रिपोर्टबिहिवार, श्रावण १२, २०७४

साबुनको काम गर्ने नारू

जीवनप्रसाद राई

ठूल्ठूला परियोजनाका चर्चामा साना लाग्ने पहलले देशलाई दिगो विकास दिने सम्भावना बढी हुन्छ ।

कर्णाली क्षेत्रमा पाइने नारु । तस्वीरः जीवनप्रसाद राई

पूरा देशको मुहार फेर्न सक्ने सम्भावना बोकेर बसेको कर्णालीलाई काठमाडौंले जहिल्यै दुर्गम देख्यो र आफैं टाढा भइरह्यो । यो युगीन गुनासाका बीच अब संघीय प्रणालीको पूर्ण कार्यान्वयनपछि मुलुकको कुल भूभागको १५ प्रतिशत ओगटेको यो क्षेत्रले कसरी कोल्टे फेर्छ, हेर्न बाँकी छ । बानी पारिएको/परेको आशामुखी प्रवृत्ति नछाड्ने र आफूभित्रको क्षमताको भेउ नपाउने हो भने कर्णाली फेरि पनि पछि नै पर्ने कुरा अहिल्यै भन्न सकिन्छ । 

कर्णालीले दिगो समृद्धि भित्र्याउन बाहिरी स्रोतसँगै आफूभित्र निहित क्षमता परिचालनमा ध्यान दिनुपर्छ। आफ्नो क्षमता परिचालनका लागि केन्द्रमा रहेका असल योजनाविद्हरूको साथ/सहयोग कर्णालीले पाउँछ नै। कर्णाली नामको नेपालको यो हीरामा राम्रो कामको थालनी हुनासाथ त्यता हेर्ने र फर्कने तँछाडमछाड पनि शुरू हुनेछ ।

प्रसिद्ध दार्शनिक कार्ल मार्क्सको 'प्रकृतिले मानव समाजलाई न्यायपूर्ण रूपमा प्राकृतिक स्रोतसाधन वितरण गरेको हुन्छ' भन्ने भनाइ कर्णालीको हकमा पनि सान्दर्भिक छ, तर कर्णालीको जलस्रोत, वन पैदावार र पर्यटनको त के कुरा रैथाने बालीनाली र बहुमूल्य वनस्पतिहरूको क्षेत्रमा समेत कामै भएको छैन, एउटा स्याउ बाहेक । यस्ता सयौं संभावनामध्ये यो आलेखमा एउटा वनस्पति नारुको चर्चा गरिन्छ, जुन साबुनको आविष्कार हुनुअघिदेखि नै कर्णालीले प्रयोग गर्दै आएको छ । अहिले पनि कर्णालीका केही ठाउँमा साबुनको काम नारुले नै गर्दै आएको छ ।

साबुनको प्रयोग व्यापक बन्दै जाँदा कर्णालीमा नारुको संरक्षण भने भएको छ । रेडिमेड साबुन हवाईजहाजबाट अञ्चल सदरमुकाम रहेको जुम्लाको खलंगा र त्यहाँबाट मानिसको पिठ्यूँ र खच्चडमा सवार भएर गाउँगाउँ पुग्न थालेपछि नारुको वन जोगिएको छ, संरक्षणै नगरी। सारा कर्णाली केन्द्रले दिने विकास बजेटमा केन्द्रित रहँदा दिगो आर्थिक सम्भावना बोकेको यो वनस्पतिको सदुपयोग गर्ने सोच भने हराएको छ– स्थानीय समाज, निकाय सबैमा ।

नारुको पात र जराबाट गुणस्तरीय साबुन बन्छ। यसबाट सौन्दर्य प्रशाधनका अरू के–के 'प्रडक्ट' उत्पादन गर्न सकिन्छ, अनुसन्धान आवश्यक छ। उत्सुकताका साथ नयाँ नेपालको अवधारणा कार्यान्वयनको चरणमा रहेका कर्णालीवासीले नारुको व्यावसायिक उत्पादन र 'ब्राण्डिङ' बारे सोच्न जरूरी छ । यसको अर्थ, कर्णालीवासीले बाहिरबाट आउने राम्रो साबुन प्रयोग गर्नुहुँदैन भन्ने होइन, स्वदेशी–विदेशी बजारलाई गुणस्तरीय साबुन र सौन्दर्य प्रशाधन दिनुपर्छ भन्ने हो ।

नारुबारे कुनै अध्ययन–अनुसन्धान र उपयोग नभएको अवस्थामा यसको व्यावसायिक खेती कल्पनाभन्दा परको कुरा हुन पुगेको छ। जंगली अवस्थामै पनि गज्जबले हुर्कने यो वनस्पति त्यसै खेर गइरहेको छ । यो पंक्तिकारले हुम्लाका स्थानीयहरूले यसलाई साबुनको विकल्प बनाएको पायो, तर त्यसप्रतिको धारणा नकारात्मक छ– बजारे साबुन किन्न नसक्नेले नारु घोटेको भन्नेे । साबुन आउनुअघि सबै नेपालीले आफ्ना डाँडापाखाका प्राकृतिक विकल्प प्रयोग गर्थे । त्यसमध्येको एक हो– रिट्ठो। भारतका साबुन उद्योगहरूले रिट्ठो किनिदिन थालेपछि हामीले रिट्ठो बेचेर साबुन किन्ने सजिलो 'चलन' बसाएका हौं । अहिले सबभन्दा बढी रिट्ठो राप्ती क्षेत्रबाट निकासी भइरहेको छ ।

नयाँ नेपालमा पुरानो 'चलन' त्यागेर साना लाग्ने रिट्ठो वा नारु जस्ता वनस्पतिमा ध्यान दिंदा त्यसले ठूलो परिणाम दिनेछ। रिट्ठो भारतमा पनि हुन्छ, तर त्यहाँका उद्योगहरूलाई पुग्दैन । त्यसबाहेक नेपालमा सस्तैमा पाइन्छ। कर्णालीको रैथाने नारु पनि प्रशस्त भए भारत जान्थ्यो होला र हामी त्यसबाट बन्ने उच्चकोटिको साबुन महँगोमा किनिरहेका हुन्थ्यौं होला। तर, अब त्यो चलन छाडेर उद्यमशील र आत्मनिर्भर हुनुपर्छ। त्यसका लागि विशाल बजेट पनि चाहिंदैन । शुरूमा स्थानीयलाई तालीम, स–सानो पूँजी र प्रविधि दिएर हेर्दा हुन्छ। केन्द्र र प्रदेश सरकारले आवश्यकता अनुसार बजार व्यवस्थापन गरिदिनुपर्छ, बाँकी सबै काम पौरखी स्थानीयहरूले गर्छन् ।

रिट्ठो मधेश, भित्री मधेश र पहाडका बेंसीमा हुन्छ भने नारुको व्यावसायिक खेती नेपालको उच्च पहाडभर विस्तार गर्न सकिन्छ। सानो लाग्ने नारुको कुरा स्थानीय तहदेखि प्रान्तीय र संघीयसम्मका राज्य चलाउन तयार परिरहेका सबैका लागि महत्वपूर्ण छ । स्थानीय र प्रदेश तहबाट सजिलै गर्न सकिने यस्तो पहल रोजगारी, उद्यमशीलता र समृद्धिसँग जोडिएको छ। यसमा श्रम, प्रविधि प्रयोग र बजार क्रमशः बढाउँदै लगेर दिगो रोजगारी तथा उद्यमशीलता बढाउन सकिन्छ ।

यसमा सरकारको तर्फबाट शुरू पहल भए निजी क्षेत्र आकर्षित हुन धेरै समय लाग्दैन। सरकारले अनुसन्धानको काम गरेर निजी क्षेत्रलाई व्यावसायिक उत्पादनमा आऊ भन्न पनि सक्छ। संघीय राज्य प्रणालीमा स्थानीय क्षमता र वस्तुहरू अग्रपंक्तिमा आउने कुरा छँदैछ, तर नयाँ राज्य व्यवस्था संचालकहरूले पुराना मानसिकता नत्यागे नारुहरू झारकै रूपमा सडिरहने छन् ।

प्रतिकृया दिनुहोस