ब्लगआइतवार, श्रावण ८, २०७४

सगरमाथाको भागबण्डा

कनक दीक्षित

सर्वोच्च शिखरको सीमांकन सम्झौता झण्डै ६० वर्षअघि भएको हो– आधा आधी गरी ।

कतारका राजदूतले ४ साउनमा सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको तस्वीरभित्र भित्तामा अर्को ठूलो तस्वीर देखिन्छ, सगरमाथाको (अर्थात् चोमोलोङ्मा या एभरेष्ट) । त्यो नेपालपट्टिको नभई सगरमाथाको उत्तरी मोहडा (अर्थात् तिब्बत–चीन भू–भागमा पर्ने) को तस्वीर थियो ।

सरकारप्रमुखको अफिसमा यतातर्फको तस्वीर नभएर उतापट्टिको टाँगेकोमा उदेक त लाग्ने नै भयो, तर त्यस ‘एपिसोड’ ले हामीलाई यो कुरा फेरि पनि बुझायो कि (‘लुम्बिनी’ जस्तै) सगरमाथा र हिमालयबारे हामी गर्व गर्ने मात्र रहेछौं– भूगोल, इतिहास र ‘करेन्ट अफेर्स’ पूर्वज पुस्ताहरूभन्दा कम चासो र थाहा रहेछ ।

त्यो तस्वीरको हकमा प्रधानमन्त्री देउवा स्वयं, उनका कार्यालयका अधिकारी र त्यहाँ पुग्ने जो–कोही सचिव, डीजी, व्यवसायी र नेता–कार्यकर्तालाई कतापट्टिको सगरमाथा हाम्रो, कतापट्टिको चीनको भन्ने ज्ञान र पर्वाह पनि नभएको बुझ्नु पर्‍यो । नत्र त कुरा उठिहाल्थ्यो होला नि, यो किन यहाँ राखेको ! यसले आफ्नो भूगोलको सामान्य ज्ञानबारे वर्तमान खडेरीको संकेत गर्नुका साथसाथै ‘सगरमाथा–राष्ट्रियता’ कति कमजोर जगमा उभिएको रहेछ भन्ने दर्शाउँछ ।

वास्तवमा त्यो राष्ट्रियता असली हो जो भूगोल र इतिहासको राम्रो जानकारीमा अडेको हुन्छ । ‘नेपाल सगरमाथाको देश’ भन्न नमिल्ने होइन, तर यति त बुझ्नुपर्‍यो कि यो हिमचुचुरो पूरै नेपाली भागमा पर्दैन ।

प्रम कार्यालयको तस्वीरको चर्चा उठेपछि सामाजिक सञ्जालमा जुन आश्चर्यचकित प्रतिक्रिया आयो, त्यसले पनि बतायो कि स्कूल कक्षादेखि नै सामान्य ज्ञान र भूगोलको पढाइ कमजोर रहेछ । सगरमाथा पूरै नेपालमा पर्छ भन्ने धेरैमा धेरैको बुझाइ रहेछ । कसैले सामाजिक सञ्जालमा ठोकुवाका साथ लेखे कि पूरै चुचुरो नेपालमा पर्दछ किनकि पाठ्यपुस्तकमा पढेका थिए, या सबै यसै भन्छन् । कसैको बुझाइ देखियो– ‘फेद चीनको पनि पर्छ, टुप्पो पूरै नेपालको ।’ यतिका दशक उत्तरतर्फबाट सगरमाथा आरोहण गरिएकोमा त्यो नेपालैबाट भएको कतिको बुझाइ रहेछ ।

केहीको भनाइमा त सगरमाथा आधी मात्र नेपालको हो भन्ने विषय उठाइनु नै गलत । अर्थात्, सगरमाथाको केही अंश तिब्बत/चीनमा छ भन्नु नै नेपाली राष्ट्रभावनाप्रति अन्तर्घात ।

जान्न जरुरी छ, पूर्वी नेपालको भोट/चीनसँगको निर्धारित उत्तरी सिमाना भनेको हिमशृंखलाको पानीढलो (‘वाटरशेड’) हो । यसरी, कञ्चनजङ्घादेखि मकालु, ल्होत्से र सगरमाथाहुँदै चोओयू, गौरीशंकर (छिरिङ्मा), जुगल, लाङटाङसम्मका हिमशृंखलाको सबभन्दा उच्चतम धारले दुई मुलुकको सीमा जनाउँछ । लाङटाङबाट त्रिशूली नदी पारिको गणेश हिमाल आधाआधी कटेपछि हिमशृंखला सिमानाको रुपमा नरही नेपाल पस्दछ । त्यसभन्दा पश्चिमका हिमालहरू (मनास्लु, अन्नपूर्ण, धौलागिरि इत्यादि) पूरै नेपालभित्र पर्दछन् ।

सगरमाथाको सन्दर्भमा, सन् १९६० मा बीपी कोइरालाले माओत्सेतुङ र चाउएनलाईसँगको भेटमा सीमा सुनिश्चित गर्ने कुरा थालेका हुन् । बीपीले त्यसबेला पूरै सगरमाथामाथि दाबी पनि गरेको बुझिन्छ, तर माओले दक्षिण मोहडा नेपालको, अर्कोपट्टि चीनको सुझाए । त्यतिबेला गठित सीमा निर्धारण आयोगले त्यसैअनुसार सगरमाथाको भागबण्डा गर्‍यो र महेन्द्रको पालामा सीमा सन्धिमा हस्ताक्षर भयो ।

यसरी पानीढलोको सिद्धान्त अनुसार, मकालुको चुचुराबाट भन्ज्याङ र उच्च हिमाली धार हुँदै सिमाना ल्होत्से–सार र ल्होत्सेको चुचुरोहुँदै साउथ कोल (दक्षिण भञ्ज्याङ) मा झर्दछ अनि साउथ समिट हुँदै सगरमाथा टुप्पो पुग्दछ । उतापट्टि वेस्ट रिज हुँदै ल्होला भन्ज्याङ झर्दै दुईदेशीय सिमाना धारैधार चोओयू चुचुरोहुँदै पश्चिमतर्फ लम्कन्छ ।

सगरमाथाको बनोट सालाखाला त्रिकोण पिरामिड भएकोले यसका तीन वटा मोहडा छन् । दक्षिण मोहडा नेपालको हो र त्यहाँ चढ्न अरु मोहडा भन्दा सजिलो मानिन्छ– बेसक्याम्प र खुम्बु आइसफलदेखि वेस्टर्न कुम हुँदै साउथ समिट अनि चुचुरोसम्म ।

बाँकी दुई मोहडा भने तिब्बत÷चीनपट्टि पर्दछन् । पूर्वी मोहडाको नाम हो काङ्गशुङ फेस, जो काङ्गशुङ हिमनदीहुँदै खार्ता उपत्यका झर्दछ । यो मोहडाबाट सगरमाथा चढ्न सबभन्दा खतरनाक मानिन्छ । उत्तरी मोहडालाई नर्थ फेस भनिन्छ ।

राणाकालमा नेपालमा पश्चिमाका लागि आवतजावत र पर्वतारोहणमा रोक भएको कारण सन् १९२१ मा शुरू भएको सगरमाथा आरोहण प्रयास भोटतर्फबाट हुनेगथ्र्यो । दार्जीलिङबाट आरोही दल धेरै दिनको पैदल यात्रा गरेर टिंग्री मैदानहुँदै यतापट्टिको तेङ्गपुछे गुम्बा जस्तै उतापट्टिको रोङ्गबुक गुम्बा पुग्दथे अनि रोङ्गबुक हिमनदीमार्फत सगरमाथाको फेदमा पुग्थे । नर्थ कोल (उत्तर भञ्ज्याङ) र नर्थइष्ट रिज (उत्तरपूर्वी धार) हुँदै चुचुरो चढ्न अनेकन् असफल प्रयास भएका थिए ।

सगरमाथा नेपालको हो भन्दा के भयो त भन्ने धेरै छन् । चीनमा पनि हुने कतिपय प्रस्तुतिमा ‘चोमोलोङ्मा चीनको हो’ भन्ने गरिन्छ । तर झण्डै ६० वर्ष सबैले मान्दै आएको पानीढलो सिद्धान्त अनुसारको सगरमाथा सीमांकनको भने फरक–फरक व्याख्या हुन सक्दैन । फेददेखि चुचुरोसम्मै सगरमाथा चीन र नेपालबीच बाँडिएकै छ– आधा उता आधा यता ।

प्रतिकृया दिनुहोस