गत आवमा उद्योगमा मात्रै १५ अर्ब वैदेशिक लगानी
आर्थिक वर्ष २०७३/७४ मा नेपालको उद्योग क्षेत्रमा रु १५ अर्ब एक करोड ७२ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ ।
उद्योग विभागले दिएको जानकारीअनुसार ३९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । विदेशी लगानी गरिएका उद्योगमा साना ३७०, मझौला १६ र ठूला नौ वटा रहेका छन् ।
विभागका प्रवक्ता दुर्गाप्रसाद भुसाल संविधान निर्माणसँगै नेपाली उद्योग क्षेत्रमा विदेशी लगानी भित्रिने क्रम बढेको बताउँछन् । तत्कालिन उद्योगमन्त्री नवीन्द्रराज जोशीको सक्रियतामा आएको विशेष आर्थिक क्षेत्र (सेज) ऐन र आैद्योगिक व्यवसायी ऐनसँगै उद्योग क्षेत्रमा लगानी बढेको उनको भनाइ छ ।
ठूला उद्योगमा रु ६ अर्ब २२ करोड ७० लाख, मझौलामा रु एक अर्ब १७ करोड ४९ लाख र साना उद्योगमा रु सात अर्ब ६१ करोड ५३ लाख लगानी भएको छ ।
सबैभन्दा बढी चिनियाँ लगानीकर्ता रहेका छन् । चीनले ठूला छ, मझौला सात र साना १७० वटा उद्योगमा रु ६ अर्ब २४ करोड ६७ लाख लगानी गरेको छ ।
भारतले एक ठूलो, तीन मझौला र ३६ वटा साना उद्योगमा रु एक अर्ब ९९ करोड ७० लाख लगानी गरेको छ ।
मझौला तथा साना उद्योगमा लगानी गर्ने धेरै मुलुक रहेका छन् । संयुक्त राज्य अमेरिका ३८, दक्षिण कोरिया १५, जापान १२, बेलायत र नेदरल्याण्ड नौ/नौ, फ्रान्स आठ, बंगलादेश र स्विजरल्याण्ड सात/सात, जर्मनी ६ तथा बेल्जियम र क्यानडाले पाँच/पाँचवटा उद्योगमा लगानी गरेका छन् ।
वैदेशिक लगानीमध्ये सबैभन्दा बढी पर्यटन, कृषि र वनजंगल, ऊर्जा तथा सेवामूलक र उत्पादनमुलक व्यवसायमा लगानी भएको छ ।
अच्युत रेग्मी, रासस