मतदाता नामावलीका लागि ‘हेल्प डेक्स’ स्थापना
निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक सहज गराउन नेपालगञ्जमा ‘हेल्प डेक्स’ स्थापना गरिएको छ ।
सरकारी निकायद्वारा प्रदान हुने सेवा प्रवाह तथा नागरिकको सुविधाका लागि युएनडिपिको सहकार्यमा जिल्लास्थित सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले हेल्प डेक्स सेवा सञ्चालन गरेको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिए ।
उनका अनुसार क्षेत्रीय निर्वाचन कार्यालयमा आउनेको भिडलाई मध्यनजर गर्दै १५ दिनका लागि छ युवा स्वयम्सेवकलाई परिचालन गरेर बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हेल्प डेक्स सञ्चालन गरिएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार, मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य अन्तर्गत तीन दिनको अवधिमा करिब एक हजार ३०० जनाले नाम दर्ता गराएका छन् ।
कार्यालयले मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भए सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सकिने जनाएको छ । रासस