पानी पर्दा बन्द हुने मुसिकोटको विद्यालय
रुकुमको मुसिकोट नगरपालिका–२ स्थित महाकाली माध्यमिक विद्यालयका विद्यार्थीहरु पानी परेका बेला पढ्न पाउँदैनन् ।
भूकम्पले कमजोर बनाएको विद्यालय भवनलाई खेल मैदान निमार्ण गर्दा भत्केको पार्खलले थप क्षतिग्रस्त बनाएपछि अहिले उनीहरुको कक्षा खुला चौरमा सञ्चालन हुन्छ ।
१० कक्षासम्म पढाइ हुने यो विद्यालय भवनका पाँचवटा कोठामा मात्रै अहिले प्रयोगमा छन् । त्यसैले पानी प¥यो भने विद्यार्थीहरु ओत खोज्दै अन्त जानुपर्ने र विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउने व्यवस्थापन समितिकी अध्यक्ष सीता विक बताउँछिन् ।
विद्यालयमा थप १४ वटा कक्षा कोठाको आवश्यकता रहेको प्रधानाध्यपक लोक बहादुर खड्काले बताए । “पानी अली धेरैबेर प¥यो भने विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ,” खडकाले भने ।
जिल्ला शिक्षा कार्यालयसँग पटक पटक भवन निर्माणका लागि आग्रह गर्दा पनि सुनुवाई नभएको एक अभिभावक रमेश खड्का बताउँछन् ।
हाल ३१५ जना विद्यार्थी अध्ययन्रत यस विद्यालयमा कम्प्युटर ल्याब, पुस्तकालय र ई–पुस्तकालय सुरक्षित मानिएका कोठामा सञ्चालित छन् ।
५ जना शिक्षकको स्थायी दरबन्दी रहेको विद्यालयमा थप ७ जना शिक्षक निजी स्रोत बाट राखिएको छ ।
लक्ष्मण केसी, रुकुम