नेपाल अफगानिस्तासँग १४१ रनले पराजित
एसीसी यू–१९ विश्वकप छनौट खेलमा नेपाल अफगानिस्तानसँग १४१ रनले पराजित भएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालको बलिङ राम्रो रह्यो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १९० रन बनायो । उसका लागि प्रारम्भीक ब्याट्सम्यान इब्राहिम जाड्रनले ४३ र नाभीद अबैडले ३३ रन बनाए । पहिलो विकेटका लागि ७५ रनको साँझेदारी भएको अफगानिस्तानको मध्यक्रमले खासै रन बनाउन सकेन् ।
नेपालका लागि सहाब आलमले ३, सन्दीप लामिछाने र पवन सर्राफले २/२ तथा किशोर महतो र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
१९१ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत राम्रो रहेन । ९ रनमै पहिलो विकेट गुमाएको नेपालले २६ ओभर लेख्दै ४९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पवन सर्राफ २६ रन बाहेक अरुले दोहोरो अंक पनि बनाउन सकेनन् । नेपालका चार ब्याट्सम्यान शुन्यमा आउट भए ।
अफगानिस्तानका लागि नबीन उल–हक र मुजीबले ४/४ विकेट लिए । उल–हकको नाममा एक ह्याट्रिक पनि रह्यो । अफगानिस्तानका लागि युसुफ जाजइ र जहिर खानले १/१ विकेट लिए ।
यो जितसँगै अफगानिस्तान ६ अंकसहित शिर्षस्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । नेपालले अर्को खेल ६ साउनमा सिङ्गापुरसँग खेल्नेछ ।