भारतको राष्ट्रपतिमा रामनाथ कोविंद निर्वाचित
भारतको राष्ट्रपति पदमा भारतीय जनता पार्टी गठबन्धन (एनडीए) का उम्मेदवार रामनाथ कोविंद निर्वाचित भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोविंदलाई निर्वाचक मंडलको ६५ प्रतिशत भन्दा धेरै मत प्राप्त भएको थियो भने उनकी प्रतिस्पर्धी विपक्षकी साझा उम्मेदवार मीराकुमारले करिब ३४ प्रतिशत मात्रै मत प्राप्त गरिन् ।
राष्ट्रपति पदमा निर्वाचित हुनु अघि रामनाथ कोविंद बिहार राज्यका राज्यपाल थिए ।
हालका राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल ९ साउनमा समाप्त हुँदै छ । यसको एक दिनअघि कोविंदले भारतको १४ औं राष्ट्रपतिका रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् ।
कोविंद के आर नारायणन पछि भारतमा दलित समुदायका राष्ट्रपति हुनेछन् । कानून व्यवसायी समेत रहेका ७२ वर्षीय कोविंदको जन्म उत्तर प्रदेश राज्यको कानपुरमा भएको थियो ।
१९९१ देखि भारतीय जनता पार्टीमा संलग्न रहेका उनी दुई अवधि राज्यसभाका सांसद समेत थिए । सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि उनी बिहारको गभर्नर नियुक्त भएका थिए ।