डा केसीसँग गरेका सम्झौता तुरुन्तै कार्यान्वयन गरः आयोग
राष्ट्रिय मानवअधिकार आयोगले डा गोविन्द केसीसँग नेपाल सरकारले गरेका सम्पूर्ण सम्झौताहरु तुरुन्तै पूर्णरुपमा कार्यान्वयन गर्न गराउन सरकारसँग आग्रह गरेको छ ।
स्वास्थ्य उपभोक्ता अधिकारको विषयलाई लिएर चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै ११ औं पटक आमरणमा अनशनमा बसेका डा गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न समेत आयोगले सरकारलाई भनेको छ ।
आयोगले स्वास्थ्य, शिक्षा, खाद्द सामग्री लगायत उपभोक्ताका अधिकारको क्षेत्रमा देखिएका असमानता तथा बेथितिका कारण आम उपभोक्ताले खेप्नु परेका समस्याहरुप्रति आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ ।
सरकारले आफूसँग पटक पटक गरेका सम्झौता कार्यान्वयन गर्नुको साटो चिकित्सा शिक्षा क्षेत्रमा झन धेरै बेथिति निम्त्याउन लागेको भन्दै डा केसी चार दिनदेखि आमरण अनशनमा छन् ।
यसैबीच सरकारले डा केसीसँग वार्ताका लागि शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।