सामाजिक सुरक्षा भत्ता लिन दुई दिनको यात्रा
डडेल्धुराका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालेपछि डडेल्धुराको परशुराम नगरपालिकाका वृद्धलाई बैंकसम्म पुग्नका लागि दुई दिनको यात्रा गर्नुपरेको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा परशुराम नगरपालिका लालढुंगामा रहेको ग्लोबल आईएमई बैंकले पाएको छ । नगरपालिकाको दुर्गम क्षेत्रका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि लालढुंगामा रहेको बैंकमा आउनु पर्ने बाध्यता रहेको छ ।
परशुराम नगरपालिकाको बसौटी, साँदनी, मलास, कुरमुल्ले, ग्वान्नीलगायतका दर्जनौँ गाउँका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनसम्म लाग्ने गरेको छ ।
यातायातको पहुँच नभएका गाउँका वृद्ध पैदलै हिँडेर बैंकसम्म पुग्न बाध्य भएका छन् । बैंकसम्म पुगेपनि दिनभर लाइनमा बसेर सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने गरेको छ । सामाजिक सुरक्षा भत्ता गाउँबाटै लिन मिल्ने व्यवस्था गरिदिन स्थानीयले आग्रहसमेत गरेका छन् । रासस