कांग्रेसले भन्यो, ‘उम्मेदवारी चयनमा ढिलाई र अन्तरघातले गर्दा अपेक्षित परिणाम आएन’
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनमा अनपेक्षित परिणाम आएको जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा ९ साउनमा सम्पन्ने बैठकले स्थानीय तह निर्वाचनमा आशा गरे अनुसारको परिणाम आउन नसक्नुको कारण– उम्मेदवारी चयनमा ढिलाई, असन्तुष्टि व्यवस्थापन गर्न नसक्नु र अन्तरघातलाई ठहर गरेको छ ।
यद्यपि बैठकले सबैको जितलाई उच्च सम्मान दिंदै मतदाताले नेपाली कांग्रेसलाई दिएको मतप्रति हार्दिक आभार प्रकट गरेको छ । पार्टीबाट भएका कमी कमजोरी सच्याउने र अन्तरघात गर्ने पार्टी सदस्यहरुलाई कारवाहीका लागि आन्तरिक प्रकृया प्रारम्भ गर्ने पनि कांग्रेसले निर्णय गरेको छ ।
त्यसैगरी व्यवस्थापिका–संसदमा विचाराधीन रहेको नेपालको संविधान संशोधन विधेयक पूर्व सहमति अनुरुप पेश गरी पारित गर्न आफू तयार रहेको भन्दै कांग्रेसले उक्त विधेयक पारित गरी संविधानको स्वीकार्यता विस्तार गर्न नेकपा एमाले लगायत सबै राजनीतिक दलहरुलाई अपील समेत गरेको छ ।
त्यस्तै प्रदेश २ को स्थानीय तह निर्वाचनमा कांग्रेसलाई अग्रता दिलाउन पार्टीका सबै निकाय, भ्रातृ संस्था, शुभेच्छुक संस्था सहित पार्टीका सबै सदस्यहरुलाई परिचालन गर्ने पनि कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।
बैठकले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिंदै उनलाई
प्रधानमन्त्रीमा निर्वाचित गर्न सहयोग गर्ने सबै राजनीतिक दलहरुप्रति धन्यवाद व्यक्त गरेको छ ।