पर्साः १८ जना बालबालिकाको जन्मदर्ता हुन सकेन
पर्सा जिल्लाका विभिन्न अनाथआश्रम र बालगृहमा रहेका १८ जना बालबालिकाको जन्मदर्ता हुन सकेको छैन ।
वेवारिसे अवस्थामा फेला परेका र अभिभावकको ठेगाना थाहा नभएका बालबालिकाहरुको जन्मदर्ता हुन नसक्दा उनीहरुलाई विद्यालय भर्ना गर्न, अर्को स्थानमा लैजान समस्या भइरहेको छ ।
जन्मदर्ता नभएकै कारण उनीहरु राज्यबाट पाउने विभिन्न सुविधाबाट वञ्चित भएका छन् । अस्थायी गृहबाट स्थायी गृहमा लैजान पनि समस्या छ ।
नेपालको संविधानमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक हुने उल्लेख छ ।
बालबालिका सम्बन्धी हकको धारा ३९ (१) मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको हक हुनेछ भन्ने उल्लेख छ ।
नगर वा गाउँपालिकालाई बालमैत्री घोषणा गर्नका लागि पनि पाँच वर्षमुनीका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्छ भन्ने सूचक छ । तर पनि यि बालबालिकाहरु जन्मदर्ताको अधिकारबाटै वञ्चित भएका छन् ।
माईती नेपालकी वीरगञ्ज प्रमुख संगीता पुरीले अनाथ बालबालिकाको जन्मदर्ता हुन नसकेको गुनासो गरिन् ।
वीरगञ्जको लिपनीमालमा रहेको ‘आवर संसार’ बालगृहमा रहेका १० जना, सानो पाईलामा ६ जना, माईती नेपालमा २ जना बालबालिकाको जन्मदर्ता बन्न नसकेको गुनासो आएको जिल्ला बाल कल्याण अधिकृत सावित्रिकुमारी भण्डारीले बताइन् ।
प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे भने पञ्जिकाधिकरीहरुको निर्णय क्षमतामा पनि यो कुरा भर पर्ने बताउँछन् । “जन्मदर्ता गर्न नमिल्ने हुँदैन,” उनले भने “ऐन अनुसार हुनै नसक्ने रहेछ भने पनि ऐन– कानून संसोधन गर्न दवाव दिनुपर्छ ।”
उनले पञ्जिकाधिकारीहरुको बैठक बोलाएर यस विषयमा सल्लाह गर्न निर्देशन दिईसकेको बताए ।
स्थानीय पञ्जिकाधिकारीहरु भने बालबालिका सम्बन्धी ऐन– २०४८ अनुसार बेवारिसे फेला परेका बालबालिकाको जन्मदर्ता गर्न समस्या रहेकोले ऐन संशोधन गर्न जरुरी रहेको बताउँछन् ।