हत्या आरोपमा दुई युवक पक्राउ
पर्सा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा वीरगञ्जका दुईजना युवकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज–१९ बरवाका सञ्जय र काजी चौरसियालाई गाँउकै शत्रुधन साह कानुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न भनिएका अन्य तीन जना रामेश्वर, काजीप्रसाद चौरसिया र भन्टु रायभर भने फरार छन् ।
सञ्जय, काजी र उनका अन्य तीन जना साथी मिलेर ४ साउन बेलुकी शत्रुधनसँगै मदिरा सेवन गर्ने क्रममा उनलाई विष खुवाएर हत्या गरेको परिवारको आरोप छ । नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकले पनि शत्रुधनको शरीरमा विस फैलिएको पुष्टी गरेका छन् ।
सापटी लिएको रु ७० हजार लेनदेनको विषयमा विवाद भएपछि शत्रुधनको हत्या भएको दाबी गरिएको छ ।
शत्रुधनका परिवारका अनुसार रक्सी सेवनपछि शत्रुधन बेहोस भएको र उनलाई मरेको ठानेर पाँचै जना युवकहरु त्यहाँबाट हिंडेका थिए । तर केही बेरपछि शत्रुधनले श्रीमतीलाई फोन गरेर घटना बारे जानकारी गराएका थिए । त्यसलगत्तै परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा पुगेको प्रहरीले शत्रुधनको उद्दार गरि नारायणी उपक्षेत्रीय अस्पतालमा लगेको र उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालमा रहेको प्रहरी बिटले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज