युवाहरुद्वारा मुगुको दलितवस्तीमा सौर्य बत्ती वितरण
मुगुको छायानाथ रारा नगरपालिका–८ चुगागाउँको दलित समुदायको वस्तीमा बत्तीका लागि सौर्य उर्जा प्रणाली वितरण गरिएको छ ।
रोजगारी र अध्ययनका क्रममा विदेशमा रहँदै आएका युवाहरुको सहयोगमा ‘युथ फर बेटर नेपाल’ ले ३० थान सोलार प्यानल निःशुल्क वितरण गरेको हो ।
महङगो मूल्यमा मट्टीतेल किनेर टुकी बाल्दै आएकाहरु सोलार पाएपछि खुशी भएको स्थानीय रतन विकले बताए ।
गाउँमा मट्टितेल सहज रुपमा नपाईने र यातायात पनि सहज नभएकोले सोलार वितरण पछि बालबालिको लागि पढाईमा सहजता आउने विकले बताए ।
प्रत्येक परिवरले तिनवटा बत्ती बाल्न मिल्ने ब्याट्री सहितको सोलार प्यानल प्राप्त गरेका छन् ।
आगामी दिनहरुमा पनि अन्य ठाउँमा रहेका दलित समुदायलाई यस्तै सोलर प्यानल वितरण गरिने युथ फर बेटर नेपालका अध्यक्ष सुमन बिष्टले बताए ।
उक्त प्यानलबाट बत्ती बाल्नुका साथै मोबाइल फोनजस्ता सामान्य उपकरण चार्ज गर्न सहज हुनेछ ।
संस्थाले यसअघि रुकुमको एक विद्यालयमा कम्प्यूटर ल्याव निमार्ण गरेको छ ।