मतदाता नामावली दर्ता स्थानीय तहबाट पनि हुने
निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमलाई हाल कायम रहेका गाउँपालिका तथा नगरपालिका स्तरसम्म पु¥याउने भएको छ ।
यसअघि ७५ जिल्लाका क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरूमा १५ साउनसम्मको लागि मात्र दर्ता कार्यक्रम सञ्चालन भइरहेकोमा आयोगको आज बसेको बैठकले कार्यक्रमलाई थप परिमार्जन गरी स्थानीय तहसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
जिल्ला सदरमुकाम रहेको स्थानीय तहको हकमा सम्बन्धित क्षेत्रिय/जिल्ला निर्वाचन कार्यालयहरूमा १ साउनदेखि जारी मतदाता दर्ता कार्यक्रमलाई निर्वाचनको मिति घोषणा नभएसम्मको लागि निरन्तर सञ्चालन गरिरहने र बाँकी अन्य सबै स्थानीय तह (गाउँपालिका/नगरपालिका) का कार्यालयहरूमा १६ साउनदेखि ३२ साउनसम्म मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन गर्ने आयोगले निर्णय गरेको छ ।
साथै आयोगका क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरूमा बाह्य जिल्ला दर्ता (ओडीआर) कार्यक्रम पनि निर्वाचनको मिति घोषणा नभएसम्मको लागि निरन्तर सञ्चालन गर्ने र १६ साउनदेखि २० साउनसम्म गर्ने भनिएको मतदाता नामावली दाबी विरोध (अद्यावधिक) कार्यक्रम निर्वाचनको मिति घोषणा भए पश्चात मात्र गर्ने गरी व्यवस्थापन गर्ने समेत आयोगले निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।