ब्लगशनिवार, श्रावण १४, २०७४

महिलामा इन्डेमेट्रिओसिस

डा. सुमनराज ताम्राकार

निसन्तान महिलामध्ये ३० देखि ४० प्रतिशतमा इन्डेमेट्रिओसिसको समस्या देखिन थालेको छ ।

पाठेघरको भित्री तहको सक्रिय तन्तु बाहिर पुग्नुलाई मेडिकल भाषामा इन्डेमेट्रिओसिस र पाठेघरको मध्य तह (मायोमेटि्रयम) मा पुगेको अवस्थालाई एडेनोमायोसिस भनिन्छ। केही दशकयता इन्डेमेटि्रओसिसको समस्या बढ्दै गएको छ। ढिलो विवाह गर्ने र कम बच्चा जन्माउने चलन, ल्याप्रोस्कोपी जस्तो रोग पत्ता लगाउने प्रविधिको सुविधा तथा विशेषज्ञ सेवाको उपलब्धताका कारण यस्ता बिरामीको संख्या बढेको देखिएको हो । 

१० प्रतिशत किशोरी र महिला तथा ३० देखि ४० प्रतिशत निसन्तान महिलामा इन्डेमेटि्रओसिसको समस्या देखिने गरेको छ। यो समस्या हुने थुपै्र 'मेडिकल थ्यौरी' छन्, जसमध्ये महीनावारीको समयमा रक्त प्रवाह उल्टो भएर डिम्बवाहिनी नली हुँदै भित्री पेटमा जम्न पुग्नुलाई बढ्ता विश्वसनीय मानिन्छ। यसको अलावा पाठेघरको भित्री तहमा हुने तन्तु जन्मजात रूपमा अन्यत्र हुनाले, शल्यक्रियाको दौरान भित्री पाठेघरको तन्तु भित्री पेटको मासु तथा घाउमा प्रत्यक्ष बस्न गए वा कतिपय महिलामा वंशाणुगत वा इम्युनोलोजिकल कारणले हुन्छ भन्ने तर्कहरू छन्।

कुनै कारणवश भित्री पाठेघरको तन्तु अन्यत्र बस्न गएपछि त्यहाँ प्रत्येक महीना इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको प्रभावमा मासिक स्राव जस्तै हुन्छ। ती स्थानहरूमा रगत बगेर जाने ठाउँ नहुनाले त्यहीं जम्मा हुन्छ। यस्तो प्रकारको रगत आफैंमा अस्वस्थकर हुन्छ र वरिपरिका तन्तुहरूलाई पनि अस्वस्थ बनाउँछ। त्यसको नकारात्मक प्रतिक्रियास्वरुप पीडा गराउने, यताउति टाँसिने त्यान्द्रा बनाउने र तन्तुहरूलाई बाक्लो पार्ने गर्छ। पुट्ठा भित्रका अङ्ग (डिम्बाशय, पाठेघर वरिपरिका अङ्ग र तन्तु) हरू इन्डेमेटि्रओसिसबाट अन्यत्र भन्दा बढ्ता प्रभावित हुन्छन्। यो समस्या ३० देखि ४५ वर्षका अविवाहित वा निसन्तान वा थोरै बच्चा पाएका महिलालाई बढ्ता हुन्छ ।

लक्षण र उपचार

करीब २५ प्रतिशत महिलामा इन्डेमेट्रिओसिस भएको लक्षण देखिन्न। महीनावारीको बेला सानो पेट दुख्ने (५० प्रतिशतमा), महीनावारी गडबड हुने (६० प्रतिशतमा), यौन सम्पर्क राख्दा पीडा हुने, कम्मर तथा पुट्ठा दुख्ने तथा दिसापिसाब गर्दा पोल्ने भयो भने इन्डेमेट्रिओसिसलाई समेत ध्यानमा राखेर उपचार गर्नुपर्ने हुन्छ।

पेट र जननेन्द्रियको आन्तरिक परीक्षणमा इन्डेमेट्रिओसिस नदेखिन सक्छ। पाठेघर मलद्वारतर्फ फर्किएको, वरिपरिका अङ्गहरूमा पाठेघर टाँसिने र डिम्बाशयमा रगत जमेको पाइयो भने इन्डेमेट्रिओसिस भएको लगभग 'कन्फर्म' हुन्छ। कहिलेकाहीं रगत परीक्षण र भिडियो एक्सरेबाट पनि यो समस्या ठम्याउन सकिन्छ, तर सबभन्दा उपयुक्त प्रविधि चाहिं ल्याप्रोस्कोपी नै हो। इन्डेमेटि्रओसिसको उपचारमा हर्मोनयुक्त औषधिहरू चलाइन्छ, तर डिम्बाशय तथा डिम्बवाहिनी नली बेरुप भइसकेको वा रगत जमेर डल्लो बनिसकेको रहेछ भने औषधिले सुधार हुँदैन, शल्यक्रिया नै गर्नुपर्छ । इन्डेमेट्रिओसिसको उपचारसँगै विशेष तवरले निसन्तान समस्याको व्यवस्थापन पनि गर्न सकिन्छ ।

पुट्ठाभित्रको जननेन्द्रिय वरिपरि बाहेक अन्यत्र हुने इन्डेमेट्रिओसिसका आ–आफ्नै लक्षण चिह्नहरू हुन्छन् । त्यसैले बिरामीसँग समस्याबारे राम्रो जानकारी लिनुपर्छ। जननेन्द्रिय वरिपरि भन्दा अन्यत्र समस्या हुँदा महीनावारीको बेला डल्लो उठ्ने, केही दिन अत्यधिक दुख्ने, हल्का रगत बग्न सक्ने र दिसापिसाब गर्दा पोल्ने हुन सक्छ। त्यो खालको समस्यामा सामान्यतः शल्यक्रियाबाट उपचार गर्नुपर्छ। त्यस्तो उपचारमा पनि छोटो समयका लागि महीनावारी नगराउने हर्मोनयुक्त औषधि चलाउन सकिन्छ ।

तल्लो पेट दुख्ने समस्या (डिस्मेनोरिया) को बेलामा जस्तै इन्डेमेटि्रओसिसका कारणले हुने पीडाबाट छुटकारा पाउन कतिपय घरेलु उपाय अपनाउन सकिन्छ। तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका तरिकाले मालिस गर्न सकिन्छ। रबरको थैली वा शिशाको बोतलमा तातोपानी राखेर वा तातोपानीमा भिजाएको बाक्लो कपडाले तल्लो पेट वा ढाड सेक्न सकिन्छ। अथवा तातो अदुवा पानी खाँदै दैनिक क्रियाकलाप जारी राख्न सकिन्छ। व्यायाम र घुमफिरले पनि फाइदै पुर्‍याउँछ। यतिले आराम नपुगे चिकित्सकको परामर्श लिनुपर्छ ।

एडेनोमायोसिसको तनाव

पाठेघरको भित्री तहको तन्तु पाठेघरको मध्य भागतिर पुग्नुको प्रष्ट कारण थाहा नभए पनि पटक–पटक गर्भ रहेको, बलपूर्वक पाठेघर सफा गरेको र अत्यधिक मात्रामा इस्ट्रोजेन हर्मोन उत्पादन भएको अवस्थामा इन्डेमेटि्रओसिसको समस्या हुन्छ। ४० प्रतिशत जति महिलामा त एडेनोमायोसिससँगै इन्डेमेटि्रओसिसको समस्या पनि हुन सक्छ ।

एडेनोमायोसिसले पाठेघरको सबै भागमा असर गर्ने हुनाले महिलाको उमेर अनुसार पाठेघरको आकार ठूलो हुन्छ। प्रायः बच्चा पाइसकेका र ४० वर्ष नाघेका महिलामा देखिने यो समस्यामा महीनावारीमा धेरै रगत बग्ने, सानो पेट दुख्ने, पिसाब गर्दा र यौन सम्पर्कका बेलामा दुख्ने हुन्छ। एडेनोमायोसिसको पहिचान अल्ट्रासाउण्डबाट गर्न सकिन्छ। समस्या पहिचानपछिको उपचारमा सन्तानको रहर पुगिसकेेका महिला रहेछन् भने पाठेघर निकाल्ने शल्यक्रिया गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस