर्णबहादुर जीवनलाई चुडिएको चंगा झै सम्झिन्छन् । दक्षिण भुटानको साम्सी जिल्लाको टेण्डु व्लकको काचिन गाँउबाट ८ बर्षको उमेरमा बाबुआमाको पछि लागेर नेपाल आएका उनी भन्छन्, “अहिले यो विरानो अमेरिकामा म सँग एउटा घर छ ।”
गोपाल गडतौला, नेब्रास्का अमेरिकाबाट