भरतपुर मतगणना मुद्दाको सुनुवाई अझै सकिएन
चितवनको भरतपुर महानगरपालिका, १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज पनि फैसला आउन सकेन ।
उक्त मुद्दामा दुवै पक्षका वकिलहरुको बहस सकिएपछि आजबाट फेरि प्रतिरक्षा बहस शुरु भएको हो । आज प्रतिवादी पक्षका वकिलहरुले बहस गरिरहेको र आइतबार बादी पक्षका वकिलहरुले प्रतिरक्षा बहस गरेपछि मात्रै बहसको टुंगो लाग्ने सर्वोच्चका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।
उक्त मुद्दामा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलासले सुनुवाई गरिरहेको छ ।
चितवनको भरतपुर महानगरपालिकामा १९ नम्बर वडाको मतगणना अन्तिम अवस्थामा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले उक्त वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।
आयोगको निर्णयका विरुद्ध एमालेबाट उक्त वडाको वडाध्यक्षका उम्मेदवार गुञ्जमान विकले रिट दायर गरेका थिए ।