रिपोर्टबिहिवार, श्रावण १२, २०७४

दिवाकर चन्द हत्याः अनुसन्धानमै अवरोध

रामेश्वर बोहरा

पाँच वर्षअघि राजधानीमा भएको विश्व हिन्दू महासंघका वरिष्ठ उपाध्यक्ष दिवाकर चन्दको हत्या अनुसन्धान गरिरहेको प्रहरी 'रहस्य फुकाउने' बिन्दुमा पुगेर रोकिएको छ ।

जिल्ला अदालत काठमाडौंले गत २८ असारमा 'रानीबारी हत्याकाण्ड' का अभियुक्तद्वय मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनायो। ठीक १५ वर्षअघि ३१ असार २०५९ मा काठमाडौंको रानीबारीमा भएको इन्जिनियर दम्पती हेमन्त श्रेष्ठ र अञ्जना श्रेष्ठको हत्या प्रकरण करीब १३ वर्षसम्म रहस्यकै गर्भमा हराएको थियो ।

हत्यारा नजिक पुग्न नसकेपछि बन्द भइसकेको अनुसन्धानको फाइल खोलेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्ततः १ चैत २०७२ मा गुरुङ र चौहानलाई पक्राउ गरेर रहस्यको भित्री पाटो बाहिर ल्यायो। कारण अझै खुल्न नसके पनि हत्यामा गुरुङ र चौहानको संलग्नता अदालतबाटै प्रमाणित भएको छ । 

सीआईबीले 'रानीबारी हत्याकाण्ड' को फाइल खोल्दा अर्को चर्चित हत्याको पनि अनुसन्धान गर्ने जिम्मेवारी पाएको थियो। त्यो थियो– पूर्व राजपरिवारका नातेदार र विश्व हिन्दू महासंघका वरिष्ठ उपाध्यक्ष दिवाकर चन्दको हत्या प्रकरण ।

रानीबारी हत्याकाण्डका मुख्य अभियुक्तहरूलाई कानूनको कठघरामा ल्याएर सार्वजनिक प्रशंसा समेत बटुलेको सीआईबी चन्द हत्या प्रकरणमा भने अहिलेसम्म रनभूल्ल छ।

चन्दको शव १७ असोज २०६९ मा ललितपुरको धोबीघाटस्थित डेरामा फेला परेको थियो । शव भेटिंदा हत्या भएको तीन दिन भइसकेको थियो। टेलिफोनको तारले घाँटी कसेर चन्दको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निचोड थियो ।

'सिन' मा माओवादी नेता
ताहाचल, काठमाडौंका स्थायी बासिन्दा ५५ वर्षीय चन्द श्रीमतीसँगको सम्बन्धविच्छेद पश्चात धोबीघाटमा डेरा लिएर बसेका थिए। उनको हत्याको अनुसन्धान गर्न शुरूमा ललितपुर प्रहरी जुटेकोमा केही उपलब्धि हात नलागेपछि महानगरीय प्रहरी अपराध महाशाखा अग्रसर भएको थियो।

महाशाखाले विभिन्न कोणबाट अनुसन्धान गर्‍यो, थुप्रै व्यक्तिसँग बयान लियो र पनि उपलब्धि भएन । त्यसरी वर्षौंदेखि सुल्झ्न नसकेको यो जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पनि सीआईबीले लियो ।

त्यसबेला सीआईबी प्रमुख रहेका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी रानीबारीलगायतका गम्भीर अपराध हेर्ने क्रममा राजधानीभित्रै भएको दिवाकर चन्दको 'हाइप्रोफाइल मर्डर' को रहस्य खोल्नै पर्छ भनेर हात हालेको बताउँछन् ।

उनका अनुसार, चन्द राजा महेन्द्रका भान्जीज्वाइँ र हत्या हुँदा विश्व हिन्दू महासंघको वरिष्ठ उपाध्यक्ष समेत रहेकाले यसका पछाडि कुनै राजनीतिक कारण हुनसक्ने आकलनसहित प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर, न कुनै राजनीतिक उद्देश्यको संकेत पाइयो न त व्यक्तिगत रिसईबीको सुराक ।

त्यसपछि प्रहरीले अनुसन्धान केन्द्रित गर्न बाँकी दुई विषय देख्यो– नेपाल इन्भेष्टमेन्ट ब्यांकमा चन्द परिवारले धितो राखेको जग्गाको विवाद र नुवाकोटमा रहेको चन्द परिवारकै ३५६ रोपनी जग्गा सम्बन्धी विवाद ।

इन्भेष्टमेन्ट ब्यांकमा धितो राखिएको नारायणहिटी दरबारको उत्तर ढोका नजिक (लाजिम्पाट) को जग्गाको विषयमा अनुसन्धान केन्द्रित गरेको प्रहरीले त्यसबाट हत्यासँग जोडिने कुनै आधार भने फेला पार्न सकेन। तर, प्रहरीले नुवाकोटको तत्कालीन थानसिंह गाविस–१ स्थित जग्गाको विवादमा अनुसन्धान केन्द्रित गरेपछि भने चकित पार्ने खालका 'कनेक्सन' हरू देखा परे ।

चन्द, उनकी श्रीमती रजनी चन्द र डा. सूर्यबहादुर खड्काले कृषि फार्म सञ्चालन गर्ने भन्दै लिएको सो जग्गा द्वन्द्वकालमा माओवादीले कब्जा गरेका थिए। अनुसन्धानका क्रममा जग्गा अरू नै व्यक्तिको नाममा दर्ता भएको पनि फेला पर्‍यो । ती व्यक्ति खोज्दै जाँदा पत्ता लाग्यो– उनी एउटा मन्त्रालयमा नायव सुब्बा रहेछन्, जो तत्कालै पक्राउ परे ।

त्यसपछि सीआईबीले करीब एकसय जनासँग गरेको सोधपुछ र लिएको बयानबाट प्राप्त सूचनाहरू निकै उपलब्धिपूर्ण थिए। “ती नासुका पछाडि त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक डाक्टर देखा परे” सीआईबीमा छँदा यो घटनाको अनुसन्धान गरेका (अहिले अन्यत्र सरुवा भइसकेका) एक प्रहरी अधिकृत भन्छन्, “डाक्टरमाथि अनुसन्धान गर्दा माओवादीका एक नेता 'सिन' मा आए ।”

त्यो त्यस्तो 'सिन' थियो, जसबाट चन्द हत्याकाण्डको भित्री पाटो गोचर हुन्थ्यो । तर, त्यसो हुन पाएन। “अनुसन्धानले नयाँ मोड लिने वित्तिकै थेगिनसक्नु दबाब आउन थाल्यो” ती प्रहरी अधिकृत भन्छन्, “त्यसपछि त अनुसन्धानमा खटिएको टीम नै तितरवितर भयो।”

अपराधको 'सिन' मा देखिएका तिनै नेता राजनीतिमा अहिले झन प्रभावशाली बनेको अवस्था हेर्दा अनुसन्धान अगाडि बढ्ने देखिन्न, प्रहरी अधिकृतहरूले अनुसन्धान भइरहेको बताए पनि। सीआईबीकी प्रवक्ता एसपी मीरा चौधरी भन्छिन्, “विभिन्न कोणबाट यो 'केस' को अनुसन्धान भइरहेको छ ।”

'निकै तीक्ष्ण' दिवाकर
पुर्ख्यौली घर बैतडी भएका पूर्व सचिव जंगबहादुर चन्दका छोरा दिवाकर काठमाडौंमै हुर्केका थिए । राजस्थान (भारत) को शाही परिवारकी सदस्य रजनीसँग बिहे गरेका उनका दुई छोरा छन् ।

धनाढ्य परिवारका चन्द बौद्धिक क्रियाकलापमा ज्यादा संलग्न थिए। पञ्चायतकालमा रानी ऐश्वर्याको अध्यक्षतामा गठित सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् (हाल समाज कल्याण परिषद्) को सदस्यसचिव भएर काम गरेका उनी 'निकै तीक्ष्ण' मानिन्थे । उनकै कारण रानी ऐश्वर्या परिषद्‌मार्फत शक्तिशाली बनेको विश्लेषण गरिन्थ्यो ।

चन्द 'मनमौजी' पनि थिए, जुन स्वभाव पारिवारिक जीवनका लागि अभिशाप बन्यो। उनी कतिसम्म मनमौजी थिए भने कति सम्पत्ति बेचे, कति अरूलाई दिए भन्ने समेत थाहा हुँदैनथ्यो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार सम्पत्ति र विवाहेत्तर सम्बन्धका कारण उनको पारिवारिक सम्बन्ध पारपाचुकेमा टुंगियो । त्यही कारणले अनुसन्धानका क्रममा पारिवारिक व्यक्तिहरूबाट खासै सहयोग नपाएको प्रहरी अधिकृतहरू बताउँछन् । उनको हत्या अनुसन्धान नुवाकोटको जग्गा विवादमा पुगेर रोकिएको छ ।

“एक–एक पहलु देखिन लाग्दा 'माथि' को दबाबले अनुसन्धान नै रोकियो” ती प्रहरी अधिकृत भन्छन्, “फेरि अनुसन्धान अगाडि बढाउन सहज देखिंदैन, त्यसबेला देखिएका 'कनेक्सन' हरू पनि टुट्ने खतरा छ ।”

प्रतिकृया दिनुहोस