टिप्पणीबिहिवार, श्रावण ५, २०७४

हराउँदै रोपाइँ रौनक

चन्द्रकिशोर

कृषि कर्मलाई सम्मानित पेशाका रूपमा व्यवहार नगरिएकै कारण रोपाइँ याममा पनि मधेशका खेत–खलियानमा पहिलेजस्तो जीवन नपाइएको हो ।

राजविराज–१ मा धनरोपनीका लागि बीउ उखेल्दै महिला । तस्वीरहरूः श्रवण देव

१५ असारमा धेरैको सामाजिक सञ्जाल हिलाम्मे खेतमा धान रोपेका तस्वीरहरूले भरिए। तर, सामाजिक सञ्जालमा देखिएजस्तो धनरोपनीको 'ग्ल्यामर' अहिलेको खेतीपातीमा रहेन। माहोल बदलिएको छ। अहिलेका कृषि मजदूर न अनाजको मजदूरी लिन्छन् न त उनीहरूलाई 'पनपियाई' (दिउँसोको खाजा) सँग नै मतलब छ, लोकभाका गुन्गुनाई हर्षोल्लासका साथ गरिने रोपाइँ अब रहेन। धनरोपनी उत्सव रहेन। 

कुनै समय थियो जब गाउँघरमा खेतीकिसानीसँग जोडिएका स–साना अनुष्ठानहरूमा सुख र खुशीको उमिद गरिन्थ्यो। समयमै चाहेको जस्तो रोपाइँ गर्न सकेमा उब्जनीको सहजै अनुमान गर्न सकिन्थ्यो। पहिलेपहिले त बाहिर रोजगारीका लागि गएकाहरू समेत रोपाइँमा गाउँ फर्किन्थे। यो मौसम गाउँप्रतिको लगाव नवीकरण गर्ने अवसर पनि थियो। तर अब यी कुरा लोकस्मृतिको अँध्यारो कुनामा थन्किएका छन्, जसले गाउँघरको बदलिंदो सामाजिक अर्थतन्त्रलाई दर्शाउँछ।

त्यसो त अहिले पनि आफू वा पूर्वजले छाडेर आएको खेत–खलियानमा उब्जिएको धानकै भात खानुपर्छ भन्ने शहरिया पुस्ता बाँकी छ। यस्तो धारणा रहिरहनुमा थोरै भावनात्मक सम्बन्ध पनि जोडिएको नहोला भन्न सकिन्न तर यसले खेतीपाती कमाउने मेसो होइन भन्ने सोच राख्छ। तर, यस्तो अभ्यास जुनसुकै बेला पूर्णविराम लाग्न सक्ने पनि देखिन्छ।

श्रमिकको संकट

गाउँमा खेतीकिसानी गर्नेहरू श्रमिक नपाएर आजित छन्। यसले रोपाइँमा देखिने गरी असर गर्न थालेको छ। खेतीमा तुलनात्मक रूपमा बढी जनशक्ति खर्चिनु परेको छ। महिला र किशोरकिशोरीको सहभागिता बाक्लिएको छ। कतिपय गाउँहरूमा त यिनकै भरोसामा खेती सम्भव भएको छ। पहिला खेतीमा पारिश्रमिकका रूपमा अनाज नै दिइन्थ्यो, अचेल नगदमा कारोबार हुन थालेको छ। जो आफैं खेतीमा संलग्न हुँदैन वा केवल मजदूरबाट मात्र खेती गराउन चाहन्छन् तिनका निमित्त खेती कर्म दुरुह हुँदै गएको छ। जुन परिवार आफैं खेतीमा संलग्न छन् तिनले भूस्वामी भन्दा बढी आर्जन तिनकै खेतमा कमाई गरेर प्राप्त गरिरहेका छन्। बटैया, हुन्डा जस्ता खेती प्रणाली अपनाएकाहरू फलिफापमा छन्।

धान रोप्ने खेत तयार गर्दै ।

एक त नहरको सुविधा सबैतिर छैन, भएका ठाउँमा पनि अपेक्षित सिंचाइको सुविधा छैन। पम्पिङ सेट र बोरिङको विस्तार त भएको छतर ज्यादातर खेती आकाशे पानीमै निर्भर छ। राम्रो र नियमित वर्षा भए पम्पिङ सेट चलाउन डिजल किन्नुपर्दैन, बोरिङ सिंचाइको तुलनामा फसल पनि गतिलो हुन्छ। यस्ता कुराहरूले खेतीपातीको तौरतरिकामा बदली आएको छ।

आजको तराईमा कृषि मजदूरको संकटको मुख्य कारण स्थापित लोकाचार, जनरीति र नियम अनुरूप व्यक्ति वा समाज नचल्नु नै हो। शारीरिक र मानसिक श्रमबीचको आर्थिक लाभको बढ्दो अन्तर एवं श्रमप्रतिको सम्मानमा देखिएको समस्याले खेती प्रणाली ग्रसित छ। आलीमा हलो, कोदालो गर्नेभन्दा छाता ओढेर निर्देशन दिनेहरूलाई समाजले महत्व र सम्मान दिन्छ। श्रमप्रतिको मिथ्या भ्रमले गर्दा पनि मजदूरको संकट बढेको हो। 

श्रमको बदलिंदो स्वरुपले कतिपय भूस्वामीहरूले नयाँ प्रविधिमा लगानी गरेका छन् । जस्तो कि, खर्चमा बचत गर्दै उत्पादन बढाउन भन्दै किसान ट्याक्टर किन्छन् । यसले हलो जोत्ने कृषि मजदूर विस्थापित भएका छन् । त्यस्तै पहिले धान कुट्न, गहु पिंध्न ढिकी र जाँतो चलाउन कृषि मजदूरको प्रयोग हुन्थ्यो । आज त्यो काम मीलले गर्छ। यस्ता बदलाव धेरै छन् ।

कृषि क्षेत्रको विकासमा आवश्यक पूजी लगानी, भौतिक पूर्वाधार, प्रविधि, सिंचाइ, संस्थागत क्षमता तथा समन्वयका क्षेत्रमा गरिनुपर्ने ठोस प्रयास तराईमा भएकै छैन। तराईको उर्वर भूमिबाट आशातीत उब्जनी हासिल गर्न नसक्नुको चुरो कुरा यही हो ।

अर्कोतर्फ सीमावर्ती भारतीय किसानले व्यापक रूपमा उन्नत प्रविधि, ऋण, उत्पादन सामग्री र उत्पादित वस्तुमा अनुदान पाउँछन्। परिणाम, उत्पादनमा कम खर्च हुन्छ, उत्पादित वस्तुको मूल्य पनि कम हुन्छ। यी सस्ता भारतीय उत्पादनहरू खुल्ला सीमाको फाइदा बटुल्दै निर्वाध रूपले नेपालमा भित्रन्छन् । जसलाई नेपाली किसानले प्रतिस्पर्धा गर्नै सक्तैनन् र अन्ततः किसानहरू आन्तरिक कृषि बजारबाटै विस्थापित हुनपुग्छन्। यस्ता अनेकन दृष्टान्त छन् ।

पञ्जाबको मनोविज्ञान

भारतको पञ्जाब र हाम्रो मधेशलाई उब्जनीका दृष्टिले 'अन्नको माइती' पनि भनिन्छ। त्यही उब्जनी सम्बन्धकै प्रभावले हुनुपर्छ, चार दशक पहिलेसम्म सीमावर्ती विहारका दरभंगा, मधुवनी, सीतामढी, चम्पारण जस्ता जिल्लाहरूबाट कृषि मजदूरी गर्न भारतीयहरू मध्य र पूर्वी तराईमा आउने गर्दथे। तर, स्थिति उल्टिएको छ। अहिले मधेशबाट हरियाणा, पञ्जाबमा कमाउन जाने नेपालीको संख्या ठूलो छ। त्यहाँ जान नचाहनेहरू खाडी मुलुक पुगेका छन् ।

भूगोलसँगै यी दुई क्षेत्रको सामाजिक मनोविज्ञान पनि फरक देखिन्छ। पञ्जाबका भूस्वामी आफैं ट्याक्टर चलाउँछन् तर मधेशमा अधिकांशले भाडाका ड्राइभर राख्छन्। पञ्जाबका भूस्वामीले नेपाल वा विहारबाट आएका मजदूरलाई सम्मान गर्छन्। तर, हाम्रो कृषि संरचनामा अहिले पनि सामन्ती सोच छ। त्यसको उदाहरण, यहाँबाट पलायन कतिपय मजदूर भारत वा अन्य देशमा कृषिमै रोजगारी गर्छन् तर आफ्नै थातथलोमा फर्किंदा किसान हुन रुचाउँदैन। किनकि यहाँ उद्योगमा जागीर खानेलाई सम्मान तर खेतीमा लाग्नेलाई हेय नजरले हेरिन्छ। मधेशको खेतीकिसानीमा आधारभूत बदलावका निम्ति श्रम सम्मानको संंस्कृति स्थापित गर्नुपर्ने देखिन्छ। यसो गरिएमा कृषि संरचनामा न्याय र सम्मानमा आधारित सम्बन्धको शुरूआत हुन्छ ।

हिजोका दिनमा तराईको सामाजिक संरचना, श्रमको विभाजन तथा वर्गीकरण परम्परागत रूपमा कृषि संस्कृतिमा आधारित थियो। तर, कृषिका संयन्त्रहरूमा बढ्दो प्रहारले श्रम संरचनालाई समेत परिवर्तन हुन बाध्य तुल्याइरहेको छ, जसको प्रत्यक्ष प्रभाव परम्परागत जातीय पेशाहरूमा देखिएको छ। न परम्परागत कृषि संयन्त्रलाई पूर्णतः ध्वस्त गरेको न पूूर्णतया औद्योगिक संस्कृतिमै हाम्फालेको अवस्थाको तराईको कृषि यतिबेला अस्तित्व रक्षाको संघर्ष गरिरहेको छ। यसले कृषिबाट विस्थापित श्रम छरपस्ट हुने क्रम तीव्र पारेको छ। तर, पञ्जाबमा भने थुप्रै प्रगति देखिएको छ ।

पञ्जाबका महिलाहरू पशुपालनमा सक्रिय देखिन्छन्। यसले पारिवारिक जनशक्तिले अर्को आयाम थपेको छ। खेती र पशुपालन सँगसँगै बढेको छ । तर, मधेशमा भने भएको खेती पनि चौपट हुँदै गएको छ। उत्पादनमा निरन्तर ह्रास र लगानीको प्रत्याभूतिमा पनि उल्लेख्य कमी देखिएको छ ।

यस्तो अवस्थामा धनरोपनी उत्सव विस्तारै 'नोस्टाल्जिया' मा परिणत हुँदैछ। त्यसो त बजारको दबाबले किसानहरूमा मन्दगतिमै सही केही बदलाव आइरहेको छ, केही नमूना कृषकले सुनाम पनि कमाइरहेका छन्। तर, यो पर्याप्त छैन ।

कारण केलाउँदै जाने हो भने अन्तर्यमा फेरि पनि कृषि मजदूरीलाई रोजगारको विशिष्ट क्षेत्रका रूपमा परिभाषित गर्न नसक्नु नै देखिन्छ। यसो नगरिएसम्म मधेशी परम्परा र संस्कृतिसँग गाँसिएको धनरोपनी उत्सव साँचो अर्थमा ग्रामीण जीवनमा अनुवाद हुन सक्दैन ।

प्रतिकृया दिनुहोस