टिप्पणीबिहिवार, श्रावण १२, २०७४

राजनीतिमा उत्तराधिकारः सन्तानलाई रोजगारी

प्रा. चैतन्य मिश्र

बीपी कोइराला या जवाहरलाल नेहरू एउटा ऐतिहासिक परिस्थितिका उपज थिए, जसलाई उनीहरूको 'उत्तराधिकारी' हरूसँग तुलना गर्न मिल्दैन ।

जवाहरलाल नेहरु (बायाँ) का साथ बीपी कोइराला ।

पहिले अवसर सीमित थिए। छोराछोरीहरू पनि बाबुआमाका जिजीविषा पछ्याउन बाध्य हुन्थे । आज संसार फैलिइसकेकाले गाउँघरमै बसेर खेतबारीमा काम गरिरहनु परेन। गाउँबाट शहर र अझ् त्यसभन्दा पर विदेशै गए पनि भयो ।

विश्वव्यापीकरणको प्रभावबाट हामी मात्र अछुतो रहने कुरा भएन। संसार यसरी फैलिएको र पेशाहरूको यतिविघ्न छनोटका बीच किन पुर्ख्यौली पेशामै रहने भन्ने भयो । 

इतिहासको एउटा चरणमा एउटै पेशा धेरै पुस्तासम्म निरन्तर चल्यो। त्यही प्रक्रियाबाट जातहरू बनेका हुन्। अहिले परिस्थिति त्यस्तो रहेन । सन्तानलाई आफ्नै पेशा अपनाउन बाध्य पार्नु भनेको आफ्नै प्रतिमूर्ति खडा गर्न खोज्नुसरह हो ।

अवसर र सम्पन्नताको दृष्टिले उँचाइमा पुगेको परिवारहरूमा चाहिं आफ्नै प्रतिमूर्ति स्थापित गर्ने चाहना देखिन्छ ।

बरू, किसानहरू आफ्ना सन्ततिले कठोर कर्मबाट मुक्ति पाओस्, पढोस्–लेखोस् र राम्रो ठाउँमा पुगोस् भनेर सोच्छन्। राजनीतिको सन्दर्भमा चाहिं त्यो गरिखाने बाटो पनि हो । कुनै नेताले छोराछोरीलाई सांसद्, मेयर बनाउन चाहन्छ भने उसले सन्तानका लागि गरिखाने बाटो खोजिदिएको हो। यो राजनीति भन्दा रोजगारीको कुरा हो ।

नेपालले वंश परम्परामा आधारित राजतन्त्रको लामो यात्रा गर्‍यो। आज लोकतन्त्रमा पनि वंश परम्परा हावी हुन खोजेको देखिन्छ । वंश भनेको मूलतः सम्पत्ति र सुविधाको निरन्तरता हो । आफ्ना छोराछोरी सुविधायुक्त जीवन बाचुन् भन्ने उद्देश्यद्वारा नै यो निर्देशित रहन्छ ।

यसलाई अझ राम्ररी बुझन नेपाल बाहिरको परिवर्तनतिर हेर्न सकिन्छ। पश्चिमा मुलुकहरू लोककल्याणकारी राज्य (वेयलफेर स्टेट) मा रूपान्तरित हुन थालेपछि त्यहाँ वंश परम्परा स्वाट्टै घट्यो। लोककल्याणकारी राज्यका कारण बूढा बाबुआमा छोराछोरीको आश्रयमा बसिरहनु परेन ।

त्यहाँ बाबुआमा र छोराछोरीका छुट्टाछुट्टै किसिमले आयस्रोत निर्माण भइरहेको छ। त्यसबाट छोराछोरी र बाबुआमाबीचको दूरी पनि बढ्दैछ। यता हामी भने छोराछोरीलाई माया गर्ने नाममा यसरी अँगालो हालिदिन्छौं, उनीहरूको पखेटा कहिल्यै फिंजिन सक्दैन ।

राजनीतिमा वंशको कुरा गर्दा नेताको छोराले नै 'मेरिट' राख्न सक्छ भन्ने कुरा अब जनतालाई नपच्न सक्छ । हाम्रो राजामहाराजाको प्रशस्तिमै पृथ्वीनारायण शाहको वंशज भनेर लेखिएको हुन्थ्यो । तर, त्यसले राजतन्त्र थामेन। लोकतन्त्रमा त नेतृत्व परिवर्तन नभई वैधता हुँदैन।

वंश भनिंदा परिवर्तन नहुने साँघुरो परम्परा भन्ने बुझाउँछ– एकपटक स्थापित भएको एउटा कुलबाट उत्तराधिकारी छानिइरहने । हिजो त्यस्तो हुन्थ्यो, किनकि मानिसहरू आलोचना या विरोध गर्न सक्दैनथे । तर, आज नेपालका कुनै पनि आत्मसम्मानयुक्त नागरिकले म वा मेरो सन्तति यो मुलुकको मुख्य कार्यकारी किन नहुने भनेर सोच्न सक्छ ।

हिजो दासप्रथामा पारिएकाहरूले आफ्नो मुक्तिबारे सोच्न पनि सकेनन् । यस्तो सोच मात्र राख्दा पनि बागी मानिन्थ्यो । हाम्रै देशका दलितका एउटा पुस्ता आफैं छोइन चाहँदैनथे । त्यसो गरे पाप लाग्छ भन्ने उनीहरूको मान्यता हुन्थ्यो। यस्तो मानसिकतालाई त्यही समुदायका नयाँ पुस्ताले चुनौती दिए। समयको बदलाव भनेको यही हो ।

जहाँसम्म बीपी कोइरालाको कुरा छ, उनी एउटा ऐतिहासिक परिस्थितिका उपज थिए। उनी औपनिवेशिकता विरुद्धको आन्दोलन, भारतको स्वतन्त्रता संग्राम र नेपालमा राणाशाही विरुद्ध उभिएका थिए।

औपनिवेशिकताको अन्त्य नेपालको राष्ट्रिय मुद्दा नभएर त्यसबेलाको वैश्विक आन्दोलन थियो। अंग्रेजलगायतका औपनिवेशिक शक्तिहरूलाई बीपी र उनका साथीहरू 'अब तिमीहरू हामीमाथि शासन गर्न सक्दैनौ' भनेर चुनौती दिइरहेका थिए। त्यो कुनै देशविशेषको स्वतन्त्रताको कुरा मात्र थिएन, संसारै हल्लाउने विषय थियो ।

उपनिवेशकालमा चार–पाँच शक्तिले संसारको भागबण्डा गरेका थिए। उपनिवेशको अन्त्यसँगै त्यो प्रभुत्ववाद सकियो । बीपी, जवाहरलाल नेहरु त्यही ऐतिहासिक मन्थनका उपज थिए। उनीहरूलाई उनैका उत्तराधिकारीहरूसँग तुलना गरिनु युक्तिसंगत हुँदैन। ती बेग्लै जीव थिए, यी 'उत्तराधिकारी' वेग्लै जीव हुन् ।
कुराकानीमा आधारित

सम्बन्धित समाचार:  राजनीतिमा चल्दैन वंशवाद,  सानोबुबादेखि बुबासम्म

प्रतिकृया दिनुहोस