रिपोर्टशनिवार, श्रावण १४, २०७४

तस्करीमा परेका महिलाका कला

सविता श्रेष्ठ

नेपालमा हरेक वर्ष करीब १५ हजार युवती मानव तस्करीको शिकार हुने गरेका छन्। अमेरिकी संघीय अनुसन्धान ब्यूरोका अनुसार, अमेरिकामा हरेक वर्ष करीब एक लाख युवती यौन व्यवसायका लागि बेचिन्छन्। मानव तस्करीलाई विश्वमा तेस्रो ठूलो अपराध मानिन्छ ।

मानव तस्करीमा परेका महिलाका कला । तस्वीरहरुः गोपेन राई

सिद्धार्थ आर्ट फाउण्डेशन र अमेरिकाको आर्ट वर्क्स फर चेञ्जको सहकार्यमा २९ असारदेखि ललितपुरस्थित पाटन संग्रहालयमा जारी 'सत्यकथा परियोजना' यही विषयसँग सम्बन्धित छ। प्रदर्शनीमा महिला हिंसा र बेचबिखनका विविध पक्षलाई प्रकाश पार्ने उद्देश्यले भिडियो, चित्रकला र तस्वीर राखिएका छन् । लैंगिकतालाई समाजले कसरी बुझेको छ, समाजमा कस्ता मिथक छन्, कसरी महिला शोषण र बेचबिखन भइरहेका छन्, बेचबिखनमा परेका महिला कसरी सशक्त हुन सक्छन् भन्ने आधारमा वास्तवीकरण, मिथक, शोषण र सशक्तिकरण चार शीर्षकमा प्रदर्शनी वर्गीकरण गरिएको छ ।

प्रदर्शनीमा पाँच नेपाली (नवीन बराल, आङछिरिङ शेर्पा, सुजन चित्रकार, हितमान गुरुङ र शिलाशा राजभण्डारी) र ७ विदेशी (मर्लिन मिन्टर, लिन टायानमियाओ, हङ्ग लिउ, पारास्तो फोरोहर, थोमस एल. केली, स्टेसी ले र लव थोमस) का कला राखिएको छ। यससँगै बेचबिखनमा परेका नेपाली महिलाले बनाएका चित्र तथा फोटो पनि छन् ।

पीडित नै कलाकार
मानव तस्करीमा परेका महिलालाई 'भिजुअल स्टोरीटेलर' बनाउन एक वर्षअघिबाट शुरु गरिएको सत्यकथा परियोजनामा ९ जना महिलालाई छनोट गरिएको थियो । 

परियोजनाकी संयोजक सिसिलीया राणाका अनुसार, सिविन र शक्ति समूहमा रहेका उनीहरुलाई १२ हप्ताको तालीम दिएर कथा वाचनबारे सिकाइएको थियो। कला चिकित्सा (आर्ट थेरापी), फोटोग्राफी, कथा लेखनबारे सिकेका उनीहरुले फोटो कथा र दुईवटा चित्र कथा बनाए। जसलाई प्रदर्शनीमा विशेष महत्वका साथ राखिएको छ। “परियोजनामा सहभागी महिलाले कलाको माध्यमबाट आफूले भोगेको पीडा प्रस्तुत गरेका छन्”, राणा भन्छिन् । सहभागीको परिकल्पना र कथालाई किताबको रुप दिने तयारी पनि भइरहेको छ ।

जुलाईलाई अमेरिकामा 'मानव बेचबिखन–विरुद्धको महीना' का रुपमा मनाइन्छ। त्यसैले यो कलालाई क्यालिफोर्नियाको अकल्याण्डमा पनि प्रदर्शन गर्ने तयारी आर्ट वर्क्स अफर चेञ्जले गरिरहेको छ। १६ साउनसम्म चल्ने यो प्रदर्शनीलाई काठमाडौंस्थित अमेरिकी दूतावासले सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस