भरतपुर मतगणना विवाद बारेको मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दाको आज पनि छिनोफानो हुन सकेन ।
न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा परेको मुद्दाको आज बहस नसकिएपछि 'हेर्दाहेर्दै' मा परेको हो । अब मुद्दाको सुनुवाई भोलि पनि हुनेछ ।
यसअघि २ साउनमा पनि हेर्दाहेर्दैमा रहेको मुद्दा न्यायाधीश भण्डारीको विदेश भ्रमणपछि आजका लागि पेशी तोकिएको थियो।
१३ असारमा मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि १९ नम्बर वडाको पुन:मतदान गराउने आयोगले निर्णय गरेको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा उक्त वडामा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार गुञ्जमान विकले रिट दायर गरेका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले च्यातिएका मतपत्र समेत सर्वोच्चमा पेस गरिसकेको छ ।
भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो।