तीन जिल्ला जोड्ने पुल निर्माणमा ढिलाइ
तीन जिल्ला जोड्ने पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा जनताले सास्ती भोग्नुपरेको छ ।
पाल्पा, गुल्मी र स्याङजा जिल्लालाई जोड्ने कालीगण्डकी नदीमाथि रिडीमा निर्माण हुन लागेको पुल समयमै निर्माण कार्य पूरा नहुँदा यहाँका स्थानीयवासी आक्रोशित बनेका छन् ।
निर्माण कार्य सम्पन्न हुने समयमा पुलको पिल्लर निर्माण कार्य समेत सम्पन्न हुन सकेको छैन । पूर्व मुख्य–सचिव लीलामणि पौडेल र गुल्मीका सभासद चन्द्र भण्डारीले १५ मंसिर २०७१ मा पुलको शिलान्यास गरेका थिए ।
नेपालको चारधाममध्ये रुरु क्षेत्रको रिडीमा निर्माण हुन लागेको नेपालकै पहिलो र नमूना तीनमुखे पुल रु नौ करोड ८८ लाख २६ हजारको लागतमा २०७४ को असार मसान्तमा निर्माण कार्य पूरा गर्ने गरी ‘रुबिना मना जेभी’ कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
५४० मिटर लम्बाई रहने पुलको लागि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण कार्य अगाडि बढाइएको हो ।
निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र अधिकारीकाअनुसार कालीगण्डकी नदीको बीच भागमा सात सय मिटर गोलाइ रहेको पिल्लर निर्माणको क्रममा छ । पहिलो वर्ष पुलको डिजाइनमै बित्यो, अर्को वर्ष विनाशकारी भूकम्प, नाकाबन्दीका कारण कामले गति लिन नसकेको उनले बताए । पुनःम्याद थप गरेरै भए पनि निर्माण कार्य सम्पन्न गर्ने उनको भनाइ छ ।
कम्पनी र कामको सम्पूर्ण विवरण भएको होडिङ बोर्डमार्फत सर्वसाधारणलाई जानकारी दिनुपर्ने ऐन नियममा व्यवस्था भएपनि निर्माण कम्पनीले होडिङ बोर्ड नै नराख्दा सर्वसाधारण पुल निर्माणसम्बन्धी सूचना प्राप्त गर्नबाट वन्चित भएका छन् ।
निर्माण कम्पनीले सरकारी मापदण्डअनुसार निर्माण सामग्रीको प्रयोग नगरेको र सरकारी इञ्जिनियरलाई आफूले कहिल्यै पनि नदेखेकाले गुणस्तरीय रुपमा निर्माण हुनेमा आफू विश्वस्त नभएको स्थानीयवासी बताउँछन् । रासस