मध्यमाञ्चलमा एक वर्षमा १०६९ दुर्घटना, ७३५ को मृत्यु
मध्यमाञ्चल क्षेत्रका १६ जिल्लामा गत वर्ष सवारी दुर्घटनामा परी ७३५ जनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०७३/७४ को १२ महिनामा भएको १ हजार ६९ वटा सवारी दुर्घटनामा उनीहरुको ज्यान गएको मध्यमाञ्चल क्षेत्रिय ट्राफिक कार्यालय पथलैया बाराका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले जानकारी दिए ।
उक्त दुर्घटनामा १ हजार ४ जना गम्भीर घाईते र १ हजार १०२ जना सामान्य घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
मोटरसाईकल दुर्घटना बढी
जम्मा १,५४३ वटा सवारी साधन संलग्न दुर्घटनामा सबै भन्दा बढी मोटरसाईकल दुर्घटना रहेको तथ्याङ्कले देखाएको छ । रिक्सा, ठेला पनि दुर्घटनामा पर्ने गरेको पाईएको छ ।
चालकको लापरबाहीले गर्दा मोटरसाईकल दुर्घटना बढी हुने गरेको कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक मैनालीले बताउँछन् ।
“अधिकांश युवाहरुले मोटरसाईकल तिव्र गतिमा हुइँकाउदा दुर्घटना भएको पाइएको छ,” एसपी मैनालीले भने “त्यसमाथि अन्य सवारी साधनभन्दा मोटरसायकल दुर्घटनामा मानिसको ज्यान गएको पाइएको छ ।”
वर्षेनी दुर्घटनामा मर्नेहरु बढ्दै
ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार १६ जिल्लामा वर्षेनी दुर्घटना र त्यसमा परी ज्यान गुमाउनेको संख्या बढदो क्रममा छ ।
आर्थिक वर्ष ०७०/७१ मा ९६२ वटा सवारी दुर्घटनामा ४२५ जनाको मृत्यु भएको थियो । अर्को वर्ष दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३२ ले बढ्यो ।
आर्थिक वर्ष ०७२/७३ मा ६ महिनासम्म चलेको बन्द हड्ताल सहितको मधेश आन्दोलन र नाकाबन्दीले सडकमा कम सवारी साधन गुडे पनि ९३७ वटा सवारी दुर्घटना भएको र त्यसमा ५२५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी सहायक निरीक्षक सुरेन्द्र कोईरालाका अनुसार सडकमा सवारी चाप बढेको तर सडकहरुको स्तरोन्नती हुन नसकेका कारण दुर्घटनाको संख्या बढेको छ ।
“सडक मर्मतमा कसैको पनि ध्यान छैन, बरु कम गुणस्तरका सडकहरु विस्तार भइरहेका छन्, जसले दुर्घटनाको संख्या बढाएको छ,” कोइरालाले भने, “ट्राफिक नियमको उलंघन गरेर सवारी चलाउँदा पनि धेरै दुर्घटना भएको पाइएको छ ।”
चालकको लापरबाहीले ६५ प्रतिशत दुर्घटना
१६ जिल्लामा गत वर्ष भएका १,०६९ वटा सवारी दुर्घटनामा सबैभन्दा बढी ६५ प्रतिशत दुर्घटना चालकको लापरबाहीले भएको प्रहरीको तथ्याङ्क छ । त्यसपछि दोस्रो र तेस्रो कारणमा तीव्र गति र सडकको दुरावस्था हुन् ।
त्यस्तै दुर्घटना बढी हने दोस्रो कारण तिव्र गति हो । ओभरटेक गर्दा, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभर लोड, र चौपायाका कारण पनि दुर्घटना हुने गरेका छन् ।
नियम अनुसार २५० किलोमिटर भन्दा लामो दुरीको यात्रामा कम्तीमा दुई जना चालक हुनुपर्ने नियम पनि पालना भएको पाइँदैन ।
सुरेश बिडारी, वीरगञ्ज