नीतीश फेरि बिहारको मुख्यमन्त्री
पदबाट राजीनामा दिएको भोलिपल्टै नीतीशकुमार भारतको बिहार राज्यका मुख्यमन्त्री बनेका छन् ।
केन्द्रमा सत्तासिन भारतीय जनता पार्टीको सहयोगमा उनी बिहारको २२ औं मुख्यमन्त्री बनेका हुन् ।
नीतीशसँगै भारतीय जनता पार्टी, बिहारका नेता सुशील कुमार मोदीले उपमुख्यमन्त्री पदको शपथग्रहण गरेका छन् ।
यसअघि पनि पाँच पटक मुख्यमन्त्री रहेका नीतीशकुमारले ११ साउनमा मात्रै ‘अवस्था आफू अनुकुल नभएको’ भन्दै पदबाट राजीनामा गरेका थिए ।
बिहारमा सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनता दलका नेता लालूप्रसाद यादवका छोरा एवम् उपमुख्यमन्त्री तेजस्वी यादवलाई भ्रष्टाचारको आरोपमा सीबीआईले कार्वाही अगाडि बढाएपछि विवाद बढेको थियो ।
अहिले नीतीशको जनता दल युनाइटेडले कांग्रेस र राष्ट्रिय जनता दलसँगको गठबन्धनबाट अलग भई भाजपाको सहयोगमा पुनः सरकार बनाएको हो । आरजेडी र कांग्रेसले नीतीशको व्यवहारलाई ‘धोखा’ भनेका छन् ।
६६ वर्षीय नीतीशकुमार बिहारको कलेज अफ इन्जिनियरिंगबाट पढाई सकेर सन् १९८५ देखि राजनीतिमा सक्रिय भएका हुन् ।