अर्थ/बजारशनिवार, श्रावण ७, २०७४

यतिले ल्यायो एटिआर विमान

हिमालखबर

निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ । 

काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा खरिद गरेको हो । 

फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरबाट थाइल्याण्ड र थाइल्याण्डको च्याङमाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । 

सो विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए । उनका अनुसार यो विमानले सातापछि विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान थाल्नेछ । 

यो एटिआर विमानसँगै यतिका अब सातवटा विमान भएका छन् । हाल यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान जहाज सञ्चालन गरिरहेको छ । 

यतिले यसवर्षभित्र थप दुई एटिआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी भएको र एक महिनापछि अर्को विमान आउने व्यवस्थापक राईले जानकारी दिए । बुद्ध एयरले शुरुमै चारवटा एटिआर विमानबाट सेवा दिँदै आएको छ । 

भौतिक पूर्वाधार साँघुरो रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा एटिआर विमानले सहजता हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । 

“उडान सञ्चालनमा सहज हुन्छ, साना विमानको भीडमा ठूलो विमान हुँदा आकाशमा ‘होल्ड’ गर्नुपर्ने अवस्था आउँदैन, ‘एयर ट्राफिक’ जाम पनि हुँदैन र यसले ‘फ्रिक्वेन्सी’ जाममा पनि नपर्ने हुँदा उडानमा सहजता हुन्छ” – उनले भने । 

प्रवक्ता ठाकुरले विमानस्थलको क्षमता साँघुरो भए पनि पर्यटन प्रवर्द्धनका लागि जहाज थपिनु सकारात्मक भएको धारणा व्यक्त गरे । 

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।
रासस 

 

प्रतिकृया दिनुहोस