‘युनिभर्सल मेडिकल कलेजको सूचना झूठो र दुराशयपूर्ण’
‘मेरिट’ मा परे पनि तोकिएको कलेजमा भर्ना नपाएका चिकित्साशास्त्रतर्फका विद्यार्थीहरुले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले झूठो सूचना प्रकाशित गरी भ्रम फैलाउन खोजेको बताएका छन् ।
तोकिएभन्दा बढी शुल्क लिनकै लागि सर्वोच्च अदालतको आदेश, चिकित्साशास्त्र अध्ययन संस्थान र मन्त्रिपरिषदको निर्देशन समेत अटेर गरी छनौटमा परेका योग्यतम विद्यार्थीलाई बारम्बार भर्ना लिन अस्वीकार गरेको कलेजले पत्रिकामा भने ‘विद्यार्थीहरु नै सम्पर्कमा नआएको’ भन्ने सूचना प्रकाशित गरेपछि विद्यार्थीहरुले विज्ञप्ति जारी गरी उक्त सूचना कपोलकल्पित र दुराशयपूर्ण रहेको बताएका छन् ।
विज्ञप्ति:
हामी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट संचालित २०७३/०७४ को चिकित्साशास्त्र तर्फको स्नातकोत्तर प्रवेश परिक्षाबाट त्रिविको सम्बन्धन प्राप्त युनिभर्सल मेडिकल कलेजमा भर्नाका लागी सिफारिस भएका विद्यार्थी हौं।
त्रि वि ले सिफारिस गरे पछी हामी कयौंपटक भर्ना हुन उक्त कलेज पुग्यौं र कलेजले भर्ना गर्न अस्विकार गरे पछी हामी सम्मानित सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन विवश भयौं। अदालतले हामीलाई भर्ना लिन अन्तरिम आदेश दिनुका साथै विभिन्न मितिमा डीन कार्यलय र मन्त्रिपरिषदको कार्यलयले समेत भर्ना लिनका लागि उक्त कलेजलाई निर्देशन दिए।
प्रत्येक आदेशपश्चात हामी भर्नाका लागि कलेज पुगेका छौं तर प्रत्येकपटक केही न केही बाहाना गरेर हाम्रो भर्ना रोकियो, भर्ना हुन दिनहुँ कलेज गइरहँदा पनि हाम्रो निवेदन नबुझिदिने, हामीलाई दिनभर कुर्न लगाएर बेलुका भर्ना लिन सकिंदैन भन्ने गरियो । साथै बारम्बार 'थप शुल्क तिर्नेछौं' भन्ने व्यहोराको कागजमा हस्ताक्षर गरेपछि मात्र भर्ना लिने भन्दै त्यस्तो कागजमा हस्ताक्षर गर्न चर्को दबाब दिइयो ।
हामीले नियमसंगत भर्नाका लागी भरमग्दुर प्रयास गरेका थियौं भन्ने कुरा डिन कार्यलय र रूपन्देही जिल्ला प्रशासन कार्यलयमा हामीले दिएका निवेदनहरु बाट प्रष्टै हुन्छ। हुँदाहुँदा अन्तिम पटक मिति २०७४/०४/०२ मा भर्नाका लागि पुग्दा फेरि पनि त्रिवि ले तोकेको शुल्कमा हाम्रो भर्ना अस्वीकार गर्दै अतिरिक्त शुल्कका लागि रकम नखुलाईएको नेपाली कागजमा सहमतिको दस्तखत गर्न भनियो । हामीले त्यस्तो 'किर्ते' कागजमा दस्तखत गर्न नमानेपछि हाम्रो भर्ना लिइएन।
यसैबीच २०७४/०४/०२ मा 'कान्तिपुर दैनिक'मा सार्वजनिक सूचना प्रकाशित गरी सो कलेजले हामी सम्पर्कमा नआएको र सम्पर्कमा नआए कलेज जवाफदेही नहुने व्येहराको झुठा प्रचार गरेको छ। हाम्रो अवस्थाबारे प्रष्ट पारिसके पछि सो सूचना कुन उद्देश्यले आयो भन्ने स्पष्ट नै छ । तसर्थ हामी सम्पर्कमा आएनौ भन्ने कुरा नितान्त कपोकल्पित र भ्रामक रहेको तथा हाम्रो अधिकार कटौती गर्दै हामीलाई भर्ना बाट वन्चित गर्न मात्र नभई भोलिका दिनमा अदालतमा हुने बहस पैरवीलाई समेत प्रभावित पार्ने दुराशयले ग्रस्त भएको देखिन्छ।
यो अवस्थामा पहिलो काउन्सिलिङ पछि भर्ना गर्ने अन्तिम मिति आज २०७४।४।३ रहेकोमा कलेजको बदमासीका कारण हामी सो मितिभित्र भर्ना हुन नसक्ने अवस्था आएमा नयाँ व्यवस्था गरेर भए पनि हामीलाई तोकिएको शुल्कमा नियमसंगत रुपमा भर्ना हुने व्यवस्था मिलाउन आईओएम डिन कार्यालयलाई निवेदन दिएर सोको बोधार्थ त्रिभुवन विश्वविद्यालय, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाइसकेको जानकारी गराउँछौं।
हामीले गरेको प्रयास सार्वजनिक अभिलेखमा सुरक्षित रहोस र कलेजले फैलाएको भ्रम चिरियोस भनेर यो विज्ञप्ति प्रकाशित गरेका छौं।
-युनिभर्सल मेडिकल कलेजमा भर्नाका लागि मेरिटबाट छनोट भएका विधार्थीहरु।