प्राधिकरणले पुनः प्राविधिज्ञ खटाउने
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लाबाट आएका गुनासोलाई सम्बोधन गर्न पुनः प्राविधिज्ञ खटाउने भएको छ ।
भूकम्पबाट क्षति भएका निजी घरको मापदण्ड निर्धारणका लागि प्राधिकरणले ३१ जिल्लामा ३०१ प्राविधिज्ञलाई परिचालन गर्न लागेको हो । व्यवस्थापिका–संसद्, विकास समितिको ३ साउनको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले परिचालित प्राविधिज्ञले आफ्नो काम आगामी भदौको पहिलो हप्तासम्ममा सम्पन्न गर्ने र यसबाट सबै खालका गुनासा पनि सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्राधिकरणका अनुसार हालसम्म ती जिल्लामा निजी आवासअन्तर्गत एक लाख १३ हजार भूकम्प प्रतिरोधी आवास निर्माण सम्पन्न भइसकेको छ । थप ४५ हजार घरको मापदण्ड परीक्षण भइरहेको र सहुलियत दरमा व्यक्तिगत तथा सामूहिक ऋण अनुदानसम्बन्धी कार्यविधि लागू हुने चरणमा रहेको जनाएको छ ।
उनले निजी आवास निर्माण छिटो होस् भन्नाकै लागि आगामी असार मसान्तको समय सीमा निर्धारण गरिएको स्पष्ट गर्दै भारत, पाकिस्तान र इण्डोनेशियाको तुलनामा पुनःनिर्माण कार्य ढिलो नभएको जिकिर गरे ।
बैठकमा समितिका सभापति रवीन्द्र अधिकारीले प्राविधिकरणले पुनः निर्माणका कामको प्रगति कागजमा नभइ जनताले अनुभूति हुने खालको हुनु पर्ने बताए । उनले भूकम्पले क्षति पुर्याएका विद्यालय, स्वास्थ्य, सडक र खानेपानी, सरकारी भवनका पुनःनिर्माण सुस्त रहेको बताउँदै जनगुनासा सम्बोधनमा पहिलो ध्यान दिन प्राधिकरणलाई आग्रह गरे । रासस