टिप्पणीशुक्रवार, श्रावण १३, २०७४

बौद्ध पर्यटनमा सतही बुझाइ

वसन्त महर्जन

लुम्बिनीलगायतका बौद्धस्थलहरूलाई पर्यटनसँग जोडेर विचार–विमर्श गर्नु सकारात्मक कुरा हो। नेपालको आर्थिक विकासमा पर्यटन उद्योगले पुर्‍याउने सहयोग र त्यसमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायतका बौद्धस्थलहरूको महत्व सहजै मनन् गर्न सकिन्छ। विश्व सम्पदा लुम्बिनी र अन्य बौद्धस्थलहरू विश्वभरका पर्यटकका लागि यसै पनि आकर्षक गन्तव्य हुन्। बौद्धस्थलमा आउने पर्यटकमध्ये धेरै बौद्ध धर्मावलम्बी नै हुन्छन्। उनीहरूको मनोकांक्षा बुझन नसक्दा पर्न जाने नकारात्मक प्रभावप्रति होशियार हुनु जरूरी छ। 

नेपालमा पर्यटक 'गाइड' देखि नीतिनिर्मातासम्ममा बौद्ध धर्म–दर्शनसम्बन्धी यथोचित ज्ञानको अभाव खट्किंदै आएको विषय हो। बौद्ध विषयवस्तुको अध्ययनमा थुप्रै धार छन् र बौद्धहरू एउटा धारमा अभ्यस्त हुन्छन्। विभिन्न धारका बौद्ध समाजलाई बुझेर व्यवहार गर्नु पर्यटन उद्योगका लागि पक्कै पनि चुनौतीको विषय हो। बौद्ध धर्मका एउटै उप–सम्प्रदायमा पनि स्थानविशेष र समाज अनुसार फरक अभ्यास पाइन्छ।

स्वयम्भूनाथ, काठमाडौं ।                                               बिक्रम राई

हिन्दू, इस्लाम, इसाइलगायतका धर्मको विस्तार हुँदा दर्शन, संस्कार–संस्कृतिदेखि सामान्य व्यवहारसम्म एकबाट अर्को ठाउँ गएको देखिन्छ। बौद्धको भने दर्शन मात्र गएर अन्य कुराहरू स्थानीय मूल्यमान्यता अनुसारै चल्दै आएको पाइन्छ।

नेपालमा बौद्ध अध्ययनको औपचारिक शुरूआत भएको धेरै भएको छैन र बौद्ध जनसंख्या पनि कमै छ। बौद्धमध्ये पनि कोही आफ्नै सम्प्रदाय विशेषमा सीमित छन् कति त नाममात्रका बौद्ध धर्मावलम्बी छन्। यस्तो अवस्थामा पर्यटक गाइडहरूमा बौद्ध विषयवस्तुबारे कम ज्ञान हुनु अस्वाभाविक होइन। यस्तोमा अनेक पृष्ठभूमिका विदेशी बौद्ध पर्यटकलाई सम्हाल्नु चुनौतीपूर्ण नै हुन्छ।

नेपालमा तिब्बत, हिमाली क्षेत्र र काठमाडौं उपत्यकाको नेवार समाजमा प्रचलित बौद्ध अभ्यासलाई बौद्धधर्म भनेर बुझने/बुझाउने गरिन्छ। जबकि, यिनीहरू एउटै बज्रयानी बौद्ध धर्मका केही फरक स्वरुप मात्र हुन्। अर्को थेरवादी परम्परा छ, जुन श्रीलंका, थाइल्यान्ड, बर्मा, भियतनामलगायतका देशको अभ्याससँग मिल्छ।

नेपालमा धेरै बौद्ध पर्यटकीय स्थलहरू भए पनि सबै स्थल सबैको चासोमा पर्दैनन् भन्ने बुझनुपर्छ। तिब्बती बौद्धहरूले अत्यन्तै श्रद्धा गर्ने काठमाडौंको खास्ती चैत्य (बौद्ध स्तूप) मा चिनियाँ प्रायः जाँदैनन्। उनीहरू स्वयम्भूलाई पनि एउटा बौद्ध सम्पदाको रूपमा मात्र हेर्छन्।

तिब्बतीहरूका लागि भने स्वयम्भू, फर्पिङ गुम्बा र मारातिका (खोटाङको हलेसी) पनि अति श्रद्धाका बौद्धस्थल हुन्। आफ्ना गुरुसँग सम्बन्धित ठाउँ पुग्न चाहने उनीहरू आचार्य पद्म संभवले मारातिकामा तीन महीना ध्यानसाधना गरेर सिद्धि प्राप्त गरेको विश्वास गर्छन्। काठमाडौं र वरिपरिका बौद्धस्थलहरू महायानी बौद्ध धर्मसँग सम्बन्धित छन्। अर्थात्, थेरवादी मुलुकहरूका बौद्ध पर्यटकलाई नेपालमा आकर्षित गर्ने बौद्धस्थलहरू यहाँ ज्यादै कम छन्। उनीहरूका लागि लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदह आदि महत्वपूर्ण छन्, तर लुम्बिनीबाहेक अरू क्षेत्रमा पर्यटकीय विकास गरिएकै छैन।

हामी चिनियाँ पर्यटकको चर्चा खूब गर्छौं, तर उनीहरूको रुचिमा ध्यान दिंदैनौं। उनीहरू खास्तीलाई तिब्बतीहरूको श्रद्धास्थलका रूपमा लिन्छन् र प्रायः त्यहाँ जाँदैनन्। जापानी, कोरियाली, ताइवानी र मंगोलियन पर्यटकमा पनि यस्तै भिन्नता पाइन्छन्। उनीहरू महायान बौद्ध धर्म नै मान्ने भए पनि संस्कार–संस्कृतिमा फरक छन् भनेर बुझाउने दृष्टान्त हो, यो। थेरवादी बौद्ध परम्परामा गौतम बुद्धको स्थान उच्च छ, तर सबै महायानी बौद्धले यसरी नै मान्छन् भन्ने छैन।

जापानको निचिरेन सम्प्रदाय महायानी हुन् र प्रमुख रूपमा गौतम बुद्धलाई मान्छन्, तर कतिपय जापानी सम्प्रदाय अभिताभ बुद्धलाई प्रमुख मान्छन् र आफ्नै खालको बौद्ध अभ्यास गर्छन्। महायानी मतमा गौतम असंख्य बुद्धमध्येका एक हुन्। धेरैजसो नेपालीमा भने बुद्ध एउटै मात्र हुन् भन्ने बुझ्ाइ पाइन्छ। यस्तो बुझाइ भएका गाइडहरू पर्यटकको अघि लागेर हिंडिरहेका हुन्छन्। उनीहरू काठमाडौंका बहाल, गुम्बालगायतका बौद्धस्थलहरूमा उल्टोपाल्टो कुरा गरिरहेका हुन्छन्।

नेपाली गाइडहरूले यहाँ प्रचलित बौद्ध धर्मको मात्र ज्ञान राखेर पुग्दैन, अन्य देशहरूका अभ्यासहरूबारे पनि ज्ञान राख्नैपर्छ। नत्र, गाइडको व्याख्या पर्यटकलाई अपाच्य पनि हुनसक्छ। जस्तो, नेपाल र भारतमा बुद्धलाई विष्णुको नवौं अवतार भन्दै गलत व्याख्या गरिन्छ।

गाइडहरूले त्यही अपव्याख्या गर्दा बौद्ध पर्यटकहरूले अज्ञानताको रूपमा लिन्छन्, नेपालीहरूलाई बौद्ध धर्मबारे थाहा छैन भन्ने छाप पर्न जान्छ। यसकारण आवश्यक छ– पर्यटन उद्योगका लागि बौद्धस्थलहरूसँगै जनशक्ति विकास पनि।

प्रतिकृया दिनुहोस