दुर्घटनामा दुई तीर्थयात्रीको मृत्यु
पर्साको सखुवाप्रसौनी गाउँपालिकामा भएको दुर्घटनामा दुई जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।
८ साउन राती बोलबम तीर्थयात्री चढेको ना. ५ त. ३६३० नम्बरको ट्रयाक्टर सखुवाप्रसौनी गाउँपालिका–५ बलुवा र देवारवानाको बीचमा दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।
दुर्घटनामा भारतको मोतिहारी जिल्लाको रक्सौल थानास्थित पटनटोका ग्राम पञ्चायतका ५० वर्षीय महेन्द्र पासवान र ९ वर्षीया पूजा कुमारीको मृत्यु भएको छ । दुबै जनाको नारायणी उपक्षेत्रिय अस्पताल, वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको नारायणी उपक्षेत्रिय अस्पतालले जनाएको छ ।
दुर्घटनामा पर्साको सिमावर्ती गाउँ पटनटोकाकै सोभादेवी राम, राधिकादेवि पासवान, सन्तोष राम, बिटुकुमार साह, सुमित्रा राम र ट्रयाक्टर चालक बुनिलाल राम घाइते भएका हुन् । शोभाको खुट्टा भाँचिएको छ भने अन्य घाइतेहरु उपचारपछि घर फर्किएका छन् ।
पर्साको दुग्धेश्वर महादेव मन्दिरमा लाग्ने सोमबारे भाथा मेलामा जल चढाउने जादै गर्दा दुर्घटना भएको हो । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको ईलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतले बताए ।
-सुरेश विडारी, वीरगञ्ज