हुलाकी राजमार्गलाई भारतको २३ करोड सहयोग
हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले रु २३ करोडको चेक हस्तान्तरण गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रलाई चेक हस्तान्तरण गरेका हुन् ।
आयोजनाको ५१८ किमी सडक निर्माण गर्न बाँकी रहेकोमा ३०० किमी भारतको सहयोगमा बन्नेछ भने २१८ किमी सरकारले बनाउने सम्झौता भएको थियो ।
यसअघि भारतकै सहयोगमा १०० किमी सडक निर्माण भइसकेको आयोजना प्रमुख मिश्रले जानकारी दिए । २१८ किमी सडक निर्माणका लागि यसअघि आयोजनालाई भारतले रु २५ करोड सहयोग गरेको थियो । तराईका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग निर्माण भइरहेको छ ।
भारतको सहयोगमा निर्माण हुने २१८ किमी सडकको लागत रु आठ अर्ब रहेको आयोजनाले जनाएको छ । तीन वर्षमा हुलाकी राजमार्ग सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख मिश्रले बताए । रासस