व्यक्तित्वबिहिवार, श्रावण १२, २०७४

पूर्वीय दर्शनका मनीषी

सन्त गाहा मगर

२३ असारमा काठमाडौंमा निधन भएका डा. स्वामी रामानन्द गिरीको २४ असार गुरुपूर्णिमाका दिन चितवनस्थित नारायणी नदीमा जलसमाधि गरियो । सन्त परम्परामा जलसमाधिलाई उच्च सम्मान मानिन्छ। उनका गुरु महामण्डलेश्वर स्वामी महेशानन्दलाई पनि जलसमाधि गरिएको थियो । 

डा. स्वामी रामानन्द गिरी 

(१० भदौ २००३―२३ असार २०७४)

पूर्वीय दर्शन, साहित्य र गुरुकुल शिक्षाका लागि जीवनपर्यन्त सक्रिय गिरीले २०४९ सालमा देवघाटमा महेश संस्कृत विद्यापीठ खोलेर ज्ञानको ज्योति छर्ने अभियान थालेका थिए । गुरुकुल शिक्षण पद्धतिको यो विद्यापीठमा कक्षा ६ देखि आचार्य (स्नातकोत्तर) तहसम्मको पढाइ हुन्छ । यहाँ अध्ययनरत २५० विद्यार्थीलाई निःशुल्क खाने, बस्ने र पढ्ने सुविधा छ। करीब ६० रोपनीमा फैलिएको विद्यापीठमा विद्यालय र क्याम्पस मात्रै होइन, साधुसन्त, कर्मचारी, शिक्षकका लागि बेग्लाबेग्लै आवासका साथै अतिथिगृह, सभाहल, मन्दिर, खेलमैदान र पुस्तकालयको व्यवस्था छ ।

डा. गिरीका सहपाठी राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराई शिक्षाको चेतना विना जीवन अपूरो हुन्छ भन्ने मान्यता राख्ने गिरीले त्यसलाई व्यवहारमै सार्थक तुल्याएको बताउँछन्। २०२५ सालताका काठमाडौंमा सँगसँगै शास्त्री पढेका भट्टराई गिरीले गृहस्थी त्यागेर अन्तिम समयसम्मै अध्ययनलाई निरन्तरता दिएको बताउँदै भन्छन्, “आफूले सिकेको ज्ञान युवा पुस्तालाई हस्तान्तरण गर्न उहाँले कुनै कसर बाँकी राख्नु भएन ।”

सुवेदी परिवारमा धादिङको केवलपुरमा १० भदौ २००३ मा जन्मेका गिरीले उत्तरमध्यमासम्मको अध्ययन भारतको बनारसमा गरेका थिए। शास्त्री र आचार्य भने तीनधारा संस्कृत पाठशालामा बसेर वाल्मीकि विद्यापीठबाट उत्तीर्ण गरे । २०४१ सालमा 'राजर्षिजनक विदेह सिद्धान्तको समीक्षात्मक अध्ययन' विषयमा विद्यावारिधि गरेपछि उनको नाममा डा. थपियो । निरञ्जन पीठाधीश महामण्डलेश्वर स्वामी महेशानन्दबाट सन्न्यास ग्रहण गरेर स्वामी बन्दा उनी ४५ वर्षका थिए ।

अद्वैत वेदान्त दर्शनका ज्ञाता डा. गिरीको प्रवचन, आचरण र व्यवहारमा तादात्म्य थियो। जे बोल्थे, त्यही गर्थे। गिरीका श्रीमद्भागवत महापुराणको नेपाली व्याख्या, जनकदर्शन, रामगीता, वेदस्तुति, देवीगीता, माण्डूक्योपनिषद् कारिका, शिव महिम्न स्तोत्र, श्रीदक्षिणामूर्तिस्तोत्रम्, उपनिषद्लगायत २० भन्दा बढी पुस्तक प्रकाशित छन्। जसमध्ये आठ खण्डमा प्रकाशित श्रीमद्भागवत महापुराणको नेपाली व्याख्या चर्चित मानिन्छ। उनी जीवनभर संस्कृत भाषाको अध्ययन, अध्यापनमा लागिरहे। नेपालमा संस्कृत शिक्षालाई अहिलेको अवस्थासम्म ल्याउन गिरीको महत्वपूर्ण भूमिका रहेको जानकारहरू बताउँछन् ।

गिरीले नेपाली मात्र होइन संस्कृत, अंग्रेजी, हिन्दी भाषामा पनि धाराप्रवाह प्रवचन दिने गरेको पूर्वसचिव भट्टराई बताउँछन्। “उहाँको निधनबाट हामीले राष्ट्रवाद र पूर्वीय दर्शनका असली विद्वान गुमाएका छौं”, भट्टराई भन्छन् ।

देवघाट मात्रै होइन गिरीले काठमाडौं, पोखरा, तनहुँ, बनेपा, झापालगायत देशका विभिन्न भागमा स्थापना गरेका गुरुकुल अहिले पनि सञ्चालनमा छन्। उनको संरक्षकत्वमा सञ्चालित संस्था ५० भन्दा बढी छन् । शिक्षाविद् डा. विद्यानाथ कोइरालाका भनाइमा, गिरीले पश्चिमी ज्ञान भन्दा पूर्वीय ज्ञान कुनै पनि हिसाबले कम छैन भन्ने प्रमाणित गरे। “पूर्वीय ज्ञानलाई प्रतिस्पर्धी र विश्वस्तरीय बनाउनमा उहाँको ठूलो योगदान छ”, डा. कोइराला भन्छन् ।

सानै छँदा आमाबाबु गुमाएका गिरी जीवनको अन्त्यसम्म शिक्षाको ज्योति छर्न अहोरात्र खटिरहे । कास्कीको पुरनचौरमा प्रवचनको क्रममा स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएका उनको पशुपतिस्थित शंकराचार्य मठमा निधन भयो ।

शिक्षाविद् डा. कोइराला पश्चिमी सभ्यताको दबदबा रहेका बेला पूर्वीय दर्शनका व्याख्याता गिरीको निधनले अपूरणीय क्षति पुर्‍याएको बताउँछन् । उनी मौलिक सभ्यतालाई विश्वसामु गर्व गर्न लायक बनाउन महत्वपूर्ण योगदान दिएका गिरीको अभियानलाई निरन्तरता दिन राज्यस्तरबाटै सोच्नुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्, “पूर्वीय दर्शनका बेजोड व्याख्याता तथा शिक्षा क्षेत्रका विराट हस्तीको जीवनबाट सिक्नुपर्ने धेरै कुरा छन् ।”

प्रतिकृया दिनुहोस